१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
प्रकाशमान सिंह
२०७८ मङ्सिर ३ शुक्रबार ०७:४०:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सुदृढ लोकतन्त्रका लागि सुदृढ कांग्रेस

Read Time : > 5 मिनेट
प्रकाशमान सिंह
२०७८ मङ्सिर ३ शुक्रबार ०७:४०:००

महाधिवेशन वा चुनावमा मात्र सक्रिय भएर पार्टी जीवन्त हुन सक्तैन, बाह्रै महिना सक्रिय बनाउनुपर्छ 


कम्युनिस्ट बलियो अनि कांग्रेस कमजोर भएको अवस्थामा पहिलो संविधानसभाले एक थान संविधान दिन सकेन । कांग्रेस सबैभन्दा बलियो पार्टी भएका वेला कांग्रेसकै नेतृत्वमा दोस्रो संविधानसभाले संविधान दियो । त्यसैलाई कार्यान्वयन÷संस्थागत गर्ने एजेन्डा बोकेर चुनावमा जाँदा १६५ संघीय संसदीय क्षेत्रमध्ये २३ सिटमा मात्र कांग्रेस किन ? उपलब्धि हाम्रै नेतृत्वमा हासिल हुने, तर संस्थागत गर्ने वेला हाम्रो शर्मनाक हार हुने अनि कम्युनिस्टहरू झन्डै दुईतिहाइले आउने । यस्तो नतिजा आउनुमा नेतृत्व (पार्टी सभापति)को कमजोरी छ, तर उहाँ मान्न तयार हुनुहुन्न । 

चुनावमा मतदाताले पार्टी मात्र हेर्दैन, चुनाव जिताएपछि सरकार कसको नेतृत्वमा बन्छ भन्ने पनि सोचिरहेको हुन्छ । यसरी सोच्दा मतदाताले शेरबहादुर देउवालाई विश्वास गर्न नसकेकै हो, नरुचाएकै हुन् । कांग्रेसको १३औँ महाधिवेशनबाट निर्वाचित भएपछि देउवाले तदनुरूप आस जगाउन सकेनन् । पार्टीको विधानले महाधिवेशन भएको दुई महिनाभित्र पार्टीका विभागहरू गठन गर्नुपर्छ भन्थ्यो । दुई महिना हैन, दुई वर्ष पनि होइन, चार वर्षमा पनि विभागहरू गठन हुन सकेनन् । यस्तो नेतृत्वमा सरकार बनेर राम्रो काम हुुन्छ भनेर मतदाताले कसरी पत्याउँछ ? नेतृत्व कमजोर भएको हुँदा कांग्रेस कमजोर देखियो अनि कम्युनिस्टहरूले संविधानमाथि घन बजार्न थाले । प्रतिनिधिसभाको असंवैधानिक विघटन त्यो पनि दुई–दुईचोटि, चानचुने कुरा हो ? यसबाट बुझ्नुपर्‍यो, कांग्रेस कमजोर हुनासाथ लोकतन्त्रमाथि खतरा आउँछ । यसैले लोकतन्त्र जोगाउन पनि कांग्रेस जोगाउनुपर्‍यो । कांग्रेस जोगाउन तदनुरूपको नेतृत्व चौधौँ महाधिवेशनबाट आउनुपर्‍यो । 

आमचुनावमा पराजित भएपछि पार्टीका महामन्त्री (डा. शशांक कोइराला)ले सर्वसम्मत संसदीय दलको नेता हुने इच्छा जाहेर गर्नुभएको थियो । ‘देउवालाई मनाउनुस्, हामी त तयार छौँ, तर देउवा नै संसदीय दलको नेता बन्ने हो भने चाहिँ सर्वसम्मत हुन दिँदैनौँ, चुनाव जितेर बन्नुपर्छ’ भनेको हो । शेरबहादुरजी राजनीतिको माहिर खेलाडी, अरूलाई नेता बन्न किन दिनुहुन्थ्यो । ‘मैले बोलेको मै बुझ्दिनँ, अरूले के बुझ्ला’ भनेर आफैँमाथि जोक गर्ने देउवाको बोली नबुझिएला, तर राजनीतिको एकदम चतुर ‘मास्टर मेनुपुलेटर’ हो । अरूको चाहना के छ, कमीकमजोरी के छन्, कसरी प्रभाव पार्न सकिन्छ, बुझेर ट्याक्कै काम निकाल्न सक्नुहुन्छ ।

त्यो सम्झिँदा त उहाँकै ज्योतिषीको भविष्यवाणी (सातचोटि प्रधानमन्त्री) पूरा हुन्छ कि क्या हो जस्तो पनि लाग्छ । पाँचचोटि त भइसक्नुभयो । तर, सभापति चतुर भएर के गर्नु, पार्टीको बेहाल छ । मान्छेहरू बिपी/गणेशमानले बनाएको पार्टी, यस्तो पाराले नि कहीँ चल्छ भनेर प्रश्न गर्छन् । पञ्चायतविरुद्ध लडेका, कुनै पदमा नरहेका त्यागीहरू झनै चिन्तित छन् । यस्तै त्यागीहरूले ‘अब तिमी नै अघि नबढी हुँदैन’ भनेर हौस्याएकाले पार्टी सभापतिमा उम्मेदवार हुने निधो गरेको हुँ । मौका आएको छ, सही नेतृत्व छनोट गरे पार्टी पुनश्चः बलियो हुनेछ, नत्र असान्दर्भिक भएर जानेछ । त्यो जमानामा राणाविरुद्ध संघर्ष गरेको, चार सहिदको रगतले सिँचिएको प्रजा परिषद् आज कहाँँ छ ? यसैले कांग्रेसको अवस्था कहिल्यै त्यस्तो हुँदैन भनेर ढुक्क नबसौँ ।

झन्डै दुईतिहाइ बहुमतको कम्युनिस्ट सरकारले के गर्‍यो त भन्दा संघीय कानुनहरू नै बनाइदिएन । यसैले संघीयताको जरा मजबुत हुन सकिराखेको छैन । प्राप्त अधिकार सुरक्षित रहने ग्यारेन्टी गरौँ । संघीयता संस्थागत गरौँ । हरेक नेपालीलाई जीविकोपार्जनमा स्तरोन्नति चाहिएको छ । यसका लागि उचित आर्थिक नीति अपनाउनुपर्‍यो, त्यसका लागि पहिले कांग्रेस ठीक हुनुपर्‍यो । कांग्रेस देखिनुपर्‍यो । कांग्रेसको रोग कस्तो छ भन्दाखेरि महाधिवेशन वा चुनाव आएपछि जताततै कांग्रेसी देखिन्छन् ।

कार्यक्रम सकिएपछि दूरबिन लगाएर हेर्दाखेरि अलिअलि त्यो पनि कतै ए, कतै बी त कतै सी कांग्रेस देखिन्छ, नेपाली कांग्रेस त कहाँ हो कहाँ ! महाधिवेशन वा चुनावमा मात्र सक्रिय भएर पार्टी जीवन्त हुन सक्तैन । बाह्रै महिना सक्रिय बनाउनुपर्छ । वैचारिक रूपमा लोकतान्त्रिक र समयसापेक्ष कांग्रेस आफैँमा राम्रो पार्टी हो । विचारधाराका लागि संघर्षको गौरवपूर्ण इतिहास छ । डेलिभर गर्नै नसकेको पनि त होइन । संविधान पछिल्लो उदाहरण हो । कम्युनिस्टले नसकेको काम कांग्रेस नेतृत्वमा छँदा डेलिभर भएको हो । तैपनि, संस्थागत भएर पर्याप्त परफर्म गर्न सकिराख्या छैन । 

०१७ सालको ‘कु’ हुँदा ५–६ वर्षको थिएँ । सिद्धान्त र आदर्शको राजनीति गर्नेले कति हण्डर खान्छन् भन्ने त भोगेर हुर्केको हुँ । गणेशमान–मंगलादेवीको छोराले त कत्रो कष्ट भोगेको छ भने जिल्ला–जिल्ला, गाउँ–गाउँमा कांग्रेसको अलख जगाउने परिवारले कति कष्ट भोगेको होला, कति आँसु र पसिना पार्टीमा सिँचेको होला, सम्झिँदा मात्र पनि भावुक हुन पुग्छु । मैले नै भर्‍याङ लगाएर पोस्टर टाँसेको छु, भित्तेलेखन गरेको छु । अरूले झन् कति पसिना बगाए होलान् ? नेविसंघको केन्द्रीय नेतृत्वमा पुग्ने सम्भावनाका बाबजुद जिल्लाको राजनीति रोजेँ । जनआन्दोलनमा काठमाडौंको आन्दोलन संयोजन गरेँ । विभिन्न जिम्मेवारीमा काम गरेँ । अनुभव छ, भोगेको छु । म साधारण कार्यकर्ताबाट माथि उक्लिँदै गिरिजाप्रसाद कोइराला सभापति छँदा उपसभापति भइसकेँ । कांग्रेसको पहिलो निर्वाचित महामन्त्री मै । संसदीय दलको उपनेता भइसकेँ । ज्ञानेन्द्रले सत्ता लिएपछि शाही आयोग गठन गरियो ।

वैचारिक रूपमा लोकतान्त्रिक र समयसापेक्ष कांग्रेस आफैँमा राम्रो पार्टी हो । विचारधाराका लागि संघर्षको गौरवपूर्ण इतिहास छ । डेलिभर गर्नै नसकेको पनि त होइन । संविधान पछिल्लो उदाहरण हो । कम्युनिस्टले नसकेको काम कांग्रेस नेतृत्वमा छँदा डेलिभर भएको हो ।

बोल्न डराएर मान्छे थुरुथुरु थिए । कुरामा क्रान्तिकारी सुनिने कम्युनिस्टहरू बयान दिन लुरुलुरु शाही आयोग जाँदै थिए । सबभन्दा पहिला मै बोलेँ । शेरबहादुर देउवाले पञ्चायतविरुद्ध गणेशमानको परिवारले हण्डर खाएको सम्झाउँदै अब फेरि हण्डर खान निहुँ नखोज्नु भनेर शाही आयोगविरुद्ध नबोल्न सचेत गराएका थिए । मैले टेरिनँ । दशौँ महाधिवेशन पोखरामा गर्ने भनेर मिति घोषणा भइसकेपछि १६ वटा जिल्ला कार्यसमिति भंग गर्ने केन्द्रीय कार्यसमितिको निर्णयविरुद्ध अभियानै छेडियो । गिरिजाप्रसाद कोइराला जस्तो महान् पार्टी सभापतिले कार्यसमितिबाटै निर्णय गराएको कदमलाई चुनौती दिने भन्दै भजनमण्डलीले मेरो अभियानलाई ख्यालठट्टामा उडाउन नखोजेको होइन । जिल्ला कार्यसमिति नै भंग गर्दिएको हुनाले महाधिवेशनमा केन्द्रीय सदस्यमा उठेँ । शैलजा आचार्य र रामचन्द्र पौडेलपछि सबैभन्दा धेरै भोट ल्याएर जितेपछि जिल्लाबाट केन्द्रीय राजनीतिमा प्रवेश भयो । 

उहिले रत्नपार्कमा बसेर कान दुखेको, आँखा बिझेको, नाक दुखेको जे भए पनि हिमालय तेल भने जस्तै कांग्रेसका सबै रोगको निदान हो, यसको सिस्टमलाई संस्थागत गर्ने । विधिसम्मत तवरले चलाउने । यसका लागि नेतृत्व उचित हुनुपर्‍यो । चौधौँ महाधिवेशन हुनासाथ सबै ६ हजार ७४३ वडा समितिलाई कार्यक्रम दिइनेछ । वडाले सबैभन्दा पहिले स्थानीय शिक्षक, बुद्धिजीवी, सामाजिक अभियन्ता आदि सहभागी कार्यक्रम आयोजना गरी अबको कांग्रेसको दिशाबारे गहन छलफल गरी लिखित सुझाब पालिका समितिलाई दिनेछ । सबै ७५३ पालिका समितिले पालिकास्तरमा छलफल गरी ३३० प्रदेश निर्वाचन क्षेत्र समिति र १६५ संघीय निर्वाचन क्षेत्र समितिमा पठाउनेछ । ७७ जिल्ला समितिले फेरि स्थानीय अर्थशास्त्री, योजनाविद् आदि सम्मिलित कार्यक्रम गरी तलबाट आएको प्रतिवेदनलाई अपडेट गरी प्रदेश एकाइमा फरवार्ड गर्नेछ । प्रदेश समितिले फेरि गहन छलफल गरी तलबाट आएको प्रतिवेदन अपडेट गरी केन्द्रमा पठाउनेछ । केन्द्रले त्यसमा बृहत् छलफल गरी फाइनल गरेर स्थानीय चुनावअघि नै प्रतिज्ञापत्र तयार पार्नेछ । 

पार्टीमा आबद्ध, शुभेच्छुक, विज्ञ आदि गरी लाखौँको सहभागितामा लेखिएको प्रतिज्ञापत्रले बेरोजगारी, असमानता, शिक्षा, स्वास्थ्य, कृषि आदि सबै नीतिमा मार्गनिर्देश गर्नेछ । कृषिप्रधान देश भन्या छ, हरेक वर्ष खेतीकै वेला मल अभाव हुन्छ । अब दीर्घकालीन नीति तय नगरी हुन्न । तेह्रौँ महाधिवेशन नेतृत्वले कुनै कार्यक्रमै दिन आवश्यक ठानेन । ‘खालि आफ्नै नेतालाई खुइल्याउन खोज्छ’ भनेर भजनमण्डली मेरो विरोध गर्छन् । मलाई शेरबहादुरविरोधीको रूपमा चित्रित गर्ने प्रयत्न पनि भएको छ । गर्न नहुने काम गर्‍या छ, गर्नुपर्ने काम गर्‍या छैन, सच्याउन दबाब दिनु पनि कहीँ खुइल्याउनु हुन्छ र ? हामी त राजनीति सेवा हो भन्ने बिपी, गणेशमानको स्कुलिङबाट आएका हौँ । अहिले त सेवा कता पुग्यो कता, खालि मेवा खाने दाउमा छन् । मेवा अति खाएपछि जे हुने गर्छ, त्यही भइराख्या छ ।

मरेँ भने हो पार्टी सभापतिमा मेरो उम्मेदवारी नपर्ने, नभए उम्मेदवारी त पर्‍यो पर्‍यो । अब अगाडि बढ्यो बढ्यो भनेर होला मेरा विरुद्ध दुष्प्रचार सुरु गरिएको छ । हालै ‘काठमाडौंबाहिर कसले पो चिन्छ र’ भनेछन् । कसले चिन्छ भन्ने त दशौँ महाधिवेशनमै देखिएको हो, बाह्रौँ महाधिवेशनमा पनि देखियो । अझ पुग्या छैन भने आगामी महाधिवेशनमा पनि देखाऔँला । प्रकाशमानको भोटै छैन भन्छन् । खुला प्रतिस्पर्धा गरौँ, भोट कसको छ, कसको छैन थाहा भइहाल्छ । देश देखेकै छैन पनि भन्दिया छन् । प्रतिबन्धित कालमै गणेशमानजी, किशुनजी, गिरिजाबाबुसँग देशदौडाहाहरू गरेँ । त्यो अझै पनि जारी छ ।

अहिलेको जस्तो फलानो ठाउँमा पुगेँ भनेर फेसबुकमा फोटा नराखे घरको घरै बसेको मानिने हो र ? ७७ जिल्ला त घुमेकै छु । नेवारलाई मात्र माया गर्छ भन्ने अर्को दुष्प्रचार छ । नेवारीमा ‘ओल ओल’ भन्छ, अर्थात् ‘आयो आयो’ । तर, के आयो के आयो, थाहा छैन । हो त्यस्तै ओल ओल गर्न खोजिएको छ । तर, यसमा दुःखी छैन, खुसी छु– बलियो उम्मेदवार भएर न आक्रमण गर्‍या हुन्, कमजोर भएको भए कसले कुरा काट्थ्यो र ! सुदृढ लोकतन्त्रका लागि सुदृढ कांग्रेस, सुदृढ कांग्रेसका लागि सबल नेतृत्व, सबल नेतृत्वमार्फत नागरिकको जीविकोपार्जनमा स्तरोन्नति हुनेखाले आर्थिक कार्यक्रममा काम अनि सुशासन । मेरा एजेन्डा यिनै हुन् । 

हामी त राजनीति सेवा हो भन्ने बिपी, गणेशमानको स्कुलिङबाट आएका हौँ । अहिले त सेवा कता पुग्यो पुग्यो, खालि मेवा खाने दाउ । मेवा अति खाएपछि के हुन्छ ? (सिंहले बिहीबार पत्रकार भेटघाटमा व्यक्त गरेका विचारमा आधारित)