Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
 हिउँले पुरिएको पुथा हिमालय मावि मैकोट
मनीष खड्का रुकुम पूर्व
२०७८ पौष १६ शुक्रबार १८:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हिमपातले पठन पाठन प्रभावित 

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पूर्व
२०७८ पौष १६ शुक्रबार १८:०६:००

हिमपात भएपछि रुकुम पूर्वमा पठनपाठन प्रभावित बनेको छ। मौसममा आएको बदलीसँगै मंगलबार र बुधबार भएको हिमपातका कारण जिल्लाका विभिन्न ठाउँमा पढाइ प्रभावित बनेको हो। बाक्लो हिमपात भएपछि बालबालिकाहरू विद्यालय आउन सकेका छैनन्। ठूला कक्षाका बालबालिकाहरू अलिअलि आए पनि आधारभूत तहका बालबालिकाहरू भने विद्यालय आउन नसकेको पुथाउत्तरगंगा गाउँपालिका १ मा रहेको पुथाहिमालय मावि मैकोटका प्रधानाध्यापक हस्तिमान पुनले जानकारी दिए। ‘१, २ फिटसम्म हिउँ जमेको छ, बाटो नै नभएपछि बालबालिकाहरू विद्यालय आउन सकेका छैनन्,’ उनले भने। हिमपातका कारण चिसो अत्याधिक बढेकाले पनि बालबालिकाहरू विद्यालय पुग्न समस्या भएको प्रधानाध्यापक पुनले बताए। 

विद्यालय भवन हिउँले छोपिएका छन्। खेलमैदान पूरै सेताम्मे छन्। हिउँ थपिएन भने अझै एक सातासम्म अहिलेको हिउँ पग्लिने अवस्था नरहेको र हिउँ नपग्लिँदासम्म पठनपाठन प्रभावित हुने देखिएको उनले बताए। उनका अनुसार साना बालबालिकाहरूलाई चिसोबाट बचाउन घरमै राख्नुपर्ने अवस्था छ। जिल्लाका सबै स्थानीय तहमा हिमपात भएको छ। तर पुथाउत्तरगंगा गाउँपालिकावासी सबैभन्दा बढी प्रभावित भएका छन्। गाउँपालिकाका सबै १४ वटै वडा हिमपातबाट प्रभावित बनेका छन्। हिमपातका कारण जनजीवन कष्टकर बनेको छ। 

गाउँपालिकाका अधिकांश विद्यालयमा पठनपाठन प्रभावित बनेको छ। गाउँपालिकाले विद्यालयलाई आफ्नो अनुकुलतामा विद्यालयमा जाडो बिदा गर्न भनेको छ। अहिले परीक्षा सञ्चालन भइरहेकाले परीक्षा सकिनेबित्तिकै जाडो बिदा गर्ने विद्यालयहरूले बताएको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाही मल्लले बताइन्। गाउँपालिकाले विद्यालय बन्द गर्ने विषयमा निर्णय नगरेको र विद्यालयलाई आफ्नो अनुकुलतामा विद्यालय बन्द गर्न भनेको उनको भनाइ छ।