दशकौँसम्म पत्रकारिता गरेका रवीन्द्र मिश्र नयाँ पार्टी खोलेर राजनीतिमा आए । कुनै ऐतिहासिक बिरासतबिना, कुनै सिद्धान्त र विचारविना जनप्रिय मुद्दा उठाउँदै उनी वेलामौकामा चर्चामा आउँछन् । अहिले हिन्दू धर्मको मुद्दा उठाएका छन् । संघीयताको खिलाफमा उभिएका छन् । अहिले विचारभन्दा माथि देश भन्ने दस्ताबेज तयार गरी प्रचारमा आएका छन् । उनले लोकप्रियतावादी हतियारको सहारा लिँदै छन् । के हो लोकप्रियतावाद ? लोकप्रियतावाद संस्थारहित व्यक्तिगत नेतृत्व हो ।
कुनै एक क्षेत्रमा चर्चामा आएका व्यक्ति राजनीतिक मूल नेतृत्वमा आउने चेष्टा हो । उनीहरूसँग पार्टीगत संस्था हुँदैन, भए पनि कमजोर हुन्छ । उनीहरू त्यस्तो संस्थाको पक्षमै हुँदैनन् । म एक्लैले जनताको खास प्रतिनिधित्व गर्छु भन्ने भान हुन्छ उनीहरूलाई । मैले मात्रै जनताका चाहना बुझ्छु ।
समस्या गहिरिएर बुझ्न सक्छु । जनताको आकांक्षाको जानकार छु । म एक्लैले ती सबै समस्या समाधान गर्न सक्छु भन्ने भ्रम हुन्छ । उनीहरू बाहिरबाट हेर्दा प्रतिभाशाली देखिन्छन् । अहिले यसको संकेत विश्वव्यापी रूपमा देख्न सकिन्छ । भारतमा नरेन्द्र मोदी संस्थागतभन्दा पनि लोकप्रियतावादी कोणबाट चर्चामा आएका हुन् । अमेरिकामा डोनाल्ड ट्रम्प त्यसरी नै उदाएका थिए । रुसमा भ्लादिमिर पुटिन जनप्रियतावादी झ्यालबाट छिरेर अहिलेको अवस्थामा आएका हुन् । चीनमा सी जिन पिङ पनि जनप्रियताकै बाटामा छन् ।
यसो हेर्दा यिनीहरू जनतामा भिजेका, दूरदर्शी, सक्रिय, भ्रष्टाचारविरोधी जस्ता देखिन्छन् । सामाजिक सञ्जाल र मिडियाले उनीहरूलाई निकै उकास्छन् । यसो हुँदा जनताले यिनलाई छिटो पत्याउँछन्, भोट दिन्छन् । अबका दिनमा सूचना तथा सञ्चार प्रविधिको विकास र सामाजिक सञ्जालको प्रभाव बढेसँगै पार्टीबाहिरबाट व्यक्ति उदाउनेछन् । भारतलगायत देशमा सेलिब्रेटीहरू राजनीतिमा आएका छन् ।
लोकप्रियतावाद संस्थारहित व्यक्तिगत नेतृत्व हो । कुनै एक क्षेत्रमा चर्चामा आएका व्यक्ति राजनीतिक मूल नेतृत्वमा आउने चेष्टा हो ।
नेपालमा पनि केही अभियन्ता राजनीतिक चर्चामा आएका छन् । मिडिया र सामाजिक सञ्जालका माध्यमबाट यिनीहरूलाई राजनीतिमा आउन उक्साउनु पपुलिस्ट राजनीतिको नमुना हो । तर, यिनीहरू टिकाउ हुँदैनन् । किनभने, यिनीहरूसँग बलियो संस्था हुँदैन । यिनीहरूले जनतामा राजनीतिक संस्था वा राज्यप्रति आक्रोश सिर्जना गर्ने गरी मुद्दा उठान गर्छन् । इतिहासको विरोध गर्छन् । ब्युरोक्रेसीको खेदो खन्छन् । राजनीतिक दल र नेतालाई सत्तोसराप गर्छन् । यी सबैलाई भ्रष्टाचारी भन्छन् । जनताको संवेगसँग खेल्छन् । राज्य व्यवस्थाको विरोध गर्छन् । संविधान, ऐन, नियमको विरोध गर्छन् ।
लोकप्रियतावादीहरू माक्र्सवाद, समाजवाद, पुँजीवाद, उदारवाद, तानाशाही तन्त्र आदि सबै प्रकारका शासन व्यवस्थाको विरोध गर्छन् । तैपनि, उनीहरूसँग कुनै राजनीतिक दर्शन हुँदैन । ऐतिहासिक लिगेसी हुँदैन । भविष्यको दृष्टि हुँदैन । संगठनको तागत हुँदैन । कार्यकर्ताको बल हुँदैन । आर्थिक पुँजीको आड हुँदैन । सांस्कृतिक पुँजीको जग हुँदैन । उनीहरूसँग तात्कालिक समस्या उठाउने तागत हुन्छ । जनतालाई आकर्षण गर्ने ल्याकत हुन्छ । सामाजिक सञ्जाल र मिडियामा छाउने रणनीति हुन्छ । हुलको आक्रोश समात्ने सामथ्र्य हुन्छ ।
लोकप्रियतावादीमा कुनै राजनीतिक तथा आर्थिक मार्ग स्पष्ट हुँदैनन् । यिनीहरूले सूचनाको शक्तिलाई प्रयोग गर्छन् । सूचनाको विश्लेषणका आधारमा आफ्ना पाइला चाल्छन् । तथ्यांकको दुरुपयोग गरी अन्य पार्टी वा संस्थालाई खुइल्याउन उद्यत रहन्छन् । अरूको कमजोरीलाई आफ्नो तागतका रूपमा प्रयोग गर्न खोज्छन् । यो उदारवादको परिणति पनि हो । उदारवाद र लोकतन्त्रलाई निरपेक्ष रूपमा बुझ्नुको नतिजा पनि हो । पार्टीहरू बिस्तारै जनताबाट अलग्गिँदै जाने सम्भावना बढेकाले लोकप्रियतावादीहरू तात्कालिक जनआकांक्षालाई समातेर जुरुक्क उठ्नेछन् । यिनीहरू अतिराष्ट्रवादी देखिनेछन् । ट्रम्पले जस्तो विश्व स्वास्थ्य संगठन, विश्व बैंकजस्ता विश्वस्तरका अंगलाई चुनौती दिनेछन् । तर, यो दीर्घकालिक हुनेछैन ।
मिश्रको मार्ग मौकामा चौका : रवीन्द्र मिश्रले समातेको लोकप्रियतावादी मार्ग हो । उनका दस्ताबेजमा विद्यमान संस्थाहरूको उछितो काढिएको छ । पार्र्टीलाई भ्रष्टको उपाधि दिइएको छ । विचार होइन, राष्ट्र भनेर वैचारिक कथाप्रति कटाक्ष गरिएको छ । वर्तमान व्यवस्था नै असफलताको दिशामा गएको भनी जनातालाई आक्रोशित बनाउन खोजिएको छ । संघीयता महँगो भएको भनी विरोध र हिन्दू राष्ट्रबारे जनताको आवाज उठ्न थालेको देखेर जनप्रिय माग उठान गर्न खोजिएको छ । यिनले सबै समस्याको जानकार आफू मात्रै रहेको र समाधानका लागि सक्षम र इमानदार रहेको कसमसमेत खाएका छन् ।
धर्म निरपेक्षताको विषयमा जनमत संग्रह गर्ने भनेका छन् । ८० प्रतिशत हिन्दू रहेको देशमा जनमत संग्रहको नतिजा त स्पष्ट छ । तर, त्यसको दीर्घकालीन परिणामप्रति अनभिज्ञ देखिन्छन् । कतिपय मुद्दामा अनुभूतिभन्दा विश्लेषणका आधारमा निर्णय लिनुपर्छ भन्नेमा मिश्र अस्पष्ट देखिन्छन् । उनले उठाएका केही मुद्दा सही पनि छन् । तर, हिँड्न खोजेको बाटो अल्पकालीन छ । उनले उठाएका केही मुद्दा ‘आउटडेटेड’ पनि छन् । लोकतन्त्रमा पार्र्टीको विकल्प पार्टी नै हो, कुनै अमुक व्यक्ति होइन । लोकप्रियतावादी मार्गबाट नेपाली समाजको कदापि भलो हुँदैन ।
(लेखक त्रिविका उपप्राध्यापक हुन्)