मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
दशरथ रंगशालामा फ्रेन्ड्सविरुद्ध नवप्रवेशी सातदोबाटोका खेलाडी हेडिङ गर्ने प्रयासमा । तस्बिर : नयाँ पत्रिका
२०७८ मङ्सिर ४ शनिबार ०७:०१:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

ए डिभिजन लिग ०७८ :  उद्घाटन खेल गोलरहित बराबरीमा

Read Time : > 3 मिनेट
२०७८ मङ्सिर ४ शनिबार ०७:०१:००

सहिद स्मारक ए डिभिजन लिग २०७८ को उद्घाटन खेल गोलरहित बराबरीबाट सुरु भएको छ । लिगको इतिहासमै शुक्रबार पहिलोपटक फ्लर्ड लाइटमा सम्पन्न खेलमा नवप्रवेशी सातदोबाटो तथा फ्रेन्ड्स क्लबले १–१ को बराबरी खेलेका हुन् । दुवै क्लबले समान एक अंक बटुलेका छन् । दश खेलाडीमा सीमित भएको फ्रेन्ड्सविरुद्ध सातदोबाटोले फाइदा लिन सकेन । खेलको ७६औँ मिनेटमा फ्रेन्ड्सका रोनियल एन्थोनी दोहोरो पहेँलो कार्ड व्यहोर्दे मैदान छाडेका थिए । 

त्यसपछि फ्रेन्ड्सले बाँकी समय दश खेलाडीमै रही प्रतिस्पर्धा गरेको थियो । खेलको ६१ओँ मिनेटमा एन्थोनीले पहिलो कार्ड खाएका थिए । माथिल्लो डिभिजनमा सातदोबाटोको पहिलो अनुभव थियो । तर, सातदोबाटोले ‘ललितपुर डर्बी’मा फ्रेन्ड्सविरुद्ध उत्कृष्ट प्रदर्शन गर्‍यो । ए डिभिजन लिगकै अनुभवी प्रशिक्षक मेघराज केसीको प्रशिक्षणमा रहेको सातदोबाटो खेलको कुनै पनि समय कमजोर देखिएन । पाटनकै पुरानो क्लबमध्ये एक तथा ए डिभिजन खेलमा धेरै अनुभव बटुलिसकेको फ्रेन्ड्स सातदाबोटोविरुद्ध आफ्नो स्वाभाविक खेल पस्कन सकेन । 

सातदाबोटोका प्रशिक्षक केसीले लिगको पहिलो खेलमा स्पष्ट तीन अंकका लागि प्रतिस्पर्धा गरेको बताए । एक अंकमा सीमित हुँदा पनि उनी खुसी नै देखिन्थे । ‘हाम्रो लक्ष्य तीन अंक थियो, तर ए डिभिजन लिगको पहिलो खेलमा हामी खाली हात फर्कनुपरेन,’ उनले भने, ‘केही अनुभवमा कमी देखियो ।’ फ्रेन्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले आफ्नो टोली अभागी भएको बताए । 

‘राम्रो तयारीका बाबजुद फ्रेन्ड्सले जित निकाल्न सकेनौँ,’ मिश्रले भने, ‘पोस्टमा बल लागेर फर्कनु तथा दश खेलाडीमा रहनु नै दुर्भाग्य थियो ।’ सातदोबाटोले सुरुवातदेखि नै फ्रेन्ड्समाथि दबाब राखेको थियो । खेलको ११औँ मिनेटमा सातदोेबाटोका कप्तान मानबहादुर तामाङको पासमा सुशील राईले डिबक्सबाट सहज अवसर खेर फालेका थिए । खेलको १९औँ मिनेटमा सातदोबाटोका आकाश बुढामगरको फ्रिकिक क्रसबार हुँदै बाहिरिएको थियो । पहिलो हाफमा फ्रेन्ड्स सेट नभएका कारण नै सातादोबाटोका डिफेन्डरले त्यति डरलाग्दो पोस्ट चार्जको सामना गर्नुपरेन । 

फ्रेन्ड्सका दुई प्रहार बारमा
मध्यान्तरपछि फ्रेन्ड्सले खेलमा सुधार ल्यायो । खेलको ५७औँ मिनेटमा सातदोबाटोका कप्तान मानबहादुरको प्रहारलाई फ्रेन्ड्सका गोलरक्षक राहुलले पन्च गर्दै टोलीलाई गोल हुनबाट जोगाए । यसअघि सातदोबाटोका मार्टिन्स अजयीले सानो डिबक्सबाटै गोल गर्न चुकेका थिए । दोस्रो हाफमा फ्रेन्ड्सका दुई प्रहार क्रसबारमा लागेको थियो । खेलको ५९औँ मिनेटमा फ्रेन्ड्सले निकै सुन्दर अग्रता लिने अवसर गुमाएको थियो । सकल रेग्मीले डिबक्सभित्रबाट प्रहार गरेको बल क्रसबारमा लागेको थियो । खेलको ६०औँ मिनेटमा फ्रेन्ड्सका प्रशान्त अवस्थीको फ्रिकिक पनि बारमै लागेको थियो । 

यसैगरी खेलको ६६औँ मिनेटमा फ्रेन्ड्सका विदेशी खेलाडी एन्थोनिले डिबक्सभित्रबाट प्रहार गरेको बललाई सातदोबाटोका गोलरक्षक अभिषेकले क्लियर गरे । खेलको ७३औँ मिनेटमा सातदोबाटोका पासाङ लामाले सशक्त प्रहारलाई फ्रेन्ड्सका गोलरक्षक राहुलले एक हातले पन्च गरी बचाएका थिए । खेलको ८२औँ मिनेटमा सातदोबाटोका नीरज चौधरीले दुईपटकसम्मको प्रयासमा पनि टोलीलाई अग्रता दिलाउन सकेनन् । उनको पहिलो प्रयासलाई फ्रेन्ड्सका गोलरक्षक राहुल यादवले छेकेका थिए । गोलरक्षक यादवबाट रिवाउन्ड भएको बललाई चौधरीले दोस्रोपटक प्रहार गर्दा बारभन्दामाथि गएको थियो । 

८८औँ मिनेटमा सातदोबाटोले अर्को मौका गुमायो । सुशीलले फ्रेन्ड्सको डिफेन्स चिर्दै दिएको पासलाई प्रशान्तले सदुपयोग गर्न सकेनन् । उनले डिबक्सभित्रबाट प्रहार गरेको बल राहुलले सहजै बचाए । खेलको अन्तिम इन्जुरी समयमा सातदोबाटोले अर्को राम्रो गोल अवसर खेर फाल्यो । सुशील राईको सटिक प्रहारलाई फ्रेन्ड्सका कप्तान सुरजले गोल लाइनबाट बल क्लियर गर्दै आफ्नो टोलीलाई शतप्रतिशत हारबाट जोगाए । 

मनाङको टोली घोषणा
लिगमा मनाङ मस्र्याङ्दी सर्वाधिक सफल क्लब हो । मनाङले अहिलेसम्म सातपटक लिगको उपाधि उचालेको छ । आठौँपटक उपाधि जित्ने लक्ष्यका साथ मनाङले टोली घोषणा गरेको छ । राष्ट्रिय टोलीका स्ट्राइकर अन्जन विष्टको कप्तानीमा मनाङले २३ सदस्यीय टोली घोाषणा गरेको हो । यसपटक मनाङले नयाँ खेलाडीलाई अनुबन्ध गरेको छ । गोलरक्षकमा विशाल सुनार, अशोक बराल र तोपबहादुर राना छन् । विमल राना, निशान लिम्बु, पुजन उपरकोटी र आदित्य चौधरीले यसपटक पनि मनाङबाटै लिग खेल्नेछन् । मनाङले विदेशी खेलाडीमा ओलावाले आफिज, भारतीय मिडफिल्डर दयानन्द सिंह एलाब्गम टोलीमा समावेश गरेको छ । यसैगरी राष्ट्रिय टोलीका डिफेन्डर दिनेश राजवंशी र मिडफिल्डर नितिन थापा मनाङमै समेटिएका छन् । पूर्वखेलाडी राजेन्द्र तामाङलाई प्रशिक्षणको जिम्मेवारी दिइएको छ । 

खेलपछि प्रशिक्षक भन्छन्

अनुभवको कमी रह्यो : मेघराज केसी, सातदोबाटो
लिगमा हाम्रो यो पहिलो खेल थियो । यद्यपि हामी तीन अंक बटुल्ने लक्ष्यका साथ आएका थियौँ । तर, एक अंकमै सीमित भयौँ । खेलको विश्लेषण गर्ने हो भने सातदोबाटोले तीन अंक पाउनुपर्ने थियो । आजको खेलमा अनभुव नै कमी जस्तो लाग्यो । पहिलोपटक धेरै खेलाडीका लागि ए डिभिजन लिग पहिलोपटक नै थिए । यस कारण नै उनीहरूमा अनुभव कम भएको जस्तो लाग्यो । फ्रेन्ड्सका गोलरक्षकले उत्कृष्ट प्रदर्शन गरे । आउँदो दिनमा हामी राम्रो प्रदर्शन गछौँ र कमीकमजोरी सच्याउँछोँ । खेलाडीले अभ्यासमा देखाएको क्षमता फ्रेन्ड्सविरुद्ध ५० प्रतिशत दिएनन् । 

दोस्रो हाफमा राम्रो खेल्यौँ : मृगेन्द्र मिश्र, फ्रेन्ड्स
लिगका लागि हामीले जुन किसिमले तयारी गरेका थियौँ । त्यसअनुसार सातदोबाटोविरुद्ध खेल भएन । पहिलो हाफमा राम्रो खेल्न सकेनौँ । यसविपरीत दोस्रो हाफ राम्रो भयो । खेलमा फ्रेन्ड्स अभागी नै भयो । हाम्रा दुई प्रहार बारमा लागेर फर्किए । फेरि दोस्रो हाफमा दश खेलाडीमा सीमित हुनु अर्को नराम्रो पक्ष रह्यो । सातदोबाटो राम्रो टोली हो । लिगमा नयाँ टोली हो । उनीहरूमा जोस र जागर छ । आज मैले दुई खेलाडीलाई माथिल्लो डिभिजनमा डेब्यु गराएँ । हाम्रो मुख्य लक्ष्य नै नयाँ खेलाडीलाई मौका दिँदै अनुभवी बनाउने हो । 

मच्छिन्द्रलाई पेप पिज्जाको साथ 
साविक विजेता मन्छिन्द्र क्लबलाई लगातार दोस्रो वर्ष पेप पिज्जाले साथ दिने भएको छ । पेप पिज्जाले मच्छिन्द्रलाई मुख्य प्रायोजकका रूपमा दोस्रो वर्ष पनि सम्झौता गरेको छ । यसैगरी, सर्फ एक्सेल मच्छिन्द्रको सहप्रयोजक बनेको छ । क्लबले शुक्रबार एक कार्यक्रमका बीच लिगमा टोलीले लगाउने जर्सीसमेत सार्वजनिक गरेको हो । मच्छिन्द्रको स्पोर्टस् किट पार्टनरका रूपमा टी–१० स्पोर्टस् र फुटवेयर पार्टनरमा म्याजिक फुटवेयर रहेको छ । गत वर्ष लिगकै अन्तिम खेलमा मच्छिन्द्रले त्रिभुवन आर्मीलाई हराउँदै पहिलोपटक लिग उपाधि जितेको थियो । यस वर्ष लिग उपाधि रक्षा गर्ने निमित्त नै मच्छिन्द्रले राष्ट्रिय टोलीका स्टार खेलाडीलाई अनुबन्ध गरेको छ । मच्छिन्द्रले सोमबार लिगको पहिलो खेलमा न्युरोड टिम (एनआरटी)को सामना गर्नेछ ।