मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज २२ शुक्रबार १२:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सार्वजनिक यातायातको भाडा वृद्धि गरिएकोमा उपभोक्ताको आपत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज २२ शुक्रबार १२:३५:००

बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा समायोजन गरी वृद्धि गरेकोमा उपभोक्ताले आपत्ति जनाएका छन् । चाडबाडको मुखमा आमउपभोक्ताको ढाड सेक्ने गरी विनाआधार भाडा वृद्धि गरिएको ललितपुर महानगरपालिका– १० का स्थानीयवासी श्याम महर्जनले गुनासो गरे।

सरकारले वैज्ञानिक भाडादर लागू गरेको भनिए पनि यातायात व्यवसायीको इच्छामा भाडा वृद्धि हुने गरेको उनले बताए। भौतिक पूर्वाधार विकास मन्त्रालयले आगामी कात्तिक १ गतेदेखि लागू हुने जनाउँदै दसैँअघि नै भाडा बढाएको हो। कात्तिक १ गतेदेखि लागू हुने भनिए पनि बुधबार भाडा बढाएका आधारमा बिहीबारदेखि नै सार्वजनिक यातायातमा भाडा असुली हुन थालेको छ। २३ प्रतिशतसम्म भाडा वृद्धि भएको प्रदेश सरकारले विज्ञप्तिमार्फत सार्वजनिक गरे पनि व्यवसायीले भने सकेजति भाडा असुलेको यात्रु रमेश पुडासैनीले बताए। प्रदेश सरकारले भाडा वृद्धि गर्ने, तर अनुगमन भने नगर्ने गैरजिम्मेवार काम गरेको उनको गुनासो छ।

प्रदेश सरकारले कात्तिक १ गतेदेखि लागू गर्ने जनाउँदै असोज २० गते बुधबार २३ प्रतिशतसम्म भाडा वृद्धि गरेको हो। व्यवसायीको इच्छामा भाडा वृद्धि गरेकाले खारेज गरिनुपर्ने यात्रु इन्द्रमाया तामाङले बताइन्। गत असार २७ गते अन्तरप्रदेशको भाडा वृद्धि गरिएको थियो। प्रदेशभित्र भाडा वृद्धि गर्ने अधिकार भने नयाँ संरचनाअनुसार प्रदेश सरकारलाई दिइएको छ।

प्रदेश १ सरकारले यसअघि नै भाडा समायोजन गरेको छ। अन्य प्रदेशमा सार्वजनिक यातायातको भाडा समायोजन गरिएको छैन। उपभोक्ता मञ्चका केन्द्रीय सदस्य रोशन पोखरेलले सार्वजनिक यातायातको क्षेत्रमा वृद्धि गरिएको भाडादर फिर्ता लिन माग गरे। रासस