साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचक ६० दशमलव ४१ अंकले बढेर दुई हजार पाँच सय ८४ दशमलव ९१ बिन्दुमा पुगेको छ । यसअघि दुई हजार पाँच सयबाट कारोबार नेप्से सूचक यस दिन उतारचढावबीच दुई हजार ६ सयनजिक पुगेर बन्द भएको छ । अघिल्लो साताबाटै नेप्से सूचकले दुई हजार ६ सयमाथिको टेवा खोजिरहेको छ । बियरिस बजारबाट बुलिसतर्फ बजार गएको देखिन्छ । नेप्से सूचक पछिल्लो एक हप्ता दुई हजार पाँच सयवरिपरि घुमिरहेको थियो । एक लगानीकर्ता पुसभरिमा नेप्से सूचक दुई हजार सात सयमाथिसम्म पुग्ने अनुमान गर्छन् ।
अघिल्लो कारोबार दिन बुधबार तीन अर्ब रुपैयाँमाथिको कारोबार भएकोमा आइतबार चार अर्ब १२ करोड रुपैयाँको कारोबार भएको छ । बजार उच्च अंकले बढेपछि लगानीकर्तामा नाफा बुक गर्ने होड पनि कायमै रहेको छ । साधारणसभाको समय अन्तिम चरणमा पुगेकाले लाभांश सुरक्षित गर्ने समय पनि करिब सकिएको छ । लामो करेक्सन भएपछि अब घट्ने ठाउँमा नेप्से सूचक नरहेको आकलन पनि सेयर कारोबारीमा बढेको देखिएको छ ।
आइतबार सर्वाधिक कारोबार हिमालयन डिस्टिलरीको भएको छ । कम्पनीको ४४ करोडमाथिको कारोबार हुँदा नबिल बैंक, शिवम् सिमेन्ट, नेपाल बंगलादेश बैंक, अपि पावर कम्पनीको २९ करोड रुपैयाँदेखि १७ करोड रुपैयाँसम्मको कारोबार भएको छ । यस दिन एक सय ६८ वटा स्क्रिप्टको सेयर मूल्य बढेको छ भने १८ वटा स्क्रिप्टको सेयर मूल्य घटेको छ । म्युचुअल फन्डबाहेक कारोबारमा आएका १२ वटा समूहका सूचक सकारात्मक बन्दा लगानीकर्ताको आकर्षण उत्पादनगत क्षेत्र देखिएको छ । त्यस्तै विकास बैंक, फाइनान्स, माइक्रो फाइनान्समा लगानीकर्ता झुम्मिएका छन् ।
दुई कम्पनीको सेयर सकारात्मक सर्किट मूल्यमा कारोबार भएको छ । हिमालयन डिस्टिलरी र मध्यभोटेकोसी जलविद्युत् कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको छ । सूर्या लाइफ इस्योरेन्स, कर्पोरेट डेभलपमेन्ट बैंक, किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७ प्रतिशतभन्दा बढीले बढेको छ । त्यस्तै, गोर्खाज फाइनान्सले यस दिन सर्वाधिक गुमाएको छ । अन्य गुमाउनेहरूमा म्युचुअल फन्ड समूह रहेका छन् ।