माओवादी केन्द्रले विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्ष चयन गर्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकले अखिल क्रान्तिकारीको अध्यक्ष चयन गर्ने जिम्मेवारी प्रचण्डलाई दिने निर्णय गरेको हो ।
‘विद्यार्थीको राष्ट्रिय सम्मेलन चलिरहेको छ । त्यसको नेतृत्व चयनको विषय थियो । त्यसमा सम्भावित सबै पात्रहरू अहिलेको उपाध्यक्षदेखि हट्नेसम्मका सबैबारे छलफल गरियो । सबै पात्रहरू समान हैसियतका छन्, समान क्षमता राख्छन्,’ बैठकपछि पार्टी प्रवक्ता कृष्णबहादुर महराले भने, ‘तीमध्येमा छनोट गर्ने जिम्मेवारी अध्यक्ष कमरेडलाई दिइएको छ ।’
बैठकमा पार्टीको विशेष प्रदेश कमिटी ९१ जनाको बनाउने प्रस्ताव पनि गरिएको छ । सो प्रस्ताव नेताहरूलाई अध्ययनका लागि दिइएको र अब बस्ने अर्को स्थायी कमिटी बैठकले त्यसबारे निर्णय गर्ने महराले बताए । एससिसी पनि विशुद्ध रूपमा एउटा परियोजना अनुदान सम्झौता हो ।