मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १७ शनिबार
  • Thursday, 19 December, 2024
शान्ति तामाङ काठमाडाैं
२o७८ पौष १७ शनिबार o८:१२:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एक वर्षमै चोरिए १० पुरातात्विक मूर्ति

Read Time : > 3 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o७८ पौष १७ शनिबार o८:१२:oo

नेपालबाट हराएका मूर्ति अमेरिकाको म्युजियममा भेटिन्छन्, तर कसले लग्यो केही खुल्दैन

गत २० मंसिरमा काठमाडौंको हलचोकबाट आकाश भैैरवको मूर्ति चोरी भयो । स्थानीयले प्रहरीमा उजुरी दिएपछि मूर्तिको खोजी सुरु भए पनि हालसम्म फेला पार्न सकिएको छैन । 

ललितपुरको गोदावरीस्थित सिद्धेश्वर महादेव मन्दिरबाट १४ मंसिरमा चोरी भएको वसुन्धराको एक थान मूर्ति चार दिनपछि सोही स्थाननजिकैको जंगलमा फेला पर्‍यो । तर, सँगै चोरी भएको नारायणको मूर्ति भने फेला पर्न सकेन । फाइल तस्बिर

२७ मंसिरमा ललितपुरको टंगालबाट नारायणको दुईवटा मूर्ति चोरी भयो । भर्खरै पुनर्निर्माण सकिएको टंगहिटीमा जडान गरेको एक सातामै मूर्ति चोरी भएको हो । ८० वर्षभन्दा पुरानो मूर्तिबारे हालसम्म कुनै जानकारी छैन । 

मूर्ति चोरी रोक्न प्रभावकारी सुरक्षा नीति बनाउनुपर्छ : यादवलाल कायस्थ सम्पदा अभियन्ता

सार्वजनिक सम्पदा एवं प्राचीन स्मारक संरक्षण गर्नु राज्यको प्रमुख कर्तव्य हो । साथै, यसको प्रत्यक्ष सुरक्षा नीति र कार्ययोजना कार्यान्वयन गर्ने दायित्व नेपाल प्रहरीको हो । यसका लागि आवश्यक प्रभावकारी सुरक्षा नीति निर्माण गरी यसको छुट्टै विभाग, महाशाखा खडा गरी प्रत्येक प्रहरी प्रभाव र प्रहरी वृत्तमा सार्वजनिक सम्पदा संरक्षणको युनिट कायम गरी प्रभावकारी सार्वजनिक सम्पदा संरक्षणको व्यवस्था गर्न भनिरहेका छौँ ।

२८ मंसिरमा ललितपुरको कुम्भेश्वरस्थित एक ढुंगेधारामाथि राखिएको विष्णुको मूर्ति चोरी भयो । सिसिटिभी फुटेजमा राति सवा १२ बजे चोरी भएको कैद भयो । मूर्ति चोरी भएको थाहा पाएलगत्तै स्थानीयले मंगलबजार प्रहरी प्रभागमा उजुरी गरे । तर, अहिलेसम्म पनि चोरिएको मूर्ति फेला पर्न सकेको छैन । चोरी भएको मूर्ति तीन–चार सय वर्षभन्दा पुरानो रहेको स्थानीय अरोज खड्गीले बताए । ‘सिसिटिभीमा कैद भएको फुटेजअनुसार मध्यरातमा स्कुटरमा आएका व्यक्तिले मूर्ति चोरी गरेका छन् । तर, स्कुटरको नम्बर ठम्याउन नसकिने गरी लाइट परेकाले अहिलेसम्म मूर्तिबारे केही जानकारी पाउन सकिएको छैन,’ खड्गीले भने ।

माथि उल्लिखित केही उदाहरण मात्र हुन् । पछिल्लो समय ऐतिहासिक तथा पुरातात्विक महत्वका मूर्तिको चोरी गर्ने क्रम बढ्दै गएको छ । नेपाल प्रहरीका अनुसार एक वर्षमा १० ऐतिहासिक र पुरातात्विक मूर्ति चोरी भएका छन् । आर्थिक वर्ष ०७८/७९ मा आकाश भैरवको मूर्ति, ढलौटको गणेशको मूर्ति, नवदुर्गा भवानीको ढलौटको मूर्ति, भैरवको मूर्ति, शेषनारायणको मूर्ति, काँसको घन्टी, राधाकृष्णको ढलौटको मूर्ति, तामाको अम्खोरा, ढलौटको सिंहको मूर्ति, प्राचीन पुरातात्विक महत्वको ढलौटको गणेशको मूर्ति, विष्णुनारायणको ढुंगाको मूर्ति र बसुन्धराको मूर्ति चोरी भए । 

यसबाहेक १० वर्षमा ब्रह्मायणीको मूर्ति, सूर्यनारायणको र काली भगवती, पुरातात्विक महत्वको बहुमूल्य धातु ६ केजी एक सय ५० ग्राम तौल भएको बुद्धको मूर्ति, चार सय वर्ष पुरानो सुनको जलप लगाएको बहुमूल्य प्राचीन मूर्ति र मूर्तिका गरगहना, पुरातात्विक महत्वको महालक्ष्मी, नृत्यनाथ, चामुण्डा, भैरव र पञ्चमुखी हनुमानलगायत मूर्ति तथा ऐतिहासिक सामग्री चोरी भए । 

हराएका मूर्ति पुगे अमेरिकासम्म
सन् १९८४ मा ललितपुरको पट्कोटोलमा रहेको नारायण मन्दिरमा रहेको लक्ष्मीनारायणको मूर्ति चोरी भयो । सो मूर्ति अमेरिकाको टेक्सास राज्यको डल्लास म्युजियम अफ आर्टसम्म पुगेको थियो । ३७ वर्षअघि चोरी भएको मूर्तिलाई हाल मन्दिरमै पुनस्र्थापना गरिसकिएको छ । नेपालस्थित अमेरिकी मिसन, अमेरिकी र नेपाली विभिन्न निकाय, डल्लास म्युजियमको संयुक्त प्रयास तथा युनाइटेड पार्सल सर्भिसको यातायात सहयोगमा गत वैशाखमा मूर्ति नेपाल ल्याइएको थियो । 

जुम्लाको चन्दननाथ नगरपालिका– ५ खलंगास्थित चन्दननाथ मन्दिरबाट ११ मंसिर ०७३ मा थुप्रै मूर्ति चोरी भए । चार वर्षपछि २० असोज ०७७ मा चन्दननाथ–१० बोहोरागाउँमा दुईवटा मूर्ति भेटियो । अरु मूर्तिको अझै पत्तो लागेको छैन । फाइल तस्बिर

सो मूर्ति १२औँ र १५औँ शताब्दीबीचको मानिन्छ । मूर्तिको दायाँ भागले नारायण र बायाँ भागले लक्ष्मीको प्रतिनिधित्व गरेको विश्वास गरिन्छ । हराएको ६ वर्षपछि लिलाम बिक्री भएको मूर्ति म्युजियमलाई अस्थायी रूपमा उपलब्ध गराइएको थियो ।

जघन्य अपराध मानेर अनुसन्धान थालेका छौँ  : वसन्तबहादुर कुँवर प्रवक्ता, नेपाल प्रहरी

पुरातात्विक महत्वका मूर्तिबाट आयआर्जन धेरै हुने गरेका कारण चोरी बढेको देखिएको छ । पशुपति, स्वयम्भूजस्ता प्रहरीको निगरानी कम हुने ठाउँमा चोरी धेरै हुने गरेका छन् । सुरक्षा व्यवस्थापन नभएका र स्थानीयले नै संरक्षण गरेर राखेका मूर्ति ओसारपसार भई गन्तव्यमा पुग्ने गरेको पाइएको छ । पछिल्लो समय नागरिकस्तरबाट पनि दबाब आउन थालेपछि हामीले मूर्तिको संरक्षण र चोरिएका मूर्ति फर्काउने कामलाई प्राथमिकता दिएका छौँ । मूर्ति चोरीलाई पनि अन्य जघन्य अपराधलाई जत्तिकै प्राथमिकतामा राखेर सम्भाव्य ठाउँलाई मध्यनजर गरेर रणनीति बनाएका छौँ । 

चोरी भएका मूर्तिमध्ये कतिपय प्रहरीले पत्ता लगाएर पुनस्र्थापना गरे पनि कतिपयको अझै खोजी जारी छ । जसमध्ये हलचोकको आकाश भैरवको मूर्तिको खोजी भइरहेको छ । भक्तपुरको पुरानो महांकाल भैरवको मूर्ति, काठको मूर्ति, विश्वकर्मा, गणेश, कुमार, बुद्धको मूर्ति, अर्धनागेश्वरको ढुंगाको मूर्तिलगायत अझै फेला पर्न नसकेको प्रहरीले जनाएको छ । 

चोरी भएर खोजी गर्नुको सट्टा चोरी हुन नदिँदा राम्रो
नेपालकम पुरातात्विक मूर्ति चोरी हुने क्रम बढेपछि हालै सम्पदा अभियन्ताहरूको एक समूहले प्रहरीको ध्यानाकर्षण गराएको थियो । ‘सार्वजनिक सम्पदा एवं प्राचीण स्मारक संरक्षण गर्नु राज्यको प्रमुख कर्तव्य हो । साथै, यसको प्रत्यक्ष सुरक्षा नीति र कार्ययोजना कार्यान्वयन गर्ने दायित्व नेपाल प्रहरीको हो,’ सम्पदा अभियन्ता यादवलाल कायस्थले भने, ‘यसका लागि आवश्यक प्रभावकारी सुरक्षा नीति निर्माण गरी यसको छुट्टै विभाग, महाशाखा खडा गरी प्रत्येक प्रहरी प्रभाव र प्रहरी वृत्तमा सार्वजनिक सम्पदा संरक्षणको युनिट कायम गरी प्रभावकारी सार्वजनिक सम्पदा संरक्षणको व्यवस्था गर्न भनिरहेका छौँ ।’

कायस्थले ऐतिहासिक मठमन्दिरका मूर्ति, गरगहना, धारालगायत बहुमूल्य कलात्मक वस्तुहरू पटक–पटक चोरी भएको बताए । चोरी भई खोजी गर्नु सट्टा चोरी हुनै नदिनु नेपाल प्रहरीको प्रमुख काम हुनुपर्ने उनको भनाइ छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको देशभर सञ्जाल हुँदाहुँदै पनि सम्पदा संरक्षणमा छुट्टै नियमित रेखदेख, गस्ती दिने र सुरक्षा दिने विभाग नभएको र स्थानीय प्रहरी कार्यालयमा छुट्टै युनिटको अभाव महसुस भएको उनले बताए ।

भक्तपुरबाट सबैभन्दा धेरै मूर्ति चोरिए
आव ०६५/६६ मा पुरानो महांकाल भैरवको मूर्ति हरायो । जुन मूर्तिको अझै पत्ता लाग्न सकेको छैन । सोही वर्ष काठको मूर्ति पनि हरायो । आव ०६६/६७ मा पुरानो ढुंगाको माधवनारायणको मूर्ति चोरी भयो । सोही वर्ष विश्वकर्माको मूर्ति, गणेशको मूर्ति, कुमारको मूर्ति र बुद्धको मूर्ति चोरी भयो । हालसम्म चोरी भएका यी मूर्तिको अवस्थाबारे कसैलाई जानकारी छैन । सोही वर्ष ढुंगाको नारायण र लक्ष्मीको मूर्ति, अर्धनागेश्वरको ढुंगाको मूर्ति, शिलाढुंगामा कुँदिएको चतुर्बाहु नारायणको मूर्ति, अर्धनागेश्वर लक्ष्मीनारायणको मूर्ति, राम र सीताको मूर्ति, पित्तलको भैरवनाथ मूर्ति चोरी भयो । 

आव ०६७/६८ मा अष्टमंगल, महांकाल, पुस्तकको गाता, काठको पलक, बाँदरको मूर्तिको स्टुल, तरबार र खुकुरी चोरी भयो । आव ०६७/६८ मा महेश्वरीको मूर्ति चोरी भयो । आव ०७१/७२ मा ढलौटको बुद्धको मूर्ति चोरी भयो । ०७२/७३ मा पित्तलको मूर्ति, कालोढुंगाको कालीको मूर्ति, दिगु भैरवको सुनको जलप भएको पित्तलको मूर्ति, ब्रह्मायणीको मूर्ति पनि चोरी भयो ।