मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ पौष २ शुक्रबार ०८:११:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बिपी प्रतिष्ठानमा बेथिति : पदाधिकारी बर्खास्त गर्न सिफारिस भएको प्रतिवेदन अझै गोप्य

Read Time : > 1 मिनेट
२०७८ पौष २ शुक्रबार ०८:११:००

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई बर्खास्त गर्न सिफारिस भएको स्वास्थ्यमन्त्री विरोध खतिवडा नेतृत्वको छानबिन प्रतिवेदन सरकारले अझै गोप्य राखेको छ । विभिन्न समिति गठन गरेर छानबिन गरे पनि प्रतिवेदन गोप्य राखेर सरकार र सरोकारवाला निकाय मौन बसेका छन् ।

गत १ कात्तिकको निर्णयअनुसार स्वास्थ्यमन्त्री खतिवडा नेतृत्वको छानबिन समितिले बिपी प्रतिष्ठानमा छानबिन गरेको थियो । समितिले विभिन्न समितिले तयार पारेको प्रतिवेदनलाई आधार बनाएर सरोकारवाला तथा पदाधिकारीहरूसँग छलफल गरेको थियो । स्वास्थ्यमन्त्री खतिवडा, स्वास्थ्यसचिव डा. रोशन पोखरेल र धरान उपमहानगरपालिकाका मेयर तिलक राई रहेको समितिले तयार पारेको प्रतिवेदनमा बिपीका पदाधिकारी भ्रष्टाचारमा संलग्न रहेको किटान गरेको छ । तर, प्रतिष्ठानका पदाधिकारीसँग बहुमत सदस्य भएकाले सरकारले बर्खास्त गर्न सकेको छैन । 

खतिवडा नेतृत्वको समितिले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष गुरु खनाल र अस्पताल निर्देशक डा. गौरीशंकर शाहसँग बयानसमेत लिएको थियो । प्रतिष्ठानमा स्थलगत अध्ययन गरेर बनाएको प्रतिवेदनमा समितिले फिल्डमा लिएको बयान चित्तबुझ्दो नभएपछि बिपीका तीनैजना पदाधिकारीसँग लिखित स्पष्टीकरणसमेत मागेको प्रतिवेदनमा उल्लेख छ ।

समितिसँग सरोकारवालाहरूले बिपी प्रतिष्ठान बचाउन अनुरोध गरेका छन् । प्रतिष्ठानका विभिन्न विभागमा कार्यारत विभागीय प्रमुखहरूले ‘प्रतिष्ठानको शैक्षिक, अर्थिक अवस्था नाजुक भइरहेको छ । गुणस्तर खस्कनुमा नेतृत्वले प्रभावकारी काम गर्न नसक्नु प्रमुख कारण हो । प्राज्ञिक संस्कार थाहा नभएको नेतृत्व भएकाले यो समस्या आएको हो । कनिष्ठ व्यक्तिको मातहतमा सिनियरलाई काम गराउँदा मनोबल घटेको छ’ भन्ने आरोप लगाएका छन् । उनीहरूले समितिलाई वरिष्ठताका आधारमा जिम्मेवारी दिनुपर्ने, प्रतिष्ठान÷विश्वविद्यालयभन्दा बाहिरको व्यक्तिलाई नेतृत्व दिन नहुनेसमेत बताएका छन् । प्रतिष्ठानका कर्मचारीहरूले बिपीमा विकृति, विसंगति र अनियमितताको सुरुवात डा. बिपी दासको कार्यकालदेखि सुरु भएको बताएका छन् । 

समितिलाई के पठाए पदाधिकारीले लिखित जवाफ ?

मैले पदीय दायित्व पूरा गरेको छु : डा. ज्ञानेन्द्र गिरी, उपकुलपति
२६ चैत ०७६ मा उपकुलपतिमा नियुक्त भएदेखि प्रतिष्ठानको कानुनी व्यवस्थाले तोकेको काम, कर्तव्य र अधिकारको पालना र प्रयोग गरी प्रतिष्ठानको उद्देश्य प्राप्तिका लागि अहोरात्र खटिई प्रतिष्ठानको हितका लागि कार्यसम्पादन गरिआएको हुँदा मैले आफ्नो पदअनुकूलको दायित्व पूरा गरेको छु । तसर्थ, मलाई दायित्व पूरा नगरेको भनी पदबाट हटाउन नमिल्ने व्यहोराको सफाइ पेस गरेको छु ।

अन्यायपूर्ण आरोप खारेजीको माग गर्दछु : डा. गुरु खनाल, शिक्षाध्यक्ष
विगत २३ वर्षदेखि प्रतिष्ठानमा विभिन्न जिम्मेवारीमा रहेर पदीय मर्यादाअनुरूप कार्य गर्दै आइरहेको छु । आगामी दिनमा पनि अविचलित रूपमा पदीय मर्यादाअनुसार कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । ममाथि थोपरिएको अन्यायपूर्ण एवं पूर्वाग्रही आरोपको खारेजीको माग गर्दछु । ममाथि पदीय दायित्व पूरा नगरेको भन्ने आक्षेप लगाउनु र पदमुक्तसम्म गर्ने अभियोग लगाउनु पूर्वाग्रह र अन्यायपूर्ण कदम भन्ने ठानेको छु ।

उपकुलपतिले मेरो हात बाँधे : डा. गौरीशंकर शाह, निर्देशक
०७४ जेठदेखि प्रतिष्ठानमा निर्देशक पदमा कार्यरत छु, नियुक्ति भएदेखि आजसम्म मैले निर्देशक पदको गरिमालाई अक्षुण्ण राखी निर्विवाद रूपमा इमानदारीपूर्वक कार्य गर्दै आएको छु । म अस्पताल निर्देशकको जिम्मेवारीमा रहँदा दुईजना उपकुलपति र एकजना कार्यवाहक उपकुलपतिको पद र शक्तिप्रतिको आशक्तिको सिकार भएको छु । उपकुलपतिले मेरो कार्यकालको आधा समय अधिकारविहीनजस्तो बनाएका छन् । नियमावलीअनुसारको अधिकार प्रत्यायोजन नगरी पदलाई लंगडो बनाउने काम भएको छ । अधिकार प्रत्यायोजन नै नगरी जिम्मेवारीविहीन बनाउने काम भएको छ । मेरो मातहतमा सहनिर्देशक नियुक्ति गरी निर्देशकले गर्ने काम सहनिर्देशक÷रजिस्ट्रारमार्फत गराउने गरी मलाई जिम्मेवारीविहीन बनाएर राखिएको हो ।