हिजो जसरी ब्रेन ड्रेनको डर थियो, भोलि ब्रेन लस्टको खतरा आउँदै छ, अझ प्रविधिको विकासका लागि केही सीमित ब्रेनको आवश्यकता हुन्छ
मानिस जति अन्वेषणमा सफल देखिन्छ, त्यति यसको बुद्धिमतापूर्ण प्रयोगमा असफल देखिन्छ । सामान्यतया अन्वेषण सकारात्मक नतिजाहेतु गरिए तापनि यसको प्रयोग ज्यादा आमहितप्रतिकूल भएको देखिन्छ । जस्तै, बम आमसुरक्षाका लागि आविष्कार भएको भए तापनि यसको प्रयोग आतंकवादीले बढी गरे र मानवीय सुरक्षाभन्दा क्षति बढी भयो । त्यस्तै, सूचना तथा सञ्चार प्रविधिले मानव जीवनमा उल्लेखनीय सकारात्मक प्रभाव पारे तापनि यसको दुरुपयोग वा लतले मानव जातिकै अस्तित्व संकटमा पर्दै छ । अनुसन्धान र आविष्कार मुठ्ठीभरका मानिसले गर्छन्, तर त्यसको उपयोग आमरूपमा हुन्छ । मुठ्ठीभरबाट जति आमतिर विस्तार हुन्छ, एकातिर त्यसको मर्म पातलिँदै जान्छ भने अर्कातिर स्वार्थहरूको दायरा फराकिलो हुँदै जान्छ र दुरुपयोग हावी हुन्छ । अन्वेषण मूलतः वैज्ञानिक, अनुसन्धाता, टेक्नोक्रेट, इन्जिनियर आदिले गर्छन्, तर त्यसको उपयोग राजनीतिमा भर पर्छ । जहाँ राजनीति र अन्वेषणका बीचमा तालमेल हुँदैन, त्यहाँ दुर्घटना अनिवार्य हुन्छ । यो आलेख मूलतः सूचना प्रविधिले कसरी मस्तिष्कको पलायन र लोपलाई दुरुत्साहन गर्दै छ भन्नेमा केन्द्रित छ ।
मानिस शारीरिक र बौद्धिक शक्तिका कारण अरू प्राणीभन्दा अब्बल भई संसारमा राज गरेको हो । सिकारी युग र कृषिमा आधारित अर्थव्यवस्थामा मूलतः शारीरिक बल हावी थियो । शारीरिक बल हुनेसँग सामाजिक र राजनीतिक शक्ति केन्द्रित थियो । मेसिनको विकाससँगै मानिसको शारीरिक बल ओझेलमा प¥यो र बौद्धिक क्षमताले मात्रै संसारमा राज गर्यो । समाज शारीरिक शक्तिपूजाबाट बौद्धिक शक्तिपूजामा केन्द्रित भयो । अब कृत्रिम बौद्धिकता (एआई) को विकाससँगै मानिसको बौद्धिक शक्ति पनि प्रतिस्थापन हुने सम्भावना छ । हाल विश्वमा करिब ५३ प्रतिशत अर्थतन्त्र डिजिटल क्षेत्रले ओगटेको छ र यो अझ बढ्दै छ । यस क्षेत्रमा कृत्रिम बौद्धिकताको अधिक प्रयोग हुन सक्छ । साथै, उद्योग, अस्पताल, शिक्षण संस्था, ड्राइभिङ आदि क्षेत्रमा पनि एआईको प्रयोग हुन थालेको छ । एआई छिटो अपडेट हुने, एकैपटक कनेक्सन र सञ्चार हुने, थकान नहुने हुँदा मानिसमा भन्दा उत्पादकत्व क्षमता बढी हुन्छ । यसले कामको दुनियाँमा मानव शक्तिलाई प्रतिस्थापन गर्ने र ठूलो संख्यामा मानिस बेरोजगार हुने सम्भावना छ ।
अर्कातिर कम्प्युटर, स्मार्ट फोनको प्रयोग र गुगल, एप्पलजस्ता ठूला डाटा सेन्टरमा व्यापक भर पर्न थालेसँगै मानिसले मस्तिष्कको कम प्रयोग गर्न थालेका छन् । संज्ञानवादी मनोवैज्ञानिकहरूले भनेजस्तो सूचना ग्रहण, कोडिङ, डिकोडिङ हुँदै रचनात्मक उत्पादन गर्ने मानसिक प्रक्रिया अवरुद्ध हुने सम्भावना छ । किनभने, सबै जिज्ञासा र प्रश्नको उत्तर गुगलले दिने भयो । शिक्षकले भनेको कुरा सत्य हो कि होइन भनेर विद्यार्थीले गुगललाई सोध्ने भए । बाबुआमाले दिएको सल्लाह बच्चाले गुगलसँग भेरिफाई गर्ने भयो । नेपालजस्तो प्रविधिको उपयोग गर्ने तर विकास गर्न नसक्ने देशका सूचनाहरू यी डाटा सेन्टरमा अपलोड नहुने सम्भावना हुँदा देश र समाजका विशिष्टताहरू नयाँ पुस्तामा हस्तान्तरण नहुने भए । यसले गर्दा सामाजिक सांस्कृतिक पहिचान लोप हुनेछन । त्यस्तै, सबै सूचना र ज्ञान स्टोर भएर रहने भएपछि ज्ञान निर्माणको प्रक्रियामा मानिसले टाउको दुखाउने भएन । यसो हुँदा जीववैज्ञानिक लेमार्कले भनेजस्तै जुन चिज वा अंग प्रयोग हुँदैन त्यो कालान्तरमा विलोप भएर जान्छ । यदि मानिसको मस्तिष्कको काम एआई र डाटा सेन्टरले गर्ने हो भने कालान्तरमा मानिसको दिमाग पनि कमजोर हुँदै जाने र लोप हुने खतरा नआउला भन्न सकिँदैन । यसो हुँदा हिजो जसरी ब्रेन ड्रेनको डर थियो, भोलि ब्रेन लस्टको खतरा आउँदै छ । अझ प्रविधिको विकासका लागि केही सीमित ब्रेनको आवश्यकता हुन्छ । यस्ता ब्रेनहरू विकसित देशले तानिरहन्छ । अब एकातिर राम्रा ब्रेन पलायन हुने र अर्कातिर ब्रेन लस्ट हुने हुँदा नेपालजस्तो प्रविधिको उपभोग मात्रै गर्ने देशमा ब्रेनलेसको अवस्था आउने खतरा छ ।
यसैगरी, हामीले विश्वास गर्ने सूचनाका स्रोतहरू कति आधिकारिक छन् ? यो यक्ष प्रश्न हो । गुगल, एप्पल, अलिबाबाजस्ता डाटा सेन्टरमा कतै नियतवश वा अज्ञानताका कारण गलत सूचनाहरू राखिएको भए आमरूपमा त्यसलाई विश्वास गरिने भयो । जस्तै, पूर्वीयाहरू अनसिभिलाइज हुन् र यिनीहरूलाई सिभिलाइज गर्ने जिम्मा पश्चिमाको हो भन्ने सूचना अपलोड गरियो र यसको काउन्टरमा अन्य सूचनाहरू राखिएन भने बच्चाले त्यही विश्वास गर्ने भए । त्यस्तै, सामाजिक सञ्जाललाई प्रयोग गरी बौद्धिक आतंक मच्चाउनेहरू पनि कम छैनन् । कहाँ के भन्दा कसलाई उत्तेजित गर्न सकिन्छ भन्ने सबै सूचना लिई समय–समयमा संवेगको बटम थिच्ने बौद्धिक आतंकवादीले समेत प्रविधिको प्रयोगकर्तालाई एक–आपससमा भिडाएका छन् । यसले सामाजिक द्वन्द्व बढ्नेछ । राष्ट्रियता, जातीयता, दलगत कट्टरताजस्ता व्यक्तिगत र समूहगत चिन्तन प्रकट हुने हुँदा समग्र मानव जातिभित्रको विभाजन अझ जटिल बन्ने सम्भावना छ । प्रविधिको प्रयोग गर्न पाउने र नपाउनेबीचको खाडल त एक्काइसौँ शताब्दीको सामाजिक, आर्थिक तथा राजनीतिक चुनौती बन्ने नै छ ।
अझ इतिहासकार युवल हरारेले त बायोटेक र इन्फोटेकको मिलन भई मानिसलाई नै ह्याक गर्नेछ भनेका छन् । हामीले कुनै एप्सलाई मोबाइलमा वा कम्प्युटरमा इन्स्टल गर्दा यदि तेरो डाटामा पहुँच दिन्छस् भने मात्रै इन्स्टल गर्न सक्छस् भन्छ, हामी हुन्छ भन्छौँ । हाम्रा नितान्त व्यक्तिगत सूचना जस्तै– फोटो, भिडियो, च्याटिङ डिटेल आदि एप्स कम्पनीसँग जाने भए । कतै यी सूचना ह्याकरले लगे भने सार्वजनिक गर्ने धम्की दिएर पैसा माग्ने वा सार्वजनिक गरिदिएर सामाजिक रूपमा पतन गराउने सम्भावना छ । प्रविधिको प्रयोगबाट अब पछाडि हट्न सकिँदैन र हुँदैन पनि । त्यसैले जसरी हिजो गरिबी, शिक्षा, स्वास्थ्यजस्ता विषय राजनीतिक एजेन्डा बने, अब प्रविधिजन्य समस्या पनि राजनीतिक एजेन्डा बन्नुपर्छ ।