१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १६ मंगलबार
  • Thursday, 04 July, 2024
मञ्जु टेलर काठमाडौं
२o७८ कार्तिक १६ मंगलबार o८:२o:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
पालिका अपडेट प्रिन्ट संस्करण

२० प्रतिशत विरामीमा लामो समयसम्म कोभिड

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक १६ मंगलबार o८:२o:oo

चिकित्सकहरूका अनुसार अस्पतालसम्म पुग्ने करिब २० प्रतिशत बिरामीमा पाँच साताभन्दा बढी समय कोभिडको समस्या देखिन थालेको छ

कोभिडविरुद्धको खोप लगाइसकेका हेटौँडाका ३६ वर्षीय एक पुरुषमा पजिटिभ देखिएपछि अस्पताल भर्ना भए । संक्रमणको साता दिनपछि गम्भीर लक्षण देखिएपछि उनी उपचारका लागि ललितपुरको आनन्दवन अस्पताल भर्ना भएका थिए । चिकित्सकका अनुसार, श्वासप्रश्वासको गम्भीर समस्या देखिएकाले उनलाई अक्सिजन दिएर राखियो । अस्पताल बसेको एक सातापछि उनकी श्रीमती र छोरीमा पनि संक्रमण पुष्टि भयो । 

उपचारमा संलग्न डा. सन्तोष दुलालका अनुसार दुई साताको अन्तरालमा परिवारका अन्य सदस्य निको भए । तर, उनलाई अक्सिजनको सहायतामै राख्नुपर्ने अवस्था बनीरह्यो । ‘उनी लगभग पाँच साताभन्दा बढी अस्पतालमै बसे । त्यतिन्जेलसम्म उनलाई लक्षण नै देखिएका थियो,’ उनले भने । सामान्य कोभिडका लक्षणहरू देखिए पनि पिसिआरमा नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरियो । करिब आठ सातापछि कोभिड निको भएको थियो । 

कोभिड सुरु भएसँगै उपचारका लागि अस्पतालसम्म पुग्ने बिरामीमा पाँचदेखि आठ सातासम्म कोभिड पजिटिभ नै देखिनु सामान्यजस्तै भइसकेको भाइरोलोजिस्टहरू बताउँछन् । चिकित्सकका अनुसार अस्पतालसम्म पुग्नेहरूको तुलना गर्दा लगभग २० प्रतिशत बिरामीमा पाँच साताभन्दा बढी समय कोभिडको समस्या देखिन थालेको छ । 

कोभिड संक्रमणविरुद्धको भ्याक्सिन प्रयोगमा वृद्धि भइरहे पनि संक्रमणसम्बन्धी केही समस्या भने दीर्घकालीन बन्ने जोखिम बढेको छ । जसमध्ये एक हो लामो समयसम्म रहने कोभिड । पछिल्ला विभिन्न क्लिनिकल अध्ययनहरूले कोभिडबाट प्रभावित प्रत्येक पाँचमध्ये एकजनामा कोभिडले दीर्घकालीन असर पार्ने देखाएका छन् । कोभिड संक्रमण भएपछि भाइरससँग लड्न हप्तौँ वा महिनौँ लाग्ने केस बढ्न थालेपछि लामो कोभिडको जोखिम बढेको बताइएको हो । लामो समयसम्म भाइरल संक्रमण र पोस्ट एक्युट सिक्वेल देखिएकामा शरीरका विभिन्न अंगमा असर पार्ने अध्ययनले देखाएको छ । पछिल्लो समय विश्वभर नै देखिएको डेल्टा भेरियन्ट संक्रमणले लामो कोभिड बढिरहेको पाइएको छ । अध्ययनहरूका अनुसार लामो कोभिड देखिनेमध्ये अस्पताल भर्ना नभएका लगभग ५–१० प्रतिशतसम्म र बाँकी ८० प्रतिशत अस्पताल भर्ना भएकाहरू रहेको पाइएको छ । 

अमेरिकी ‘हेल्थ एन्ड ह्युमन सर्भे’ले गरेको पछिल्लो एक सर्वेक्षणले कोभिड संक्रमण भएको दुई महिनापछि पनि कोभिड पजिटिभ नै देखिएको बताएको छ । डेल्टा भेरियन्ट फैलिएपछि कोभिड पजिटिभ तीन सय ६६ जनामा सर्वेक्षण भएको थियो । दुई महिनासम्म पजिटिभ रहेका व्यक्तिहरूमा सुरुवातकै लक्षण, जस्तै श्वास फेर्न गाह्रो हुने, गन्ध थाहा नपाउने, मांशपेसी दुख्ने र कमजोरीपन देखिएको उल्लेख गरेको छ । पछिल्ला अध्ययनले खासगरी कोभिडको संक्रमण दर र मृत्युदर महिलामा कम हुने देखाए पनि लामो समयसम्म रहने कोभिडको जोखिम भने बढी रहेको पाइएको छ । महिनौँसम्म कोभिड संक्रमण पजिटिभ हुँदा मस्तिष्कमा असर पर्ने, महिनावारीमा समस्या आउने, शरीर दुख्ने र कमजोरीपन देखिनेजस्ता समस्या बल्झिँदै गएको सर्वेक्षणले देखाएको छ ।

कुन उमेर समूह बढी प्रभावित ?
४० वर्षभन्दा माथि उमेर समूह र श्वेत समुदायमा लामो कोभिडको जोखिम बढी पाइएको बताइन्छ । उमेर बढ्दै जाँदा हुने कोष विभाजनमा ढिलाइ, रोगसँग लड्ने क्षमता कमजोर हुँदै जानु जस्ता विभिन्न कारणले संक्रमण निको हुन बढी समय लाग्ने चिकित्सकहरू बताउँछन् । योसँगै ‘जिन’का कारणसमेत केही समुदायमा कोभिडले तुलनात्मक रूपमा बढी असर गर्ने बताइन्छ । इम्युनोकम्प्रोमाइज्डले समेत समयमै संक्रमण निको नहुने जोखिम बढाउने गरेको देखिएको छ । यस्ता व्यक्तिहरूका लागि भ्याक्सिनको बुस्टर डोज प्रयोगमा ल्याउन थालिए पनि निकै संवेदनशील हुने अध्ययनले देखाएका छन् ।

भाइरोलोजिस्ट डा.दुलालका अनुसार लामो समयसम्म रहने कोभिडसमेत सबैमा एकैखालको हँुदैन । सामान्यतया कोभिडले कोषिकामा पु¥याएको क्षतिका कारण लक्षणहरू लामो समयसम्म रहिरहन्छन् । अर्थात् कोभिड पूर्णरूपमा निको हुन लामो समय लाग्न सक्छ । यस्ता व्यक्तिमा सामान्य लक्षण देखिन्छन् । यसबाहेक कतिपयमा क्रोनिक समस्याका कारण अस्पताल नै भर्ना भएर बस्नुपर्ने हुन्छ । यस्ता बिरामीमा मांसपेशी दुखाई अत्यधिक हुन्छ । मस्तिष्कले राम्रोसँग काम गर्न नसक्ने वा मनोसामाजिक तनावका कारण पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डरको समस्यासमेत बढ्दै गएको पाइन्छ । पछिल्लो समय विश्वभर पोस्ट आइसियू केयर सिन्ड्रोमका बिरामी बढ्दै गएको अध्ययनले देखाएका छन् । 

यस्तै कतिपयमा कोभिड निको भइसकेपछि पुनः संक्रमण देखिने क्रम चलिरहन्छ । इन्फ्लेमेन्टरी मार्कर र कोषमा पुगेको क्षतिका कारण सामान्यतया यस्तो समस्या देखिने गरेको विज्ञहरू बताउँछन् । यस्तै एकदमै न्यून प्रतिशतमा बालबालिकामा समेत लामो कोभिड देखिने गरेको पाइन्छ । 

वृद्धवृद्धा र दीर्घरोगीमा कोभिड संक्रमण लामो समयसम्म रहन्छ : डा. सन्तोष दुलाल, भाइरोलोजिस्ट
नेपालमा लामो समयसम्म रहने कोभिड प्रभावितहरूमाथि यकिन अध्ययन भएको पाइँदैन । कोभिड पजिटिभ देखिएका लगभग २० प्रतिशतमा संक्रमण निको हुन तीन हप्ताभन्दा बढी समय लाग्ने गरेको पाइन्छ । उमेर, रोग वा अन्य कारणले शारीरिक रूपमा कमजोर व्यक्तिहरू आठ हप्ताभन्दा बढी समय अस्पताल बसेका केससमेत छन् । पिसिआर परीक्षणको समयमा गम्भीर लक्षण देखिएकमा सिटी भ्याल्यु ८ देखि १५ सम्म हुने गर्छ, अर्थात् भाइरल लोड मापन गर्न सकिन्छ । भाइरल लोड धेरै हुँदा सिटी भ्याल्यु न्यून हुने गर्छ । निको हुने समयमा ३८ देखि ४० भन्दा माथि आएमा संक्रमण नेगेटिभ भएको मानिन्छ । 

सामान्यतया परीक्षणको समयमा सिटी भ्याल्यु न्यून हुनेमा संक्रमण निको हुन लामो समय लाग्न सक्छ । वृद्धवृद्धा र दीर्घरोगीमा कोभिड संक्रमण लामो समयसम्म रहने सम्भावना बढी रहन्छ । यसबाहेक संक्रमण नेगेटिभ आए पनि पोस्ट कोभिडका कारण मृत्यु हुनेको संख्यासमेत बढ्दै गएको पाइन्छ । आरटी÷पिसिआरमा कोभिड नेगेटिभ आएका व्यक्तिहरूमा समेत लामो समयसम्म कोभिडका लक्षण देखिने र दीर्घकालीन स्वास्थ्य समस्या वा मृत्युको जोखिम बढेको छ । भ्याक्सिनको दायरा बढ्दै गएसँगै यसका दीर्घकालीन समस्या न्यूनीकरणका लागि क्लिनिकल अध्ययन भइरहेका छन् ।

ad
ad
ad
ad