१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १४ बुधबार
  • Saturday, 06 July, 2024
२o७८ पौष १४ बुधबार १८:५३:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

चिठ्ठाको नाममा ठगी : २५ लाखको लोभमा साढे तीन लाख गुम्यो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७८ पौष १४ बुधबार १८:५३:oo

रसुवाको कालिका गाउँपालिका– १ ग्राङका बिसाज तामाङलाई २०७७ माघमा ‘तपाईंलाई २५ लाखको चिठ्ठा परेको छ,’ भन्ने म्यासेज इमोमा आयो। लगत्तै, ‘उक्त रकम तपाईंको बैंक खातामा पठाउनका लागि कर तिर्नुपर्छ। सोबापतको रकम आइएमईमार्फत पठाउनू’ भन्ने म्यासेज आयो। 

लाखौ रुपैयाँ चिठ्ठामार्फत पाउने भएसँगै म्यासेजमा भनिएअनुसार कर तिर्नका लागि आवश्यक भनिएको रकम तामाङले आइएमईमार्फत पठाए। उनले दुईपटक एक–एक लाख, दुई पटक २५–२५ हजार, एकपटक ५० हजार,  एकपटक ३० हजार र एकपटक २० हजार गरी आइएमईमार्फत पठाए। २०७७ माघदेखि २०७८ असोजसम्म  ७ पटकसम्म गरी  तीन लाख ५० हजार आइएमईमार्फत रकम पठाए। तर, चिठ्ठामा दिने भनिएको रकम नआएपछि कतै ठगिएँ कि भन्दै प्रहरीमा उजुरी गर्न पुगे। 
उनी मात्र होइन, इमो, ह्वाट्सएप, भाइबरमार्फत  रसुवामा अन्य व्यक्तिहरुलाई पनि ‘२५ लाख चिठ्ठा परेको छ। उक्त रकम तपाईंको बैंक खातामा पठाउनका लागि कर तिर्नुपर्छ। सोबापतको रकम आइएमईमार्फत पठाउनू’ भन्ने म्यासेज आएको छ । 

२०७४ देखि हालसम्म चिठ्ठाको नाममा ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालय रसुवामा ६ वटा उजुरी आएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गणेश सापकोटाले बताए। ‘थुम्मन, टिमुरे, चिलिमेका व्यक्तिहरूले चिठ्ठाको नाममा ठगिएको भन्दै उजुरी गर्नुभएको छ,’ उनले भने, ’उहाँँहरूले एक दुईपटक मात्र पैसा आइएमईमार्फत पठाएको पाइएको छ, थुमनको ३० हजार, टिमुरेको ७५ हजार र  चिलिमेबाट ४० हजार पठाएको पाइएको छ ।  


इमो, ह्वाट्सएप तथा भाइबरमा चिठ्ठा पर्याे भन्दै पैसा पठाउन लगाएर ठगी गरेका घटनाहरू दिनानुदिन सार्वजनिक भइरहेका छन्।  चिठ्ठामा परेको पैसाबापतको कर बुझाउनका लागि भन्दै पैसा माग्दा धेरै पैसा कमाउने लोभमा ठगिने क्रम बढिरहेको छ। चिठ्ठाका लागि पैसा पठाएर ठगिएपछि प्रहरीमा उजुरी गर्न आउने गरेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। ठगीको उजुरी दर्ता भएसँगै जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डे र अनुसन्धान अधिकृत प्रहरी निरीक्षक गणेश सापकोटाको टोलीले लट्री अर्थात् चिठ्ठाको नाममा ठगी गर्दै हिँडेका ४ जनालाई पक्राउ गरेको छ।  

सिराहा जिल्ला मिर्चैया नगरपालिका–१०, महेशपुरका वर्ष २८ का इस्लाम भनिने मोहमद इस्लाम, पर्सा जिल्ला वीरगन्ज महानगरपालिका– २२, जगन्नाथपुरका २० वर्षीय प्रवीण चौरसिया, सोही महानगरपालिका–१६ का २८ वर्षीय आर्यन भनिने सुजित ओझा र बारा जिल्ला देउताल गाउँपालिका–७ स्थायी घर भई पर्सा वीरगन्ज महानगरपालिका– ३ प्रगतिनगर बस्ने वर्ष २५ का गोलु भनिने विवेककुमार सहिनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। 
उनीहरूले जिल्लाको कालिका गाउँपालिका – १ ग्राङका बिसाज तामाङलाई चिठ्ठा परेको छ। चिठ्ठाबापतको रकम लिन सुरुमा कर तिर्नुपर्ने भन्दै साढे तीन लाख ठगी गरेको पाइएको प्रहरीले जनाइएको छ। 

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक गणेश सापकोटाका अनुसार प्रतिवादी मोहमद इस्लाम पहिला आइएमईमा पैसा निकाल्न आउने हातहतियार खरखजाना तथा सार्वजनिक हितविरूद्धको कसुर मुद्दामा सजाय पाइसकेका व्यक्ति रहेको र गएको कात्तिक ८ गते सिराहा जिल्लाको मिर्चैया बजारबाट पक्राउ गरिएको हो। उनीसँगको सोधपुछको क्रममा प्रवीण चौरसिया प्रमुख योजनाकार रहेको पाइएको छ। उनले विभिन्न व्यक्तिसँग सामाजिक सञ्जालमा कुरा गरी पैसा आइएमई गर्न लगाउने र आइएमई कोर्ड अन्य व्यक्तिहरूलाई दिई पैसा निकाल्न लगाउने गरेको पाइएको प्रहरीले जनाएको छ। उनी सिराहा, धनुषालगायतका स्थानमा ठगी तथा संगठित अपराध, नागरिकता किर्तेलगायतमा संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ। उनलाई काठमाडाैंको गौशालास्थित संस्कार गेस्टहाउसबाट पक्राउ गरिएको जनाइएको छ। त्यसैगरी गोलु र  विवेक सहनी भनिने विवेककुमार सहनी र आर्यन भनिने सुनितकुमार ओझा भने विभिन्न स्थानमा गई पैसा निकाल्ने र योजनाकारलाई दिने गरेको पाइएको प्रहरीले जनाएको छ। उनलाई पर्सा वीरगन्ज महानगरपालिका–१६ बाट पक्राउ गरिएको हो। 

पक्राउ परेका चारैजनालाई रसुवा जिल्ला अदालतमा ठगी तथा संगठित अपराधसम्बन्धी शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक सापकोटाले बताए। उनीहरू चारैजना पुर्पक्षका लागि कारागार चलान भएका छन्। चिठ्ठाको नाममा ठगिएकाको प्रहरीमा आएका अन्य उजुरीहरूको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सापकोटाले बताए।  
 

यसरी हुन्छ ठगी : 

इमो, भाइबर तथा ह्वाट्सएपमा लट्री अर्थात् चिठ्ठा पर्यो भन्दै फोन तथा म्यासेज आउँछ। सबैभन्दा बढी इमोमा फोन तथा म्यासेज आउने गरेको पाइएको छ। फोन तथा म्यासेजमा बढी हिन्दी भाषाको प्रयोग हुने गर्छ। सुरुमा २५ लाखसम्म चिठ्ठा परेको भन्दै बधाई दिने गरेका छन्। मख्ख पर्दै उनीहरूसँग चिठ्ठाको आशामा परेपछि ठगी गर्ने खेल सुरु हुन्छ। विभिन्न चासो देखाउन थाले भने ठगहरूले विभिन्न बहाना बनाउने गरेको प्रहरीले जनाएको छ। 

विश्वासका लागि टिभी स्क्रोल देखाउने, चिठ्ठा परेको भन्दै विभिन्न डकुमेन्ट देखाउने, अरूलाई चिठ्ठाको पैसा दिएको तस्बिर देखाउने गरेको पाइएको प्रहरीले जनाएको छ। आइएमईमार्फत पठाउन लगाइएको पैसा झिक्न भने प्रत्येकपटक फरकफरक व्यक्तिको प्रयोग भएको पाइएको छ। आर्थिक लाभ लिने मनसायले ठूलो रकमको प्रलोभन देखाई ठगी गर्ने क्रम बढेकाले सचेत रहन जिल्ला प्रहरी कार्यालय रसुवाले सबैमा अनुरोध गरेको छ। 

ad
ad
ad
ad