मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ मङ्सिर १२ आइतबार १९:२१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्लाही कांग्रेसको वडा अधिवेशनमा मन्त्रीका अंगरक्षकले गोली चलाए

Read Time : > 1 मिनेट
२०७८ मङ्सिर १२ आइतबार १९:२१:००

सर्लाहीको बलरामा नेपाली कांग्रेसको वडा अधिवेशनको क्रममा गोली चलेको छ। मतदान केन्द्रमा प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहका अंगरक्षकले गोली चलाएका हुन्। जिल्लाको दक्षिण पश्चिम क्षेत्र बलरा नगरपालिका– ९, अचलगढमा वडा अधिवेशन स्थलमा विवाद भएपछि प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहका अंगरक्षकले गोली चलाएका हुन्। आइतबार बलारा नगरपालिकाको ८ र ९ नम्बर वडाको अधिवेशनमा विवाद भएपछि मन्त्री सिंह मतदान स्थल पुगेका थिए।  पुगेका र सोही क्रममा स्थानीय कांग्रेस कार्यकर्ता र मन्त्रीबीच विवाद भएको थियो। विवाद भएपछि मन्त्रीका अंगरक्षकले एक राउन्ड गोली चलाएको प्रत्यक्षदर्शीले बताए। 

अचलगढमा बलरा नगरपालिका– ९ नम्बर वडाको अधिवेशनको तयारी भए पनि पूर्ववडा सभापति मतदान स्थलमा उपस्थित नभएपछि निर्वाचन प्रक्रिया नै अन्योलमा परेको थियो। सोही अवस्थामा मन्त्री सिंह केही कार्यकर्ता लिएर मतदान केन्द्र पुगेका थिए। लगत्तै स्थानीय कांग्रेस नेता तथा कार्यकर्ताले उनलाई मतदानस्थलमा जान रोकेका थिए। त्यसपछि स्थानीय प्रशासनको सहयोगमा मतदानस्थल प्रवेश गरेका उन्ले मतदान अधिकृतलाई आफ्नो ढंगले प्रक्रिया अगाडि बडाएको आरोप लगाउँदै गाली गलौज गरेको प्रत्यक्षदर्शीको भनाइ छ। 

मतदान अधिकृतलाई गालीगलौज गर्दै मतदानस्थलको टेबल–कुर्सी फाल्न थालेपछि स्थानीय कांग्रेस नेता–कार्यकर्ता मन्त्री सिंह र उनीसँगै गएका कार्यकर्तामाथि जाइलागेका थिए। सोही क्रममा सिंहसँगै रहेका उनका अंगरक्षक प्रहरी हवल्दार रामचन्द्र खंगले एक राउन्ड गोली चलाएका हुन्। त्यसपछि भिड तितरबितर भएको प्रहरीले जनाएको छ। भिडले प्रहार गरेको कुर्सीले लागेर प्रहरी हवल्दार खंगको टाउकोमा समेत चोट लागेको छ। यस्तै, सोही क्रममा मन्त्रीसँगै गएका अर्का एकजना कांग्रेस कार्यकर्ता रामचन्द्र महतोसमेत घाइते भएको प्रहरी जनाएको हो। 

यता मन्त्री सिंहले प्रतिनिधिसभाका सांसद अमरेश सिंह पक्षका केही मानिसले मतदानस्थल कब्जा गर्न खोजेको आरोप लागाए। सोही कुरा थाहा पाएर पुग्दा आफूलाई मतदानस्थलमा प्रवेशसमेत नदिएको उनको भनाइ थियो। मतदान अधिकृतलाई समेत डरत्रासमा परेर आफूखुसी अधिवेशन गरेको कुरामा असहमति जनाउँदा आफूमाथि आक्रमणको प्रयास भएको उनले दाबी गरे। 

निर्वाचन प्रक्रिया अगाडि बडाउन नपाएको बलरा नगरपालिका– ९ नम्बर वडाको अधिवेशन स्थगित भएको जिल्ला निर्वाचन अधिकृत भरत राउतले जानकारी दिए। विवाद भएपछि बलरा नगरपालिका– ८ नम्बर वडाको समेत अधिवेशन रोकिएको छ। दुवै स्थानमा जिल्लास्तरको नेताहरूसँगको छलफलपछि निर्णय लिइने उनले जानकारी दिए। 

प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह, प्रधानमन्त्री एवं पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवा समूहका मानिन्छन्। सर्लाहीमा लामो समयदेखि जिल्ला सभापति नागेन्द्रकुमार राय संस्थापन पक्ष र इतर पक्षका पूर्व जिल्ला सभापति लक्ष्मण रायबीच टकराव रहँदै आएको छ।