मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १५ बुधबार
  • Thursday, 19 December, 2024
शान्ति तामाङ काठमाडौं
२o७८ मङ्सिर १५ बुधबार o७:१४:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भूमिगत स्रोतबाटै दैनिक थप एक करोड लिटर पानी उत्पादन गरिने

असारमा गएको बाढीले मेलम्ची आयोजना अवरुद्ध भएपछि हिउँदमा उपत्यकामा खानेपानीको संकट टार्न बोरिङ, ट्युबेल जडानका लागि अध्ययन गर्दै केयुकेएल

Read Time : > 2 मिनेट
शान्ति तामाङ, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर १५ बुधबार o७:१४:oo

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले दैनिक एक करोड लिटर पानी थप वितरण गर्न अध्ययन थालेको छ । त्यसका लागि उपत्यकाको विभिन्न ठाउँमा अध्ययन भइरहेको केयुकेएलले जनाएको छ । गत १ असार र १५ साउनमा मेलम्ची नदीमा बाढी आएपछि मेलम्ची खानेपानी आयोजनामा पुगेको क्षतिका कारण १७ करोड लिटर पानी काठमाडौं उपत्यका आउन सकेको छैन । जसकारण केयुकेएलले जति पानी वितरण गर्छ, त्यसकै भरमा उपत्यकाबासीले आफ्नो दैनिकी चलाउनुपरेको छ । यसले गर्दा ट्यांकर व्यवसायीले आफ्नो व्यवसाय बढाउने अवसर पाएका छन् । यसैलाई मध्यनजर गर्दै केयुकेएलले थप एक करोड लिटर पानी वितरणका लागि अध्ययन थालेको हो ।

‘हाल मेलम्ची खानेपानी आयोजनामा पुगेको क्षतिका कारण उपत्यकामा देखिएको पानीको संकट कम गर्न दैनिक एक करोड लिटर पानी बढाउने भएका हौँ । यसका लागि उपत्यकाको विभिन्न ठाउँमा अध्ययन भइरहेको छ,’ केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले भने । उनका अनुसार केयुकेएलले भूमिगत पानीका स्रोतहरू जस्तैः बोरिङ, ट्युबेलबाट पानी ल्याउन अध्ययन थालेको हो । ‘केही दिनदेखि हामी भूमिगत पानीका स्रोतहरू खोजिरहेका छौँ । भूमिगत पानीबाहेक अन्य स्रोत पनि हुन सक्छन् कि भनेर अध्ययन पनि भइरहेको छ,’ उनले भने, ‘स्रोत भेटिएर मात्र पनि हुँदैन, साइट क्लियरेन्सको कुरा पनि आउँछ । यदि त्यस्तो भएमा तत्कालै खपत गर्छौँ ।’ केयुकेएलले उपत्यकाभित्रका १० ठाउँमा ट्युबेल खन्ने भएको छ । 

 दैनिक १४ करोड लिटर पानी वितरण
मेलम्ची खानेपानी आयोजनालाई ०७९ वैशाखको भाका थमाएसँगै केयुकेएल हाल पानी वितरणका लागि परम्परागत स्रोतमै फर्केको छ । केयुकेएलका अनुसार हाल उपत्यकामा दैनिक करिब १४ करोड लिटर पानी वितरण भइरहेको छ । साताको एक वा दुई साताको एकदिन गरेर पानी वितरण हुने गरेको केयुकेएलले जनाएको छ । ‘मेलम्ची रोकिएसँगै परम्परागत स्रोतबाटै पानी वितरण गर्न थालेका छौँ,’ केयुकेएलका प्रवक्ता राईले भने, ‘अहिले हामीले कतै चार दिनमा एकपटक, कतै ६/७ दिन ललितपुरको सैँबुबाट पानी वितरण गरिरहेका छौँ ।’

केयुकेएलले हप्ता, दुई हप्ता लगाएर दैनिक १४ करोड लिटर पानी वितरण गरिरहेको छ । तर, काठमाडौं उपत्यकामा हाल खानेपानीको दैनिक माग ४३ करोड लिटर छ । केयुकेएलले वर्षायाममा जम्मा १६ करोड लिटर वितरण गर्दै आएको छ । अझ, सुख्खा मौसममा जम्मा १० करोड लिटर मात्रै आपूर्ति हुनेछ । ‘हामीले अहिले दैनिक करिब १४ करोड लिटर पानी वितरण गरिरहेका छौँ । अब सुख्खायाम बढ्दै गएपछि दैनिक १० देखि ११ लिटरमा झर्छ,’ प्रवक्ता राईले भने । 

बाढीले मेलम्ची खानेपानी आयोजनामा पुगेको क्षतिका कारण उपत्यकामा देखिएको पानीको संकट कम गर्न दैनिक एक करोड लिटर पानी बढाउने भएका हौँ । यसका लागि उपत्यकाका विभिन्न ठाउँमा अध्ययन भइरहेको छ । केही दिनदेखि हामी भूमिगत पानीका स्रोतहरू खोजिरहेका छौँ । भूमिगत पानीबाहेक अन्य स्रोत पनि हुन सक्छन् कि भनेर अध्ययन भइरहेको छ ।

 प्रकाशकुमार राई, प्रवक्ता, केयुकेएल

मेलम्चीबाट आएको पानी सुन्दरीजलका दुई प्रशोधन केन्द्रबाट साढे आठ करोड लिटरका दरले दैनिक १७ करोड लिटर पानी प्रणालीमा जोडिएको थियो । यसरी केयुकेएलको कुल आपूर्ति ३० करोड लिटर पुगेको थियो । तर, मेलम्चीमा आएको बाढीका कारण फेरि उपत्यकामा पानी विरतण १४ करोड लिटरमा झरेको छ ।
केयुकेएलले सुन्दरीजल, भक्तपुरको महादेव खोला, फर्पिङ, ललितपुरको चारघरे, मूलडोल, शिवपुरी, विष्णुमती, अल्ले, बोडे, भण्डारे, पाँचमाने, कीर्तिपुरको नौमुले, दूधपोखरी, सिम, जोहाहिटीलगायतका मुहानबाट पानी आपूर्ति गरिरहेको थियो । त्यस्तै, ट्युबबेलमार्फत भूमिगत पानी उत्पादन र ट्यांकरमार्फत वितरण गर्दै आएको छ । भूमिगत पानीको अत्यधिक दोहन भएकाले पानीको सतह पनि घट्दै गएको छ । 

 फस्टायो ट्यांकर व्यवसायीको व्यवसाय
मेलम्चीको पानी उपत्यका आउने समय धकेलिँदै जाँदा ट्यांकर व्यवसायीलाई भने फाइदा पुगेको छ । मेलम्चीको पानी आउने समय पर सर्दै जाँदा अहिले दैनिक सात करोड लिटर पानी बिक्री हुन थालेको खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघका अध्यक्ष सुमन पाठकले बताए । ‘मेलम्चीको पानी नआउँदा हामीलाई भने फाइदा भएको छ । अहिले त व्यापार पनि सन्तोषजनक छ,’ उनले भने, ‘मेलम्ची आउँदा २५ प्रतिशत मात्र पानी बिक्री हुन्थ्यो । तर, अहिले त्यस्तो अवस्था छैन ।’
पाठकका अनुसार हाल दैनिक चारदेखि सात करोड लिटर पानी उनीहरूको ट्यांकरले खपत गर्ने गरेको छ । दूरी हेरेर व्यवसायीले पाँच हजार लिटर ट्यांकरको पानीको मूल्य १८ सयदेखि दुई हजार, सात हजार लिटरको २२ सयदेखि २५ सय र १२ हजार लिटर ट्यांकरको पानीको मूल्य ३५ सयदेखि चार हजार रुपैयाँ लिने गरेका छन् ।