एमालेको दशौँ महाधिवेशनका लागि प्रतिनिधि छनोटको विषयलाई लिएर कैलालीमा विवाद देखिएको छ । एकलौटी रूपमा प्रतिनिधि छनोट गरिएको भन्दै क्षेत्र नम्बर २ र ५ का नेताहरूले सार्वजनिक रूपमै विरोध र तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।
क्षेत्र नम्बर २ मा उम्मेदवारलाई पाखा लगाएर एकलौटी रूपमा प्रतिनिधि घोषणा गरिएको भन्दै नेताहरूले निर्वाचन समितिसमक्ष ध्यानाकर्षणपत्र बुझाएका छन् । महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका १२ जनाले निर्वाचन कार्यतालिकाअनुसार प्रतिनिधि छनोटको प्रक्रिया अगाडि बढाउन माग गरेका हुन् ।
निर्वाचन समितिले उम्मेदवारलाई अन्योलमा राखेर निर्वाचन प्रक्रिया अगाडि नबढाएर एकलौटी रूपमा प्रतिनिधि घोषणा गरिएको उनीहरूको आरोप छ । महाधिवेशन प्रतिनिधिका उम्मेदवारहरू महादेव बजगाईं, सूर्यबहादुर थापा, रूपबहादुर रावल, मनोज थ्यात, लालबहादुर बोगटी, वीरेन्द्र रावल, खरप्रसाद अधिकारी, दलबहादुर रावल, बसुन्धरा भण्डारी, गंगा थापा, यज्ञराज ढुंगाना र दलबहादुर थापाले छनोटप्रति संयुक्त रूपमा गम्भीर असहमति जनाएका छन् ।
प्रक्रियाविपरीत एकलौटी रूपमा प्रतिनिधि घोषणा गरिएको भन्दै असन्तुष्ट पक्षले निर्वाचन प्रक्रियाद्वारा प्रतिनिधि छान्ने तयारी गरेको छ । ‘भोलि बिहान हामीले भेला बोलाएका छौँ । प्रक्रियामा गएर उम्मेदवार छान्छौँ ।’ जिल्ला समन्वय समिति कैलालीका संयोजकसमेत रहेका उम्मेदवार सूर्यबहादुर थापाले भने, ‘उम्मेदवारी दर्ताको शुल्क लिएर अन्तिम नामावलीसमेत प्रकाशित भइसकेको अवस्थामा उम्मेदवारलाई थाहै नदिएर प्रतिनिधि छनोटको घोषणा गरेको हामीलाई मान्य हुँदैन ।’
निर्वाचन हार्ने डरले जिल्ला अध्यक्ष रतन थापासहितका नेताहरूले धनगढीमा गएर प्रतिनिधि घोषणा गरेको उनको आरोप छ । नौजना महाधिवेशन प्रतिनिधिका लागि ४३ जनाले उम्मेदवारी दिएका थिए । दुई दिनसम्म सहमतिको प्रयास सफल हुन नसकेकाले निर्वाचनका माध्यमबाट प्रतिनिधि छनोट हुनुपर्ने आफूहरूको माग रहेको थापाले बताए ।
क्षेत्र नम्बर २ बाट जिल्ला अध्यक्ष रतन थापा, डेजी पाण्डेय, दलबहादुर बिष्ट, नरबहादुर खड्का, कमला ओली, टीका थापा, पदमपुरा साउद, गजेन्द्र स्वाँर र धरमबहादुर थापामगर महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भएको एमाले कैलालीले जनाएको छ ।
क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधिका उम्मेदवारसमेत रहेका लम्कीचुहा नगरपालिकाका मेयर बजगाईंले अराजक, विधि, पद्दति नमान्ने तत्वले एकलौटी रूपमा प्रतिनिधि छनोट गरेको बताए । प्रतिनिधि छनोटका लागि बुधबार बोलाइएको भेलामा सहभागी हुन उनले एमालेका संगठित सदस्यहरूलाई सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन् ।
क्षेत्र नम्बर ५ मा पनि प्रतिनिधि छनोटलाई लिएर तीव्र असन्तुष्टि देखिएको छ । प्रतिनिधिका चारजना उम्मेदवारले क्षेत्र नम्बर ५ मा महाधिवेशन प्रतिनिधि छनोटप्रति विरोध जनाएका छन् । शम्भु कुँवर, तेजबहादुर रावल, मिठु कुँवर र तारा कलेलले संयुक्त विज्ञप्तिमार्फत प्रतिनिधि छनोटप्रति विरोध जनाएका हुन् ।
आगामी १० देखि १२ मंसिरमा चितवनमा हुन गइरहेको एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि क्षेत्र नम्बर ५ मा गत शनिबार प्रतिनिधि छनोट गरिएको थियो । यस क्षेत्रबाट एमाले जिल्ला उपाध्यक्ष रणबहादुर चन्द, धर्मराज पाठक, जीवन बम, डिल्लीराज खड्का, राजेश खाती, झुमा चौधरी र छाया थापा निर्विरोध प्रतिनिधिमा चयन भएका छन् । जनताको बहुदलीय जनवादलाई सिद्धान्तको रूपमा अंगीकार गरेको पार्टीले आन्तरिक प्रतिस्पर्धा गर्न, गराउनबाट वञ्चित गराउने कार्य जनताको बहुदलीय जनवादकै खिलाप रहेको असन्तुष्ट उम्मेदवारहरूले जनाएका छन् ।
महाधिवेशनका लागि कैलालीबाट ४४ जना प्रतिनिधि छनोट भएका अध्यक्ष थापाले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । अन्य क्षेत्रमा सहमतिका आधारमा र क्षेत्र नम्बर चारमा निर्वाचन पक्रियाबाट प्रतिनिधि चयन गरिएको एमालेले जनाएको छ । एमालेमा दशबुँदे सहमति पक्षधर नेताहरूलाई पाखा लगाएर प्रतिनिधि चयन गरिएको हो ।