मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ कार्तिक १२ शुक्रबार १६:२०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

डोल्पामा मोतिबिन्दु भएका ४४ जनाको नि:शुल्क शल्यक्रिया

Read Time : > 1 मिनेट
२०७८ कार्तिक १२ शुक्रबार १६:२०:००

दुर्गम जिल्ला डोल्पामा ४४ जनाको मोतिबिन्दुको सफल शल्यक्रिया गरिएको छ । त्रिपुरासुन्दरी नगरपालिका– १ अन्तर्गत त्रिपुराकोटमा पर्ने नगर अस्पतालमा आँखा शिविर राखेर निःशुल्क रूपमा मोतिबिन्दुको शल्यक्रिया गरिएको हो ।

घरआँगनमै निःशुल्क शल्यक्रिया सेवा लिन पाउँदा मोतिबिन्दुले ग्रस्त भएर अँध्यारो संसारमा बाँचिरहेका बिरामीहरू खुसीले दंग भएका छन्।

पहिला आँखा नदेखेर भित्र–बाहिर गर्न पनि अर्काको सहायता लिनुपर्ने भए तापनि अप्रेसन गरेपछि झलक्क आँखा देखिएको त्रिपुरासुन्दरी नगरपालिका– १ त्रिपुराकोट बस्ने ६७ वर्षीया तुथी सार्कीले बताइन्। गाउँघरमा शिविर राखेर सरकारले दुःखीगरिबका लागि धेरै राहत दिएको उनको भनाइ छ।

मोतिबिन्दुले दुईवटै आँखाको ज्योति गुमाएका पश्चिम रुकुमको आठबिसकोट नगरपालिका– १ निवासी शंकर विकले शिविरमा दुईवटै आँखाको मोतिबिन्दुको शल्यक्रिया गरेपछि अहिले राम्रोसँग आँखा देख्न सक्ने भएकोे बताए । ‘पहिला केही पनि देखिन्नथ्यो, हिजो अप्रेसन गरेपछि सबै देख्ने भएको छु, एकदमै खुसी लागेको छ,’ विकले खुसी व्यक्त गरे। 

जिल्लाका विभिन्न ठाउँमा मोतिबिन्दु शिविरमा छनोट भएका एक सय १४ जनालाई शल्यक्रियाका लागि त्रिपुराकोटमा बोलाइए पनि ४४ जना मात्रै आएका थिए।

शल्यक्रियापछि बिरामीको मुहारमा देखिएको खुसी देख्दा आफूहरू निकै हर्षित भएको सुर्खेत आँखा अस्पतालका विशेषज्ञ डाक्टर मनीष खतिवडाले बताए।

‘शिविरमा मोतिबिन्दुले दुवै आँखा बन्द भएका दुईवटा आमाको सफल शल्यक्रिया भएको छ, यसलाई उपलब्धिको रूपमा लिएका छौँ, यदि शिविर आयोजना हुँदैनथ्यो भने दुर्गमका धेरै नागरिक अँध्यारो संसारमा बाच्नुपर्थ्याे,’ खतिवडाले भने।

यहाँका नागरिकलाई नेपालगन्ज, सुर्खेतलगायतका जिल्ला पुगेर आँखा उपचार गराउनुपर्दा लाखौँ रुपैयाँ खर्च हुने भएकाले प्रत्येक पर्ष निःशुल्क शिविर आयोजना गर्दै आएको नेपाल रेडक्रस सोसाइटी त्रिपुराकोट शाखाका अध्यक्ष तुलबहादुर विष्टले बताए । जिल्लाभरिका एक सयभन्दा धेरैको शल्यक्रिया गर्ने लक्ष्य राखे तापनि विभिन्न कारणले छनोट भएका मोतिबिन्दुका बिरामीहरू शल्यक्रियाका लागि नआएको उनले बताए।

त्रिपुरासुन्दरी नगरपालिकाको आयोजना, नेपाल नेत्रज्योति संघको आर्थिक सहयोग र सुर्खेत आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो। दुई दिनसम्म चलेको आँखा शिविरबाट करिब दुई सयजना आँखाका बिरामीले सेवा लिएको बताइएको छ। प्रत्येक वर्ष नगरभित्रका दुःखी, गरिब, विपन्न नागरिकका लागि आँखा, पाठेघरलगायतका शिविरहरू नगरपालिकाले आर्थिक व्ययभार व्यहोरेर आयोजना गर्दै आएको नगरपालिकाकी कार्यबाहक मेयर चन्द्राकुमारी बुढाले बताइन्।

दुर्गमका नागरिकलाई आँखाको सामान्य जाँचका लागि लाखौँ रुपैयाँ खर्च गरेर जिल्लाबाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्न नगरका स्वर्गीय मेयर ओमबहादुर बुढाले आँखा अस्पतालको स्थापना गरेका थिए ।