मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २३ बिहीबार
  • Wednesday, 18 December, 2024
२o७८ मङ्सिर २३ बिहीबार १६:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रसुवामा १२ वर्षमाथिका ४५ सय बालबालिकालाई कोरोनाको खोप दिइँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर २३ बिहीबार १६:४१:oo

रसुवामा १२ वर्ष माथिका ४५ सय बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप दिइने भएको छ। कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै जिल्लाका १२ देखि १७ वर्षसम्मका ४५ सय बालबालिकालाई कोरोनाविरुद्धको खोप दिन लागिएको हो।

देशका १५ जिल्लामध्ये रसुवाका चार हजार ५६७ बालबालिकालाई खोप दिन लागिएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले बताए। ‘१२ देखि १७ वर्ष सम्मका बालबालिकालाई खोप दिइने भएसँगै हामीले शिक्षा तथा समन्वय इकाइसँग समन्वय गरेर विवरण संकलन गरेका छौँ,’ उनले भने। जिल्लाका ३६ विद्यालयका कक्षा ६ देखि १२ सम्म सो उमेर समूहका बालबालिकालाई मोडर्ना खोप दिन लागिएको चालिसेले जानकारी दिए। बालबालिकालाई खोप लगाउनका लागि जिल्लामा आवश्यक तयारी सुरु गरिएको उनले बताए। ‘पुस महिनामा खोप दिने गरी तयारी गर्नू भनेर मन्त्रालयबाट भनिएको छ। तयारीस्वरूप बैठक बस्ने, तथ्यांक संकलन गर्ने कार्यहरू सुरु गरेका छौँ,’ उनले भने, ‘धेरै विद्यार्थी भएका विद्यालयबाट खोप लगाउने गरी तयारी गरिरहेका छौँ।’

कोभ्याक्स सुविधाअन्तर्गत मोडर्नाको १५ लाख खोप शुक्रबार काठमाडौं आइपुग्दै छ। यसअघि करिब २ लाख खोप नेपाल आइसकेको छ। सोहीअनुसार रसुवासहित देशका १५ जिल्लाका बालबालिकामा कोरोनाविरुद्ध मोडर्नाको खोप लगाउने तयारी गरिएको हो। 

बालबालिकामा लगाइने मोडर्ना खोप २८ दिनको फरकमा दुई डोज लगाउनुपर्ने बताइएको छ। यो खोप माइनस १५ देखि २५ डिंग्रीमा राख्नुपर्ने भए पनि रसुवामा २ डिग्री देखि ८ डिग्रीसम्ममा मात्र राख्न सकिने स्वास्थ्य कार्यालय रसुवाका प्रमुख चालिसेले बताए। ‘यो खोप राख्नका लागि समस्या हुने देखिन्छ। एक महिनाको मात्र समय हुने भएकाले आवश्यकताअनुसार खोप ल्याउछौँ,’ उनले भने।

स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार जिल्लामा ४४ हजार ९८१ जनसंख्या छ। यसअघि जिल्लामा कोरोनाविरुद्धको खोप लगाउनयोग्य १८ वर्षमाथिका सबै नागरिकले पूर्ण खोप लगाइसकेकाे स्वास्थ्य कार्यालयले जनाएको छ।