अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार १५ र १८ माघमा दशरथ रंगशालामा हुने मौरिससविरुद्धको मैत्रीपूर्ण फुटबल प्रतियोगिताका लागि प्रारम्भिक ३४ खेलाडी घोषणा गरेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले चालू सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा खेलाडीले प्रदर्शन गरेको आधारमै नेपाली टोलीको प्रारम्भिक ३४ खेलाडी घोषणा गरेको एन्फाले जनाएको छ । सोमबार घोषणा लिस्टमा सात नयाँ खेलाडी परेका छन् । राष्ट्रिय टोलीमा कुनै समय दरिलो स्थान बनाएका युवा स्ट्राइकर विमल घर्तीमगर पनि फर्किएका छन् ।
विमल दुई वर्षपछि राष्ट्रिय टोलीमा परेका हुन् । प्रशिक्षक अलमुताइरीले गोलरक्षकद्वय टिकेन्द्र थापा र शत्रुघन चौधरी, रक्षापंक्ति नवीन गुरुङ, मिडफिल्डर आकाश बुढामगर, कृतिश रत्न छुन्जु, सुदीप गुरुङ तथा स्ट्राइकर सुशील राई टोलीमा पहिलोपटक समावेश गरेका छन् । रक्षापंक्तिमा देवेन्द्र तामाङ, मिडफिल्डर सुभाष गुरुङ र स्ट्राइकर विमल राष्ट्रिय टोलीको प्रारम्भिक घोषित खेलाडीमा परेका छन् ।
प्रशिक्षक अलमुताइरीले मैत्रीपूर्ण खेलका लागि सुरुवाती क्रममा पाँच गोलरक्षक, ६ रक्षापंक्ति, १६ मिडफिल्डर तथा सात स्ट्राइकर राखेका छन् । इन्डोनेसियामा व्यावसायिक फुटबल खेलिरहेका रोहित चन्द भने प्रारम्भिक टोलीमा छैनन् । माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा घाइते भएका नवयुग श्रेष्ठ टोलीमा छैनन् । एएफसी कपको छनोटमा स्थान बनाएको लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबबाट प्रारम्भिक चरणमा सर्वाधिक सात खेलाडी परेका छन् ।
मच्छिन्द्रबाट सुजल श्रेष्ठ, विशाल श्रेष्ठ, विमल घर्तीमगर, विशाल राई, देवेन्द्र तामाङ, मनीष डाँगी र सुनील बल रहेका छन् । यसैगरी मनाङ मस्र्याङ्दी, एनआरटी र त्रिभुवन आर्मीबाट समान चार खेलाडी अटाएका छन् । मनाङका अञ्जन विष्ट, दिनेश राजवंशी, नितिन थापा, र पुजन उपरकोटी छन् । एनआरटीका एरिक विष्ट, दर्शन गुरुङ, कृतिश रत्न छुन्जु र नवीन गुरुङले स्थान बनाए । लिगको साविक उपविजेता आर्मीबाट गौतम श्रेष्ठ, दिनेश हेमजन, सन्तोष तामाङ र सुमन अर्याल छन् ।
नेपाल पुलिस र सातदोबाटोका समान तीन खेलाडी प्रारम्भिक सूचीमा छन् । सातदोबाटोका आकाश बुढामगर, सुशील राई र सुदीप गुरुङ रहे । नेपाल पुलिसबाट सुमन लामा, तेज तामाङ र गोलरक्षक शत्रुघन चौधरी रहे । त्यस्तै थ्री स्टारबाट अनन्त तामाङ र आयुष घलान छन् । हिमालयन शेर्पा र जावलाखेलका दुई–दुई खेलाडी परेका छन्, हिमालयनबाट दीप कार्की र कमल थापा रहेका छन् । जावलाखेलबाट सुरज ठकुरी र टिकेन्द्र थापाले स्थान बनाए । यसैगरी संकटाबाट शुभाष गुरुङ र एपिएफबाट आशिष लामा मात्र परेका छन् । माल्दिभ्समा व्यावसायिक फुटबल खेलिरहेका गोलरक्षक किरणकुमार लिम्बू पनि टोलीमा छन् ।
हिमालयन पाँचौँ स्थानमा उक्लियो
ए डिभिजन लिगको पाँचौँ स्थानमा हिमालयन शेर्पा उक्लेको छ । दशरथ रंगशालामा सोमबार सम्पन्न सातौँ चरणको खेलमा हिमालयनले नवप्रवेशी क्लब सातदोबाटोलाई १–० ले हराउँदै पाँचौँ स्थानमा उक्लेको हो । हिमालयनलाई जिताउन कप्तान विश्वास श्रेष्ठले एक मात्र पेनाल्टी गोल गरेका थिए । खेलको ४२औँ मिनेटमा सातदोबाटोका डिफेन्डर पिटर सेगुनले त्रिदेव गुरुङलाई फल गरेपछि हिमालयन पेनाल्टी पायो ।
कप्तान विश्वासले पेनाल्टीमा गोल गर्दै हिमालयनलाई १–० को अग्रता दिलाए । दोस्रो हाफमा सातदोबाटोले बराबरी गोल फर्काउने अवसर पाएको थियो । तर, सातदोबाटोका खेलाडीले मौकाको सदुपयोग गर्न नसक्दा हारको सामना ग¥यो । सातदोबाटोले अन्तिम इन्जुरी समयको सातौँ मिनेटमा पेनाल्टी पाएको थियो । हिमालयनका अमृत श्रेष्ठले सातदोबाटोका मार्टिन नांगालाई फल गरेका थिए । मार्टिन आफैँले प्रहार गरेको पेनाल्टीलाई हिमालयनका गोलरक्षक दीप कार्कीले बचाए । हिमालयनले लगातार तीन खेलमा जित हात पारेको छ । सात खेलबाट हिमालयनले ११ अंक जोडेको छ ।