१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ७ आइतबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ कार्तिक ७ आइतबार o९:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

गठबन्धन सरकार प्रतिगामी बाटोमा : ओली 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ कार्तिक ७ आइतबार o९:o७:oo

एमाले अध्यक्ष केपी ओलीले पाँच दलको गठबन्धन देशलाई स्वेच्छाचारिता र अस्थिरतातर्फ धकेल्ने प्रतिगामी बाटोमा लम्किएको बताएका छन् । शनिबार देशभरिका पार्टीका वडा कमिटी अधिवेशनको पार्टी केन्द्रीय कार्यालयबाट भर्चुअल उद्घाटन गर्दै ओलीले त्यस्तो बताएका हुन् । 

‘अहिले प्रतिगामी शक्तिहरू गठबन्धनको नाममा आइरहेका छन्, यो कुरामा कुनै भ्रम र दुविधा छैन, तीन महिनामै देखिइसकेको छ, देशलाई अस्थिरतामा धकेल्ने, स्वेच्छाचारी, मनपरीतन्त्र देशमा लागू गर्ने अनुशासनहीनता, अराजकता राज्यस्तरबाटै गर्ने विभिन्न क्रियाकलाप हामीले देखिरहेका छौँ, यो विपरीत बाटो हो, प्रतिगमनतर्फको बाटो हो,’ ओलीले भने ।

गठबन्धनले कम्युनिस्ट सरकार ढालेर दिशाहीन सरकार स्थापना गरेको ओलीको भनाइ थियो । ‘कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने, कम्युनिस्ट सरकार ढालेर प्रतिक्रियावादीको पाउमा सेवा अर्पण गर्ने, दक्षिणपन्थी, जनविरोधी, दिशाहीन सरकार स्थापना गर्ने काम भएको छ,’ ओलीले भने ।

पार्टीले सम्पन्न गरेको विधान अधिवेशन सौहार्दपूर्ण र सर्वसम्मत ढंगले सम्पन्न भएकोमा विरोधीहरू अचम्मित बनेको दाबी गर्दै ओलीले छलफलै गर्न नपाएको जस्ता आधारहीन लाञ्छना लगाएको बताए । ओलीले पार्टीका नेता–कार्यकर्तालाई आचारण र व्यवहार परिवर्तन गर्दै जनमुखी बन्न निर्देशनसमेत दिए । आगामी निर्वाचनमा पार्टीले तीनवटै तहमा बहुमत ल्याउने गरी जुट्नसमेत ओलीले ध्यानाकर्षण गरे ।

‘समृद्ध नेपाल बनाउने अभियान अगाडि बढाउन तीनवटै तहको निर्वाचनमा बहुमत ल्याउने गरी जुट्नुपर्छ,’ ओलीले भने, ‘हामी अहिले पनि संघमा, ६ वटा प्रदेशमा ठूलो शक्तिका रूपमा मजबुतका साथ उपस्थित छौँ, अबको निर्वाचनमा बहुमतसहित उपस्थित हुन्छौँ ।’ 

अध्यक्ष ओलीले एमालेलाई कमजोर बनाउन अनेक हल्ला चलाइएको भन्दै त्यस्तो भ्रम जनतामा टुटिसकेको बताए । ‘एउटा हल्ला चल्यो अस्ति भर्खर । त्यो हल्ला अब कमजोर हुँदै गएको छ । तिनका स्याल हुइँयाहरू कमजोर हुँदै गएका छन् । तिनका आवाजहरू सुक्दै गएका छन् । हिजो नेकपा एमालेलाई सरकारबाट हटाएपछि एउटा हल्ला चल्यो । अब एमाले समाप्त भयो । एमाले युगको अन्त्य भो । अनेक प्रकारका भ्रमपूर्ण हल्लाहरू चलाइए । तर, म कमरेडहरूलाई भन्न चाहन्छु– ती बेकारका बलेँसीका पानी रहेछन् भन्ने कुरा स्पष्ट भइसक्यो,’ ओलीले भने । 

शनिबार सम्पन्न वडा अधिवेशनहरूबाट एमालेले पार्टीको तल्लो तहमा नयाँ नेतृत्व चयन गरेको छ । तत्कालीन माओवादी केन्द्रसँगको एकीकरण तीन वर्ष नपुग्दै टुटेपछि र पार्टी फुटेको करिब दुई महिनापछि एमालेले तल्लो तहको अधिवेशन आयोजना गरेको हो । वडा अधिवेशनपछि ९ कात्तिकमा एमालेले देशभरका सात सय ५३ वटै पालिकामा अधिवेशन सम्पन्न गर्दै छ । 

ad
ad
ad
ad