गद्दी बैठक विदेशी पाहुना आउँदा स्वागतका लागि एक सय १३ वर्षअघि तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्माण गरिएको थियो
०७२ को भूकम्पमा क्षति भएपछि बन्द रहेको हनुमानढोका दरबार क्षेत्रको गद्दी बैठक सर्वसाधारणका लागि खुल्ने भएको छ । ०७५ मै पुनर्निर्माण सकिएको बैठक आगामी साताबाट खुला गर्न लागिएको हो ।
‘तीन वर्षअघि नै पुनर्निर्माण सकिए पनि केही काम बाँकी थिए । ती काम सक्न कोरोनाले बाधा पुर्यायो । त्यसैले बल्ल सञ्चालनमा आउन लागेको हो,’ हनुमानढोका दरबार हेरचाह अड्डा प्रमुख सन्दीप खनालले भने, ‘सर्वसाधारणका लागि समेत खुला हुने गरी अर्को हप्ताबाट गद्दी बैठक सञ्चालनमा आउनेछ । सञ्चालनका लागि केही प्राविधिकबाहेक सबै काम सकिएको छ ।’ नेपाल भ्रमण वर्ष– २०२० लाई लक्षित गरेर खुला गर्ने निर्णय गरिए पनि कोरोनाका कारण बन्द खरिएको थियो ।
अमेरिकाको एम्बेस्डर्स फन्ड फर कल्चरल प्रिजर्भेसनको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको गद्दी बैठक एक सय १३ वर्ष पुरानो सम्पदा हो । पुनर्निर्माणका लागि अमेरिकी सरकारले सात लाख अमेरिकी डलर सहयोग गरेको थियो । तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पाला (विसं १९६५) मा गद्दी बैठकको निर्माण भएको थियो । गद्दी बैठक युरोपेली शैलीमा निर्माण भएको सम्पदा हो । विदेशी पाहुना नेपाल भ्रमणमा आउँदा स्वागत–सत्कार गर्न गद्दी बैठक निर्माण भएको थियो । राणा प्रधानमन्त्री जंगबहादुरको बेलायत भ्रमणपछि विदेशी पाहुनाको नेपाल आउन थालेका थिए ।
पुनर्निर्माणपछि गद्दी बैठकको भुइँतलालाई संग्रहालय बनाइएको छ । जहाँ नेपाली इतिहास र संस्कृतिका दुर्लभ पुरातात्विक वस्तु राखिनेछ । खासगरी वसन्तपुरमा रहेको ऐतिहासिक सामग्रीको चित्र र तिनका विवरणसमेत राखिनेछ । देशमा विभिन्न समयमा भएको राजनीतिक घटनाक्रम समेटिने दस्ताबेज पनि सोही संग्रहालयमा राखिनेछ । यी दस्ताबेज विद्यार्थी तथा अनुसन्धानकर्ताका लागि उपयोगी हुनेछन् ।
हप्तामा सातै दिन खुल्ने गद्दी बैठक सार्वजनिक बिदामा पनि बन्द नहुने प्रमुख खनालले बताए । उनका अनुसार प्रवेशका लागि नेपालीलाई शुक्रबारबाहेक ३० रुपैयाँ लाग्नेछ । शुक्रबारका लागि १५ रुपैयाँ मात्र तोकिएको छ । विदेशीलाई भने तीन सय रुपैयाँ लाग्नेछ ।
हनुमानढोका दरबार क्षेत्र पुनर्निर्माण सम्पन्न हुन अझै तीन वर्ष लाग्ने
भूकम्पका कारण क्षति भएको हनुमानढोका दरबार क्षेत्रका सबै मन्दिर तथा सम्पदा पुनर्निर्माणका लागि अझै तीन वर्ष लाग्ने भएको छ । गद्दी बैठकबाहेक नौतले मन्दिर, तलेजु मन्दिर, जगन्नाथ मन्दिर, शिव–पार्वती मन्दिर, कुमारीघर, वसन्तपुर दरबार, काष्ठमण्डप, राणाकालीन सेतो दरबारलगायत महत्वपूर्ण सम्पदामा भूकम्पले क्षति पुर्याएको थियो ।
काष्ठमण्डप उद्घाटनको चरणमा छ । काष्ठमण्डप दरबार क्षेत्रको एक मात्र त्यस्तो सम्पदा हो, जुन उपभोक्ता समितिमार्फत पुनर्निर्माण सम्पन्न भएको छ । नौतले दरबार पनि पुनर्निर्माणको अन्तिम चरणमा छ । चीनको सहयोगमा पुनर्निर्माण भइरहेको नौतले दरबार सन् २०२२ को नोभेम्बरमा सक्ने गरी सम्झौता भएको छ । तर, कोरोनाका कारण स्वदेश फर्केका चिनियाँ कामदार नआएकाले कामले गति लिन नसकेको हनुमानढोका दरबार हेरचाह अड्डा प्रमुख सन्दीप खनालले बताए ।
अन्य विभिन्न मठमन्दिर तथा सम्पदा जापान, भारत, अमेरिकालगायत देशको सहयोगमा पुनर्निर्माण भइरहेको छ । पृथ्वीनारायण शाहको सयन कक्ष फागुनमा पुनर्निर्माण सकिनेछ । आगम्छें र शिव मन्दिरको पुनर्निर्माणका लागि जाइकाले अध्ययन गरिरहेको छ । जगन्नाथ मन्दिर प्रदेश सांसद कोषको रकमबाट पुनर्निर्माण भइरहेको छ । यीबाहेक पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाले पनि विभिन्न सम्पदाको पुनर्निर्माण गरिरहेका छन् ।