१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १५ बुधबार
  • Saturday, 22 June, 2024
२o७८ मङ्सिर १५ बुधबार o९:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

सुदूरपश्चिम प्रदेश सभापति बन्न देउवा समूहमै हानथाप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर १५ बुधबार o९:१६:oo

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा कांग्रेस सभापतिका लागि आकांक्षीहरूले दौडधुप तीव्र पारेका छन् । प्रदेश सभापति बन्न देउवा समूहकै नेताबीच हानथाप देखिएको छ । सुदूरपश्चिम प्रदेश सभापतिका लागि हालसम्म पाँचजनाले उम्मेदवारी घोषणा गरेका छन् । उनीहरू सबै देउवानिकट हुन् । देउवाको बलियो पकड रहेको यो प्रदेशमा संस्थापनइतर पक्षबाट भने हालसम्म उम्मेदवारी घोषणा भइसकेको छैन । 

देउवा समूहमा रहेका पूर्वराज्यमन्त्री गोविन्दबहादुर शाह, पूर्वराज्यमन्त्री अर्जुनजंगबहादुर सिंह र नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय उपाध्यक्ष पुष्पकुमार शाहीले सभापतिमा दाबी गरेका छन् । शाह अछामबाट, सिंह बझाङबाट र शाही डोटीबाट महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् । लगातार दुई कार्यकालदेखि कांग्रेस कैलालीको सभापति रहेका नरनारायण शाह र कैलालीकै लम्कीका हिमबहादुर रावलले पनि प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । रावल यसअघि सुदूरपश्चिम प्रदेश सभा सदस्यमा पराजित भएका थिए । पार्टीका शीर्ष नेताहरूसँग छलफल गरेरै उम्मेदवारी घोषणाले उम्मेदवारीबाट पछि नहट्ने उनीहरूको भनाइ छ ।

‘पार्टीका शीर्ष नेता, महाधिवेशन प्रतिनिधिलगायत सबैको सल्लाह, सुझावअनुसार नै सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको हुँ,’ उम्मेदवारी घोषणा गरेर प्रचारमा जुटेका रावलले नयाँ पत्रिकासँग भने, ‘पार्टीको संगठन सुदृढ र बलियो बनाउन जिम्मेवारीमा आउन चाहन्छु ।’ आफू उम्मेदवारीबाट पछि नहट्ने उनको भनाइ छ । सभापतिका अर्का आकांक्षी शाहीले पार्टीमा युवा नेतृत्वको खाँचो रहेकाले उम्मेदवारी घोषणा गरेको प्रतिक्रिया दिए । लामो समय विद्यार्थी राजनीतिको अनुभवका आधारमा सुदृढ र शसक्त कांग्रेस बनाउन आफू नेतृत्वमा आउन खोजेको शाहीले बताए ।

आफ्नै समूहबाट सभापतिमा धेरैले उम्मेदवारी नै घोषणा गरेपछि देउवा समूहमा सकसमा परेको छ । ‘नेतृत्वले मिलाउन नसक्ने हो भने हाम्रै समूहका साथीहरूबीच प्रतिस्पर्धा हुने देखिन्छ,’ देउवानिकट एक नेताले भने, ‘उम्मेदवारी घोषणा गरे पनि मिलाउने प्रयास गरिरहेका छौँ ।

संस्थापनइतर  समूह अनिर्णीत
सुदूरपश्चिम प्रदेशमा कमजोर रहेको संस्थापनइतर समूहले भने सभापतिमा उम्मेदवारी दिने–नदिने टुंगो लागेको छैन । इतर समूहका नेताहरूले अन्य पदमा पनि उम्मेदवारी घोषणा गरिसकेका छैनन् । सकभर संस्थापन समूहले पदाधिकारीमा मिलाएर लैजाओस् भन्ने आफूहरूको चाहना रहेको संस्थापन इतर समूहका एक नेताले बताए । प्रदेश अधिवेशनका नौ सय ७२ मतदातामध्ये करिब ७० प्रतिशत देउवा समूहनिकट रहेको बताइएको छ । प्रदेश समितिका अन्य पदमा समेत उम्मेदवारी घोषणा गर्ने क्रम अघि बढेको छ । कांग्रेस कैलालीका नेता उत्तम कठायत, अछामका नेता बलबहादुर कुँवरले प्रदेश महामन्त्री र कैलालीकै रक्षा महराले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् ।

ad
ad
ad
ad