प्रतिनिधिसभाबाट तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ स्वीकृत भएको छ। बैठकमा गृहमन्त्री बालकृष्ण खाणको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अध्यादेशसम्बन्धी प्रस्ताव स्वीकृतिका लागि निर्णयार्थ पेस गरेका थिए। यसअघिको सरकारले जारी गरेको अध्यादेश संसदमा पेस हुन नसक्दा स्वतः निस्क्रिय भएको थियो।
तेजाब आक्रमणका घटना बढेपछि दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति, उपचार गराउनका लागि कानुनको माग गरिएको थियो। यस्तै, प्रतिनिधिसभाबाट नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ र रेल्वे अध्यादेश, २०७८ पनि बहुमतले स्वीकृत भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणकुमारी यादवले रेल्वे अध्यादेश, २०७८ स्वीकृतिका लागि निर्णयार्थ पेस गरेकी थिइन्।