मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
गणेश लम्साल विराटनगर
२०७८ पौष ४ आइतबार १२:५२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मोरङमा मल अभाव, कृषक भारतीय बजारमा निर्भर

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ पौष ४ आइतबार १२:५२:००

हिउँदे बाली गहुँ र मकैका लागि मोरङमा रासायनिक मलको अभाव छ। गहुँ र मकै लगाउने पिक सिजनमा आवश्यकताअनुसार डिएपी मल नपाउँदा कृषक भारतीय बजारको भर पर्न बाध्य छन्। विराटनगरस्थित कृषि सामग्री र साल्ट ट्रेडिङ कम्पनीबाट सहकारीहरूले मल खरिद गरेर लगे पनि पर्याप्त नभएकाले किसानले मागअनुसार मल पाएका छैनन्।

आवश्यकताअनुसार मल नपाएपछि मोरङको दक्षिणी क्षेत्रका कृषकले भारतीय बजारबाट मल खरिद गरेर प्रयोग गरिरहेकाे जहदा गाउँपालिका– ४ का कृषक अशोक कामतले बताए। कामतले भने, ‘बाली लगाउनुअघि माटोमा हाल्ने डिएपी मल एकदमै अभाव छ। पाए पनि एक–दुई बोरा मात्र पाइन्छ, यसैले  भारतीय बजारबाट खरिद गरेर ल्याउने गरेका छौँ ।’ 

मोरङको दक्षिणी क्षेत्रमा कृषकले गहुँसँगै  हाइब्रिड मकैको खेती पहिलेभन्दा धेरै  गर्न थालेका छन्। गहुँ र हाइब्रिड मकैलाई धेरै रासायनिक मल चाहिन्छ। तर, आवश्यकताअनुसार मल नपाएपछि  अधिकांश किसान भारतीय बजारमा निर्भर छन्। 

प्रदेश १ मा हाहाकार भोग्नु नपर्ने कृषि कम्पनीको दाबी
कृषि सामग्री कम्पनी प्रदेश १ कार्यालय विराटनगरका प्रमुख नवरत्न गौतम प्रदेशका पहाडी जिल्लामा गहुँ र हाइब्रिड मकै खेती नहुने भएकाले मलको अभाव नरहेको बताउँछन्। तराईका झापा, मोरङ र सुनसरी जिल्लामा हाइब्रिड मकै खेती बढ्न थालेकाले डिएपी मलको अभाव भएको उनी बताउँछन्। तर, सहकारीहरूलाई मिलाएर बिक्री भइरहेकोले डिएपी मलको अभाव भए पनि हाहाकार भने नभएको उनी बताउँछन्। उनले भने, ‘अब डिएपीको समय अन्तिम भइसक्यो, युरिया मौज्दात पनि छ र आउने क्रममा पनि रहेकाले मागअनुसार कृषकले मल नपाए पनि प्रदेश १ मा हाहाकार भने भोग्नुपर्दैन।’

कृषि कम्पनी विराटनगरले  प्राप्त भएको  ३८ सय मेट्रिक टन डिएपी मलमध्ये मंसिर महिनामा १३ सय ३१ मेट्रिक टन मोरङका दुई सय ७० वटा सहकारीमार्फत बिक्री गरिसकेको  छ। दुई हजार तीन सय ६८ मेट्रिक टन डिएपी प्रदेश १ का विभिन्न जिल्ला र  दुई नम्बर प्रदेशको सिराहा र सप्तरी जिल्लाका लागि पठाइएको छ। हाल कम्पनीको विराटनगरस्थित गोदाममा सय मेट्रिक टन डिएपी, २४ सय ६९ मेट्रिक टन युरिया मल मात्र मौज्दात छ। करिब ६ सय मेट्रिक टन डिएपी र युरिया मल आउने क्रममा रहेको कार्यालयले जनाएको छ।

कृषि कम्पनी प्रादेशिक कार्यालय विराटनगरले झापाको बिर्तामोड, इलाम, धनकुटा, सुनसरीको इटहरी र उदयपुरको गाईघाटमा रहेका आफ्ना शाखा कार्यालयहरूमार्फत प्रदेश १ भरिका जिल्लामा रासायनिक मल वितरण गर्ने गरेको छ। यसबाहेक सिराहाको लहानस्थित कार्यालयबाट प्रदेश २ को सिराहा र सप्तरीमा पनि मल वितरण गर्ने गरेको छ।

साल्ट ट्रेडिङसँग डिएपी मौज्दात छैन 
यता विराटनगरस्थित साल्ट ट्रेडिङ कम्पनीको गोदाममा हाल तीन सय ६० मेट्रिक टन युरिया र १० मेट्रिक टन पोटास मल मात्र मौज्दात छ।  साल्ट ट्रेडिङ कम्पनी विराटनगरका  प्रमुख राधेश्याम चौधरीका अनुसार डिएपी मल प्राप्त नभएकाले मंसिर महिनामा बिक्री पनि भएन र मौज्दात पनि रहेको छैन।