१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
तिवारी यादव वीरगन्ज
२०७८ असोज १ शुक्रबार १४:३३:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

विभिन्न आवरणमा मौलाउँदै हुन्डी कारोबार

Read Time : > 1 मिनेट
२०७८ असोज १ शुक्रबार १४:३३:००

वीरगन्जमा पछिल्लो समय अवैध वित्तीय (हुन्डी) कारोबार गर्नेहरूको संख्यामा वृद्धि हुँदै गएको पाइएको छ। पछिल्लो समय पक्राउ परेकाहरूको संख्या हेर्ने हो भने यहाँ विभिन्न आवरणमा हुन्डीको कारोबार मौलाइरहेको प्रशस्त आधार पाइन्छ।

गत बुधबार अपराह्न २ बजे पर्सा प्रहरीले वीरगन्जको माईस्थानमा सञ्चालनमा रहेको केपी स्वर्ण कला केन्द्र नामक सुन पसलमा दुई छापा मारी हुन्डी रकम बरामद गर्‍याे । विशेष सूचनाका आधारमा प्रहरीले कन्हैयाप्रसाद सोनारले घरमा सञ्चालन गरेको सुन पसलमा खानतलासी गर्दा स्रोत नखुलेको ३८ लाख ५१ हजार एक सय रुपैयाँ नगद बरामद गर्‍याे । पसल सञ्चालक कन्हैयाप्रसाद सोनार र बारा परवानीपुर– ३ का दीपककुमार सर्राफलाई पक्राउ गरिएको पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए।

सोही पसलमा प्रहरीले यसअघि ०७६ असारमा पनि छापा मारी सातजनालाई पक्राउ गरेको थियो। त्यसवेला उनीहरूको साथबाट स्रोत नखुलेको नगद ४१ लाख ९२ हजार नाै सय रुपैयाँ र दुई किलो ९० ग्राम चाँदी बरामद भएको थियो। सो समयमा भारत भागेका पसल सञ्चालक सोनार अहिले भने पक्राउ परेका छन्।

माईस्थानको अधिकांश सुन पसलमा अवैध हुन्डी कारोबार हुँदै आएको स्रोतले जनाएको छ। स्रोतका अनुसार माईस्थानमा सञ्चालित अधिकांश सुन पसलका सञ्चालकहरू भारतीय हुन्। स्रोत भन्छन्, ‘माईस्थानको पसलमा दिनहुँ अवैध कारोबार हुँदै आए पनि प्रहरीले कहिलेकाहीँ मात्र चासो देखाएको पाइन्छ।’

गत भदौ १२ मा पनि प्रहरीले हुन्डी कारोबार गर्ने दुईजनालाई पक्राउ गर्‍याे । स्रोत नखुलेको नेपाली १० लाख ६३ हजार ६ सय २० रुपैयाँसहित प्रहरीले भारत बिहार पश्चिम चम्पारण इनर्वा बजारका ४५ वर्षीय वृजकिशोर गिरी र पर्साको धोबिनी गाउँपालिका– २ गुलरिया टोलका ५० वर्षीय रामपुकार पटेललाई पक्राउ गर्‍याे। त्यसैगरी, भदौ २७ गते ५ लाख अवैध रकमसहित अर्का एकजना पक्राउ परेका थिए।

वैध तरिकाले भन्दा हुन्डीबाट पैसा पठाउँदा कम शुल्क लाग्ने भएकाले जानी नजानी मानिसहरू हुन्डी कारोबारमा संलग्न हुने गरेका छन्। विभिन्न व्यवसायीको आवरणमा गिरोहले अन्तर्राष्ट्रिय रूपमा पैसाको ओसारपसार गर्ने तथा आपराधिक क्रियाकलापका लागि समेत हुन्डी प्रयोग गर्ने गरेको प्रहरीको अध्ययनले देखाएको छ। हुन्डीलाई कतिपयले कालो धनलाई सेतो पार्न पनि प्रयोग गर्ने गरेका छन्। हुन्डी कारोबारीको समेत ठूलो आपराधिक गिरोह नै हुने गरेको प्रहरी अधिकारीहरूको बुझाइ छ।

नाकामा भित्रिएकाहरू पक्राउ परे पनि वीरगन्जको विभिन्न व्यापारीहरूले आफ्नै पसलमा यस्ता कारोबार गर्दै आएका छन्। हुण्डी कारोबारमा सुन व्यापारीहरू बढी संलग्न भएका पाइएको छ। सुनचाँदी व्यसायी संघ पर्साको तथ्यांकअनुसार करिब नाै महिनाअघि जिल्लामा एक सय ७० सुनचाँदी पसल संघमा आबद्ध थिए। यो अहिले बढेर करिब चार सयको हाराहारीमा पुगेको छ। 

फितलो कारबाही प्रक्रिया
प्रहरीले हुन्डी कारोबारीलाई पक्राउ गरे पनि कारबाही प्रक्रिया भने फितलो छ। प्रहरीले पक्राउ गरेका हुन्डी कारोबारीलाई राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाउने गरेको छ। तर, प्रहरीले पठाएका धेरै हुन्डी कारोबारीलाई राजस्व कार्यालयले सामान्य धरौटीमै छोड्ने गरेको छ।

पक्राउ गरेर बुझाएपछि बाँकी अनुसन्धान राजस्व विभागले गर्दछ। कारबाही प्रक्रिया फितलो भएकाले पनि हुन्डीको कारोबार नरोकिएको प्रहरीको बुझाइ छ।