मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ कार्तिक १३ शनिबार
  • Wednesday, 09 July, 2025
२o७८ कार्तिक १३ शनिबार १४:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अफगानिस्तानबाट थप ३२ नेपालीको उद्धार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक १३ शनिबार १४:o४:oo

अफगानिस्तानबाट उद्धार भई शनिबार थप ३२ जना नेपाली नागरिक स्वदेश फर्किएका छन्। यससँगै हालसम्म अफगानिस्तानबाट उद्धार भई नेपाल फर्कनेको संख्या ९४० पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

शनिबार स्वदेश फर्किएका नेपाली नागरिकहरू अनौपचारिक रूपले वैदेशिक रोजगारीका लागि स्वीकृति नलिई अफगानिस्तान गई काबुलस्थित विभिन्न स्थानमा ससाना समूहमा छरिएर रहेका थिए। उनीहरूलाई एउटै समूहमा आबद्ध गरी बस्नेखाने सुविधासहित सुरक्षित रूपमा राख्ने प्रबन्ध मन्त्रालयको अनुरोधमा आइडिजी कम्पनीमार्फत गरिएको थियो। 
अफगानिस्तानमा अब संयुक्त राष्ट्रसंघको नियोग तथा कार्यालयहरूमा अतिआवश्यक कार्यहरूमा संलग्न केही नेपालीहरू मात्र रहेको पनि मन्त्रालयले जानकारी दिएको छ। संयुक्त राष्ट्रसंघका निकायहरूले अतिआवश्यक मानवीय तथा विकाससम्बन्धी कार्य जारी रहने व्यहोरा जनाउँदै संयुक्त राष्ट्रसंघमा कार्यरत नेपालीहरूको सुरक्षामा कुनै जोखिम भएमा सबैलाई सुरक्षित रूपमा नेपाल फर्कन प्रबन्ध मिलाइने जानकारी दिएको मन्त्रालयले बताएको छ। 

नागरिकलाई स्वदेश फिर्ता गर्ने कार्यमा समन्वयका लागि नेपाल सरकारले परराष्ट्र मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुखको संयोजकत्वमा गठित अन्तरनिकाय कार्यदल र परराष्ट्र मन्त्रालयमा रहेको नियन्त्रण कक्षबाट प्रभावकारी समन्वय एवं सहजीकरण भएको पनि मन्त्रालयले जनाएको छ। नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा एक टोली गठन गरी उद्धार तथा स्वदेश फिर्ती कार्यको सहजीकरण र समन्वय गरिएको थियो । उद्धार र स्वदेश फिर्तिका क्रममा कतार, कुवेत, युएई, पाकिस्तान,लन्डन,वासिङ्न डिसी र न्यूयोर्कस्थित नेपाली नियोगहरू पनि परिचालन गरिएका थिए ।