सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्ने बताएका छन्। मंगलबार १५औँ संघीय संसद् सेवा दिवसको अवसरमा संघीय संसद् सचिवालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सापकोटाले सभामुखका रूपमा आफूले पाएको जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्ने प्रतिबद्धता जनाएका हुन्।
उनले आफूले संसद्को प्रतिष्ठा र गौरवलाई माथि उठाउने प्रयत्न गर्ने भन्दै त्यसका निम्ति साथ दिन कर्मचारीहरूलाई आग्रह गरे। आफूसँग काम गर्ने स्प्रिट रहेको उल्लेख गर्दै उनले कर्मचारीहरूसँग रहेको विज्ञतालाई संयोजन गरेर काम गर्न सके संसद्प्रति जनतालाई आशावादी बनाउन सकिने विश्वास व्यक्त गरे।
‘मलाई यो राष्ट्रले, मलाई इतिहासले र मलाई जनताले, मलाई १७५ जना प्रतिनिधिसभाका सदस्यहरूले वर्तमानमा राज्यका तीनवटा अंगमध्ये एउटा अंगको नेतृत्व गर्ने जिम्मेवारी दिनुभएको छ। त्यो जिम्मेवारीलाई पूरै निष्ठाका साथ, पूरै इमानका साथ पूरा गर्नेछु। त्यो पूरा गर्दै जाँदा मलाई लाग्छ, हामी सबैको इज्जत, प्रतिष्ठा, गौरव माथि उठ्दै जान्छ। मेरो पहल र प्रयत्नमा तपाईंहरुले साथ दिनुहुनेछ। मसित स्प्रिट छ, तपाइहरूसित विज्ञता छ। त्यो विज्ञता र स्प्रिट हामीले संयोजन गर्न सक्यौँ भने हामी जनतालाई आशावादी बनाउन सक्छौँ,’ सापकोटाले भने।