मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २७ सोमबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर २७ सोमबार o८:o७:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

निर्यातको आधार भए निजी क्षेत्रलाई ऊर्जा व्यापार गर्न दिन सरकार तयार : ऊर्जामन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर २७ सोमबार o८:o७:oo

विद्युत् निर्यातको आधार प्रस्तुत गरे निजी क्षेत्रलाई पनि विद्युत् व्यापारको अनुमति दिन सरकार तयार रहेको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बताएकी छिन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र इकोनमिक पोलिसी इन्क्युबेटर (इपिआई)ले आयोजना गरेको अन्तरदेशीय विद्युत् व्यापारको सम्भावना र चुनौती विषयक कार्यक्रममा उनले यस्तो बताएकी हुन् । ‘निजी क्षेत्रले विद्युत् उत्पादनको क्षेत्रमा राम्रो गरेको छ, व्यापारका क्षेत्रमा पनि निजी क्षेत्रलाई अनुमति दिन सकिन्छ, तर निर्यात गर्ने आधारसहित आउनुप¥यो,’ ऊर्जामन्त्री भुसालले भनिन् ।

विद्युत् व्यापारका लागि मुलुकले ऊर्जा कूटनीतिलाई कुशल ढंगले बढाउनुपर्ने उनले बताइन् । मुलुकमा ठूलो मात्रामा विद्युत् उत्पादन हुँदै गरेको र त्यसको निर्यात हाम्रो आवश्यकता रहेका कारण अबका दिनमा ऊर्जा कूटनीति निर्णायक हुने उनले बताइन् ।लामो समयदेखि सदनमा विचाराधीन विद्युत् विधेयक हिउँदे अधिवेशनबाट पारित गर्ने तयारी रहेको उनले जानकारी दिइन् । ‘विधेयक संसद्ले पारित गर्ने हो, तर सरकारका तर्फबाट त्यसमा सहयोग हुनेछ,’ मन्त्री भुसालले बताइन् । 

कार्यक्रममा पूर्वऊर्जामन्त्री राधा ज्ञवालीले विकासको मुद्दामा सत्तापक्ष–प्रतिपक्ष सबै एकै ठाउँमा हुनुपर्ने भन्दै विद्युत् उत्पादन वृद्धि गर्ने सवालमा कुनै किसिमको चुनौती खडा गर्न नहुने बताइन् । ‘बंगलादेशमा बिजुली बेच्न नेपाल र बंगलादेशले संयुक्त रूपमा भारतसँग प्रस्ताव गर्नुपर्छ,’ उनले भनिन् ।  कार्यक्रममा राष्ट्रिय सभाका सदस्य राधेश्याम अधिकारीले विधेयक बनाउँदा विधायिकाले २० प्रतिशत पनि अधिकार प्रयोग गर्न नपाएको बताए । ‘विधेयक हेर्ने हो भने धेरै ठाउँमा तोकिएअनुसार हुनेछ भनेर लेखिएको छ । विधायिका अधिकार हामीले प्रयोग गर्न पाउनुपर्नेमा २० प्रतिशत अधिकार पनि प्रयोग गर्न पाइँदैन,’ उनले भने, ‘प्राधिकरणले दिनुपर्ने ठाउँमा ‘सकिनेछ’ भनेको र जसले पाउने हो, त्यहाँ भने ‘पर्नेछ’ भनेको छ । यसले अस्पष्टता जन्माउने गरेको छ ।’ 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिजो लोडसेडिङको चुनौती रहेको, तर आज उत्पादित विद्युत् कसरी खपत गर्ने भन्ने केन्द्रीय विषय बनेको बताए । ‘हिउँदमा पानी रोकेर राख्न सक्ने भए पनि वर्षामा भने पाँच महिनासम्म उत्पादित विद्युत् खपत नभई खेर फाल्नुपर्ने अवस्था रहेको छ,’ उनले भने । जलाशययुक्त आयोजना नभएसम्म विद्युत्मा आत्मनिर्भर भए पनि, नभए पनि विद्युत् व्यापार आवश्यक रहेको उनको भनाइ छ । सतलजमार्फत भारतसँग दीर्घकालीन विद्युत् व्यापारको बाटो खुल्न सक्ने पनि घिसिङले बताए । सबैले विद्युतीय गाडी प्रयोग गरे लोड व्यवस्थापन थप सहज हुने र ग्यास विस्थापन गर्दा बिहान–बेलुका मात्रै खपत हुने भए पनि विद्युतीय गाडीले रातको खेर जाने विद्युत् खपत हुने उनको भनाइ छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपालका अध्यक्ष कृष्ण आचार्यले एकातिर मुलुकमा विद्युत् खेर जाने अवस्था रहेको र अर्कातिर सरकारले डिजेलबाट चल्ने रेल बनाइरहेको बताए । ‘विद्युत् खपत बढाउने दिशामा सरकार गम्भीर देखिएन,’ उनले भने । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले जलविद्युत् क्षेत्र धराशायी भए बैंकिङ क्षेत्रले धान्न नसक्ने बताए । नेपाल पूर्वाधार विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले बंगलादेशले अहिले प्रयोग गरिरहेको ग्यासको विकल्प चाहिएको र त्यसका लागि नेपालले विद्युत् निर्यात गर्न सक्ने बताए । 

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपाल विद्युत् प्राधिकरणकी व्यवस्थापक रञ्जु पाण्डेले नेपालले विद्युत् निर्यात गर्नु रहर नभएर बाध्यता भएको बताइन् । इकोनमिक पोलिसी इन्क्युबेटर (इपिआई)का परामर्शदाता प्रवीण अर्यालले नेपालले वार्षिक एक अर्ब ह्विलिङ चार्ज तिर्ने गरी अन्तरदेशीय प्रसारण लाइन तयार पारे पनि यसको पूर्ण क्षमतामा प्रयोग गर्न नसकेको बताए ।