मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १५ बिहीबार
  • Thursday, 19 December, 2024
२o७८ पौष १५ बिहीबार १७:४३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देखाएरै ल्याउन मिल्ने सुन लुकाएर ल्याएपछि...(भिडियो)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष १५ बिहीबार १७:४३:oo

सरकारलाई राजस्व तिरेर दुई सय ग्रामसम्म सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल ल्याउन पाइन्छ। त्यस्तै, शरीरमा लगाइएका ५० ग्रामबराबरको सुनका गहनाको राजस्व तिर्नुपर्दैन। तर, बुधबार एक व्यक्तिले देखाएर तथा थोरै राजस्व तिरेर ल्याउन मिल्ने सुन पनि लुकाएर ल्याए। ती व्यक्तिले सुन लुकाएको तरिका देख्दा भन्सारका कर्मचारीलाई अचम्म लाग्यो। 

५० ग्राम सुन ल्याएका ती व्यक्तिले चेकजाँचका क्रममा सुन ल्याएको बताएनन्। कर्मचारीले सोध्दा नबताएपछि उनीमाथि मेसिनले थप शंका उब्जायो। मेसिनका आधारमा लगेज खोतल्दै जाँदा लगेजको झोलाभित्र रहेको चकलेटको बीचमा ५० ग्राम सुन भेटियो। उक्त सुनका गहना चकलेटको डल्लो प्याक गरेझै प्याकिङ गरी राखिएको थियो। उक्त सुन गहनाकै ढाँचामा बनाएर प्याक गरिएको थियो। थोरै सुन ल्याउन पनि किन यति चलाखी अपनाइयो? त्यसबारे कर्मचारीहरूले झन् सोच्न थाले। सुन ल्याउने ती व्यक्ति थिए सिराहाका मोहम्मद इजराइल मियाँ। बुधबार कतार एयरवेजको क्यू आर ६५० उडानबाट साँझ ७:३० बजे उनी काठमाडौं उत्रिएका थिए। 

विमानस्थलभित्र चेकजाँच गर्ने क्रममा उनको हरियो लगेजभित्र ५० ग्राम सुन थियो। सोध्दा नबताए पनि भन्सारको स्क्यानर मेसिनले उक्त लगेजमा अवैध वस्तु रहेको संकेत गरेपछि कर्मचारीले लगेजमा चेकजाँच गरेका थिए। सोही क्रममा उनले चकलेटको खोलभित्र लुकाएर ल्याएको सुन भेटिएको विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले जानकारी दिए। उनका अनुसार नेपालमा अवैध रूपमा सुन भित्र्याउने नयाँ फर्मुला मियाँले अपनाएका थिए। उनले अपनाएको तरिका निकै रहस्यपूर्ण थियो तर मेसिनले पत्ता लगायो। त्यस्तो तरिका अपनाउनुको कारण भने नेपालको भन्सारको चेकजाँचलाई जाँच्न हुन सक्ने भट्टराईले बताए। उनले भने, ‘५० ग्राम सुन ल्याउन पाइन्थ्यो, तर ती व्यक्तिले अपनाएको तरिकाले धेरै प्रश्न उठाएको छ, कि त त्यसरी नै सुन तस्कर गर्नको लागि यी व्यक्तिबाट परीक्षण गरिएको हुनुपर्छ।’ उनले मियाँले ल्याएको तरिका नौलाे भएकाले उनलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए। मियाँसँगै अन्य अवैध सुन भित्र्याउने जालो जोडिएको हुन सक्ने भट्टराईको भनाइ छ। 

उनले यसरी सुन लुकाएर ल्याएको घटनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको चेकचाँजलाई थप चुनौती दिएको पनि बताए। योपटक थोरै सुन ल्याएर अर्कोपटक यसरी नै चकलेटभित्र सुन लुकाएर ल्याउने योजनासमेत तस्करहरूको हुन सक्ने विमानस्थल प्रहरी कार्यालयको अनुमान छ। 

पछिल्लो समय नेपालमा अवैध रूपमा सुन भित्र्याउनका लागि प्रहरी र भन्सारका कर्मचारीलाई समेत जिल्याउने तरिका अपनाउन थालिएको छ। अवैध रूपमा सुन भित्र्याउन नयाँ नयाँ तरीका अपनाएपछि विमानस्थलभित्रको भन्सार चेकजाँचमा थप चुनौती थपिएको छ। यसअघि पनि तस्करहरूले कम्बरमा बाध्ने पेटीमा सुन लेपन गरेर ल्याएका थिए। कतिपयले निलेर पेटमा समेत सुन ल्याएका थिए। त्यस्तै, मलद्वारमा समेत लुकाएर ल्याउँदै गरेको सुन प्रहरीले यसअघि बरामद गरेको थियो। 

बुधबार मियाँले ल्याएको सुन तोकिएकै परिमाणमा ल्याएको पाइए पनि उनको नियत खराब देखिएपछि भन्सार कार्यालयले पक्राउ गरी थुनामा राखेको छ। उनले ल्याएको सुन बरामद हुने र सुनबराबरको जरिवाना तिराइने भन्सार कार्यालयले जनाएको छ। 

भिडियो :