मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
टेकराज थामी काठमाडौं
२०७८ असोज २० बुधबार ०८:११:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पाँच सन्तानकी आमा श्रीमानबाटै बेचिइन्

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडौं
२०७८ असोज २० बुधबार ०८:११:००

प्रेम विवाह गरेका नवीन तामाङले पाँच सन्तान जन्मिएपछि सम्झनालाई गाउँकै पासाङ शेर्पालाई बेचे, पासाङले त उनलाई दिल्लीको कोठीमा पुर्‍याए । अहिले दुवै पक्राउ परेका छन् ।

श्रीमती सम्झना तामाङ (नाम परिवर्तन) लाई भारतको राजधानी दिल्लीस्थित कोठीमा बेच्ने नुवाकोट दुप्चेश्वरका नवीन तामाङ र पासाङ शेर्पा पक्राउ परेका छन् । नवीन सम्झनाकी पहिलो र पासाङ दोस्रो श्रीमान् हुन् । मानव बेचबिखन अनुसन्धान ब्युरोले नवीनलाई दुप्चेश्वर र पासाङलाई बिजुलीबजारबाट पक्राउ गरेको हो । 

प्रहरीका अनुसार नवीनले सम्झनालाई एक लाख ६० हजार रुपैयाँ लिएर पासाङलाई बेचेका थिए । विवाहपछि पासाङले उनलाई दिल्ली लगेर बेचेका थिए । सम्झनाको नवीनतर्फका पाँच सन्तान छन् । बेचिएको ६ वर्षपछि ३४ वर्षीया सम्झनाको कोठीबाट उद्धार भएको थियो । शक्ति समूहको आश्रयमा रहेकी उनले १ भदौमा ब्युरो पुगेर जाहेरी दिएकी थिइन् । तत्काल अनुसन्धानमा जुटेको प्रहरी टोलीले डेढ महिनाको प्रयासपछि नवीन र पासाङलाई पक्राउ गरेको हो ।

ब्युरो प्रमुख एसएसपी दुर्गा सिंहले पटक–पटकको प्रयासपछि मात्रै नवीन र पासाङलाई पक्राउ गर्न सकिएको बताइन् । ‘सम्झना पाँच सन्तानकी आमा हुन् । उनको पहिलो श्रीमान् नवीन हो । एक लाख ६० हजार लिएर उनले पासाङलाई बेचेका रहेछन् । आफूले किनेपछि पासाङले सम्झनासँग बिहे गरेर दिल्लीमा लगेर बेचेछन्,’ उनले भनिन्, ‘रकम लिएर दुवैजना ढुक्कले बसेका रहेछन् । कर्तुत खुल्न केही समय लाग्यो । अन्ततः दुवै पक्राउ परे ।’ प्रहरीका अनुसार सम्झनालाई नवीनले ०७१ मा पासाङलाई बेचेका थिए । पासाङले ०७२ मा दिल्ली लगेर बेचेका थिए । भारतीय प्रहरी र क्याटलिस्ट नामक गैरसरकारी संस्थाको सहयोगमा सम्झना गत ३१ जेठमा नेपाल फर्कन सफल भएकी थिइन् । उनी अहिले शक्ति समूहको संरक्षणमा छिन् । 

पहिलो श्रीमान्ले एक लाख ६० हजारमा बेचे 

प्रहरीका अनुसार नवीनले सम्झनासँग प्रेम विवाह गरेका थिए । पाँच सन्तान भएपछि उनले सम्झनालाई हेला गर्न थाले । सानोतिनो विषयमा निहुँ झिकेर कुटपिट गर्न थाले । छोराछोरीको पनि वास्ता गर्न छाडे । विरक्तिएकी सम्झना नवीनको यातनाबाट दिक्क थिइन् । उनी पीडाबाट मुक्त हुन खोजी रहेकी थिइन् । मौकाको फाइदा उठाउँदै नवीनले सम्झनासँग दुप्चेश्वरका पासाङसँग भेट गराइदिए । पासाङले पहिलो भेटमै सम्झनासँग विवाहको प्रस्ताव राखे । विवाहित मात्र नभई आफू पाँच सन्तानको आमा रहेको भन्दै सम्झनाले पासाङको प्रस्ताव अस्वीकार गरिन् । तर, पासाङले सन्तान र विवाहका कारण आफूलाई केही फरक नपर्ने भन्दै सम्झनालाई रंगिन जीवनको सपना देखाए ।

सएसपी दुर्गा सिंह, प्रमुख मानव बेचबिखन अनुसन्धान ब्युरो

सम्झना पाँच सन्तानकी आमा हुन् । उनको पहिलो श्रीमान् नवीन हो । एक लाख ६० हजार लिएर उनले पासाङलाई बेचेका रहेछन् । आफूले किनेपछि पासाङले सम्झनासँग बिहे गरेर दिल्लीमा लगेर बेचेछन् । 

श्रीमान्को यातनाबाट दिक्क भएकी सम्झनालाई पासाङको आश्वासनले तरंगित तुल्यायो । स्थानीय जात्रा जाने क्रममा पासाङले सम्झनालाई दुप्चेश्वरस्थित घरमा लिएर गए । तीन दिन राखेपछि मन्दिरमा लगेर विवाह गरे । नाटकीय शैलीमा भोलिपल्टै सम्झनाका पहिलो श्रीमान् नवीन पासाङको घर पुगे । जारी भाडा भन्दै नवीनले पासाङसँग एक लाख ६० हजार रुपैयाँ मागे । पासाङले भनेजति रकम दिएर नवीनलाई बिदा गरे । ‘नवीन र पासाङबीच मिलेमतो देखिन्छ । योजनाअनुसार नै नवीनले सम्झनालाई हेला गर्न सुरु गरे । यही क्रममा पासाङ र सम्झनाको भेट एक स्थानीय जात्रामा गराइदिए । पीडामा रहेकी सम्झनालाई भएनभएको सपना देखाए । विवाह गरेको नाटक गर्दै उनले एक लाख ६० हजारमा सम्झनालाई खरिद गरे,’ ब्युरो प्रमुख एसएसपी सिंहले भनिन् ।

कोरोनाविरुद्धको खोप लगाउने क्रममा पक्राउ परे नवीन 
सम्झनाको जाहेरीलगत्तै प्रहरी दुप्चेश्वर पुग्यो । र, नवीनको खोजीमा जुट्यो । तर, उनको पहिचान हुन सकेन । स्थानीयसँग बुझ्ना उनी कहिले मेलम्ची भएको बताउँथे त कहिले काठमाडौं । तर, प्रहरीले निगरानी जारी राख्यो । यही क्रममा गाउँमा कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यक्रम बन्यो । खोप लगाउन नवीन आउने पक्का थियो । प्रहरी ढुकेर बसे, तर उनी आएनन् । प्रहरीले खोप लगाउनेको रेकर्ड हेर्‍यो । रेकर्डमा उनकी कान्छी श्रीमती आएको भेटियो । पछि खुल्यो, ‘नवीन त अर्कै भेषमा आएर खोप लगाएर गइसकेछन् ।’ प्रहरी खोजीमा जुट्यो । नभन्दै भाग्दै गरेको अवस्थामा प्रहरीले नवीनलाई पक्राउ गर्न खोज्यो । तर, स्थानीयको अवरोध भयो । करिब तीन घन्टाको प्रयासपछि बल्ल उनी पक्राउ परे ।

नवीनसँग किनेलगत्तै पासाङले दिल्लीमा बेचे 
विवाहलगत्तै ट्रेकिङ जाने भन्दै घरबाट पासाङ बिदा भए । सम्झना घरमै थिइन् । आठ महिनापछि पासाङको फोन आयो । ‘आर्थिक अवस्था कमजोर भएको र अब काम गर्नुपर्ने’ भन्दै पासाङले सम्झनालाई काठमाडौं बोलाए । सम्झना बलाजुस्थित नयाँ बसपार्क झरिन् । पासाङले उनलाई त्यहीँ भेटे । तर, डेरा लगेनन् । उनले बसपार्ककै एक गेस्ट हाउसमा लिएर गए । सम्झनालाई गेस्ट हाउसकी सञ्चालिकासँग परिचय गराइदिए । ‘एकै क्षणमा आउँछु’ भन्दै पासाङ बेपत्ता भए । 

तीन दिनसम्म सम्झना गेस्ट हाउसमै बसिन् । पासाङलाई पटक–पटक फोन गरिन् । तर, फोन सधैँ स्विच अफ रह्यो । आत्तिएकी सम्झनालाई गेस्ट हाउस सञ्चालिकाले काम लगाइदिने आश्वासन दिइन् । महिनाको १० हजार तलब आउने भनेपछि सम्झना काम गर्न राजी भइन् । त्यसलगत्तै उनले एक महिला बोलाइन् । महिला क्षणभरमै महिला गेस्ट हाउस आइपुगिन् । सम्झनालाई लिएर कोठामा गइन् ।

उनले तीन दिन सम्झनालाई कोठामै राखिन् । काम लगाइदिने भन्दै उनले भिनाजु साइनोका एक पुरुष (सरोज तामाङ) लाई बोलाइन् । सरोज कोठामा आए । काम लगाइदिने भन्दै सम्झनालाई लिएर गए । केही दिनको बसयात्रापछि सरोजले सम्झनालाई सुनौली पुर्‍याए । त्यहाँबाट रेल चढाएर दिल्ली लगे । दिल्लीमा म्हेन्दो लामाको कोठी छ । सरोजले त्यहीँ लगे । बुझाए । अनि नेपाल फर्के । केही दिन सम्झनालाई म्हेन्दोकै कोठीमा राखियो । त्यसपछि रेल चढाएर आग्रा लगियो । र, जबर्जस्ती यौनधन्दामा लगाइयो । आठ महिनापछि उनलाई फेरि म्हेन्दोकै कोठीमा ल्याइयो । करिब ६ वर्षसम्म उनलाई अनवरत धन्दामा लगाइयो । 

ब्युरो प्रमुख एसएसपी सिंहका अनुसार सम्झनाले दैनिक १५ देखि २५ जनालाई सेवा दिनुपथ्र्यो । धन्दामा इन्कार गरे शारीरिक यातना सुरु हुन्थ्यो । खाना दिइन्नथ्यो । धन्दामा कोठी सञ्चालिकाले प्रति पुरुष तीन सय ५० भारु लिन्थिन् । तर, सम्झनाले यातनाबाहेक केही पाउन्न थिइन् । ‘पीडितसँग बयान लिँदा हामी पटकपटक भावुक भयौँ । ६ वर्षसम्म उनले पीडा भोगिन् । अन्ततः उनको उद्धार भएको छ । हामीले यो धन्दाको जरोसम्म पुग्ने योजना बनाएका छौँ । अनुसन्धान जारी छ । धन्दामा जोडिएका सबैलाई हामी पक्राउ गर्नेछौँ,’ सिंहले भनिन् ।