अत्याधुनिक प्रविधिको विकासले मानव समाजमा उथलपुथल ल्याएको छ, ल्याउँदै छ । अहिले चलिरहेको युगलाई चौथो औद्योगिक क्रान्तिको युग, ‘पोस्ट वर्क सोसाइटी’, ‘आर्टिफिसियल इन्टलिजेन्स’ (एआई) को युग तथा ज्ञान पुँजीको युगका रूपमा पनि चिनिन्छ । प्रविधिको विकास र प्रयोगसँगै समाजको आधार संरचनामा परिवर्तन ल्याउने र उपरी संरचनामा पनि स्वतः प्रभाव पर्दै जाने हुँदा यो एक प्रकारको विशाल क्रान्ति हो । पहिले लगानी, औजार र मानवीय श्रमको प्रत्यक्ष सम्बन्धबाट वस्तुको उत्पादन हुन्थ्यो ।
मानवीय श्रम प्रमुख विषय मानिन्थ्यो । श्रमको उपयोगको प्रकृतिका आधारमा समाजको अर्थ राजनीतिक चरित्र निर्धारण हुन्थ्यो । अब मानिसको प्रत्यक्ष श्रमविना वा निकै कम मानिसको बौद्धिक श्रमका आधारमा मात्रै पनि पहिलेभन्दा धेरै गुणा वस्तु उत्पादन र सेवा प्रवाह गर्न सकिने भएको छ । मानिसले गर्ने अधिकांश काम मेसिन, रोबोट तथा एआईले गर्न थालेका छन् । ‘वर्ल्ड इकोनोमिक फोरम’को २०२३ को प्रतिवेदनअनुसार २०३० सम्ममा अहिले भएका ५० प्रतिशत रोजगारी प्रविधिले प्रतिस्थापन गर्नेछ । पहिले मानिसको श्रम बढी मूल्यवान् भएकाले मानिसले मेसिनले जस्तै काम गर्न सकोस् भनी विश्वको ठूलो धनराशि मानिसको विकासमा खर्च हुने गरेको थियो । तर, अहिले मेसिनले मानिसले जस्तै काम गर्न सक्ने बनाउन दुनियाँको ठूलो लगानी मेसिनमाथि हुँदै छ ।
अल्भिन टोफ्लर (१९९२) ले भनेजस्तो यो ज्ञान पुँजीको युग भएकाले अहिले कुनै वस्तु उत्पादन नगर्ने र खास भौतिक संरचना नभएका तर ज्ञान र रणनीति भएका व्यक्ति धनी र शक्तिशाली भएका छन् । मानिसले निर्माण गरेको मेसिनले आफैँ निर्णय गर्न र नयाँ कुराको सिर्जना गर्न सक्ने तागत बोकेको छ । आज सूचनाको कमी समस्या नभएर सूचनाको बाढीबाट सही सूचना निकाल्ने चुनौती आएको छ । यी समग्र पक्षमा आएको बदलाब अब कुनै देशविशेषमा मात्रै सीमित रहेन । त्यसैले, नेपाल पनि यो क्रान्तिको प्रभावमा परिसकेको छ । प्रविधिले मानव जीवनका धेरै आयाममा प्रभाव पार्ने भए पनि यस आलेखमा खासगरी सामाजिक सञ्जाल र त्यसले राजनीतिक मोनोविज्ञानमा पार्ने प्रभावबारे चर्चा गरिएको छ ।
सामाजिक सञ्जालको लत, यसको दुरुपयोग र राजनीतिक मनोविज्ञानमा परेको प्रभावको हिसाबले हेर्दा नेपालमा सामाजिक सञ्जाल एक मनोरोगको रूपमा फैलिँदै छ
सूचनाको मस्तिष्कीय मेकानिजम : हामीले आफ्ना ज्ञानेन्द्रीयमार्फत सूचना प्राप्त गर्छौं । त्यो सूचना एउटा प्रक्रियाबाट उच्च संवेगात्मक कार्यजस्तै निर्णय लिने, संवेग नियन्त्रण गर्ने मस्तिष्कको ‘प्रिफ्रन्टल कर्टेक्स’ र ‘एन्टेरिअर कर्टेक्स’मा जान्छ । मस्तिष्कमा एउटा ‘एमिगडेला’ भन्ने भाग हुन्छ, जसले संवेदनात्मक सूचनामा प्रतिक्रियात्मक काम गर्छ । यसले रिस, आवेग, उत्तेजनायुक्त सूचनाप्रति प्रतिक्रियात्मक व्यवहार गर्न निर्देशन दिन्छ । जब यो भाग आवेगप्रेरित सूचनासँग बढी ‘एक्स्पोजर’ हुँदै जान्छ, तब यसले यस्ता सूचनालाई थप बुझाइका लागि अगाडि नबढाएर आफैँले भाग्न वा लड्न निर्देशित गर्छ । जसको कारण मानिसले कुनै उत्तेजनाप्रति आक्रामक व्यवहार गर्दै जान्छ । यस्तो अवस्थालाई ‘एमिगडेला हाइज्याक’ पनि भनिन्छ ।
अहिले मानिसको सूचनाको मूल स्रोत सामाजिक सञ्जाल भएको छ । सामाजिक सञ्जालमा रहेका बहुमत सूचना भ्रमपूर्ण हुने गरेका तथ्यले देखाएका छन् । सही सूचनाभन्दा गलत सूचना ६ गुणा छिटो फैलन्छ । सूचनाको व्यापार गर्नेहरूले गलत सूचनाको खेती गरेर स्वार्थपूर्ति गर्छन् । त्यस्तै संयमितभन्दा आक्रामक सूचना पनि धेरै गुणा छिटो फैलन्छन् । यस्ता सूचनाप्रति मानिसको आकर्षण पनि बढ्दै जान्छ । यही क्रममा ‘ब्रेन’मा ‘डोपामिन’ वा ‘न्युरोट्रान्समिटर’ निष्कासन हुन्छ, जसका कारण मानिसमा सूचना प्राप्त गर्ने उत्सुकता बढ्छ । जब उत्सुकता बढ्छ, तब उसले सञ्जाल प्रयोग गरिरहन्छ ।
अब उसमा सामाजिक सञ्जालको लत बस्न पुग्छ । लतका कारण जब गलत, आक्रामक र सतही सूचनासँग लामो समयसम्म मानिसको संगत हुन्छ, तब त्यसले मानिसको ब्रेनको ‘रिवार्ड सिस्टम’लाई प्रभावित गर्छ । परिणामस्वरूप मानिसले विवेक गुमाउने, संवेग नियन्त्रण गर्न नसक्ने, आत्मनियन्त्रण र सिर्जनशीलता गुमाउने हुन्छ । मनोवैज्ञानिक सिग्मन्ड फ्रायडको भाषामा भन्दा इद व्यक्तित्व (तात्कालिक सन्तुष्टि चाहने) को हाबी हुन्छ । म्यानवेललगायतले २०२२ मा गरेको अध्ययनअनुसार डिजिटल डिमेन्सिया (तर्क तथा स्मरणशक्तिको क्षति) को अवस्था सिर्जना हुन्छ, जसका कारण एकाग्रता घट्ने, स्मृति घट्ने र निर्णय क्षमता दुर्बल हुने हुन्छ ।
यसैगरी सामाजिक सञ्जालको लतका कारण व्यक्तिले सामाजिक अनुभूति गुमाउँदै जान्छ । समानुभूति जुन सामाजिक अनुभूतिको महत्वपूर्ण कडी हो, त्यो दुर्बल हुँदै जान्छ । यसले सामाजिक सीप र समालोचनात्मक चिन्तनको क्षयीकरण गर्छ । संवेगात्मक रूपमा आक्रामक सूचनाका कारण स्ट्रेस र चिन्ता बढ्छ । परिणामतः ड्रिप्रेसनका लक्षण देखिन सक्छन् । संज्ञानात्मक थकान हुन्छ, जसले सत्यको बुझाइमा धुमिलपन ल्याउन योगदान गर्छ । जब निर्णय प्रक्रियामा एआई र ‘कम्प्युटर अल्गोरिदम’मा बढी भर र सामाजिक सञ्जालको लतबीचको संयोजन हुन्छ, तब निर्णय प्रक्रियामा पक्षघात हुन्छ । यस्तो अवस्थामा मानिसको दिमाग एक प्रकारले ह्याकिङ हुन्छ । अनि ऊ अस्थिर हुन्छ, बेचैन हुन्छ । आक्रामक हुन्छ । स्वार्थी हुन्छ । तात्कालिक सन्तुष्टिको खोजीमा लाग्ने हुन्छ । उसलाई सामान्य घटनाले पनि छिट्टै प्रभावित गर्छन् । अरूले सजिलै मेनुपुलेट गर्न सक्ने गरी तरल बन्छ ।
राजनीतिक मनोविज्ञान र प्रियतावादको प्रभाव : जसरी सामाजिक सञ्जालले मानिसको संज्ञानात्मक प्रक्रियामा प्रभाव पार्यो, त्यसैगरी संज्ञानले राजनीतिक व्यवहारमा प्रभाव पार्छ । नेता तथा जनताको व्यवहारलाई राजनीतिक रूपमा अध्ययन गर्ने विद्या राजनीतिक मनोविज्ञान हो । राजनीतिक मनोविज्ञानले समग्र राजनीतिलाई प्रभावित गर्छ । उदार लोकतान्त्रिक व्यवस्थामा त यसले झनै प्रभाव पार्छ । भोटमा आधारित लोकतन्त्रमा जनताको मत निर्णायक हुन्छ ।
जनताको मत ज्ञानभन्दा बढी अनुभूतिले प्रभावित हुन्छ । त्यसैले, जनताको राजनीतिक मानोविज्ञानका आधारमा ‘भोटर्स डाइनामिक्स’ अध्ययन गर्नुपर्ने हुन्छ । सामाजिक सञ्जालले जनताको अनुभूतिमा उतारचढाब ल्याउन प्रोत्साहन गरेको छ ।
सन् २०१० देखि २०१६ सम्मको अवधिलाई लोकतन्त्रको विकासका लागि सामाजिक सञ्जाल एक अचुक अस्त्रका रूपमा व्याख्या गरिन्थ्यो । सन् २०१६ मा अमेरिकामा डोनाल्ड ट्रम र बेलायत इयूबाट अलग हुने जनमतसंग्रहमा जसरी समाजिक सञ्जालको माध्यमबाट भ्रामक सूचना प्रसारित गरी जनताको मनोविज्ञानलाई ‘मेनुपुलेट’ गरियो, त्यसपछि सामाजिक सञ्जाल बदनाम हुँदै ‘पोस्ट ट्रुथ’ अथवा उत्तर सत्यको युगको रूपमा अलग भाष्य नै निर्माण भयो । त्यस्तै सामाजिक सञ्जालले बहुमत पक्षलाई उचाल्ने र अल्पमत पक्षलाई थेचार्ने वातावरण निर्माण गर्दै आएको छ ।
जर्मनी र अस्ट्रियामा २०१९ मा गरिएको अध्ययनअनुसार फेसबुकमा प्रसारित शरणार्थीविरुद्धको सेन्टिमेन्टले त्यहाँका बहुमत जनतामा विदेशी नागरिकप्रति नकारात्मक धारणाको विकास भएको देखाएको छ । डोनाल्ड ट्रम्पले आप्रवासीप्रति देखाएको घृणित दृष्टिकोणले त्यहाँका आदिवासीमा आप्रवासीप्रति नकारात्मक धारणाको विकास भयो । भारतमा नरेन्द्र मोदीको पार्टी र यसले हुर्काएको नागरिक समाजको माध्यमबाट सामाजिक सञ्जालमा फैलाइएको मुस्लिम अल्पसंख्यकप्रतिको घृणा जरासम्म पुग्दै छ । यसले समाजलाई ध्रुवीकरण गर्दै छ । यसरी सामाजिक सञ्जालको आडमा बहुसंख्यकलाई तत्कालका लागि प्रिय लाग्ने सस्ता मुद्दा उठान गरेर प्रियतावादी राजनीति हाबी हुँदै गएको छ । चिन्तक फ्रान्सिस फुकुयामाको भाषामा यसरी उदाएको प्रियतावाद एक राजनीतिक समस्या हो । यस्तै इतिहासकार युवल नोवा हरारीको भाषामा विचारविहीनताको राजनीति हाबी हुनु लोकतन्त्रका लागि खतरा हो ।
सामाजिक सञ्जालको लत, यसको दुरुपयोग र राजनीतिक मनोविज्ञानमा परेको प्रभावको हिसाबले हेर्दा नेपालमा सामाजिक सञ्जाल एक मनोरोगको रूपमा फैलिँदै छ । यसले नेपालको ‘भोटर्स डाइनामिक’मा व्यापक परिवर्तन ल्याएको छ । सामाजिक अराजकताको त पराकाष्ठा नै देख्न सकिन्छ । अन्य देशमा खासगरी आप्रवासी, शरणार्थी र धार्मिक अल्पसंख्यकविरुद्धका सेन्टिमेन्ट प्रभावी छन् । तर, नेपालमा ‘एन्टी गभर्नमेन्ट सेन्टिमेन्ट’ विकास गराउन सामाजिक सञ्जालको योगदान बढी देखिन्छ ।
अहिले बहुसंख्यक जनतामा राज्यप्रति अपनत्वभाव छैन । जनताले सत्ताबाहिरकालाई मन पराउने भएका छन् । यस्तो राजनीतिक मनोविज्ञानमा खेलेर सत्तामा पुग्न सकिने ठानी नेपालमा विभिन्न नाममा प्रियतावादी राजनीति हाबी हुन खोज्दै छ । पुराना वैचारिक भनिएका दलहरू पनि विचारले भोटर्सको मनोविज्ञानमा प्रभाव पार्न त्यति सफल नभएपछि भोटर्सको आकांक्षाको बाढीमा बढारिँदै हिँड्न खोजे । नयाँ उदाउन खोज्नेहरूले पनि विचार केही होइन, बरू जनताको भावना सबै थोक हो भनेर सस्ता कुरा गरे ।
परिणामतः देश एक प्रकारले विचारविहीन राजनीतिको दुश्चक्रमा भासिँदै गएको छ । नेपालमा अहिले तीन प्रकारका पहिचानवादी, धार्मिक र रित्तो (इम्प्टी) दक्षिणपन्थी प्रियतावादीले टाउको उठाउन खोज्दै छन् । पहिलो र दोस्रो लगभग अवसानको दिशामा छन्, जुन जनताले बुझिसके । अब तेस्रो रित्तो प्रियतावादीहरू केही समय चर्चामा आउनेछन् । यिनीहरूले आधुनिक प्रविधिको विकास र सामाजिक सञ्जालबाट निर्मित राजनीतिक मनोविज्ञानमा खेल्ने प्रयास गर्नेछन् । यिनीहरू त्यतिवेलासम्म रहनेछन्, जतिवेलासम्म नयाँ राजनीतिक मनोविज्ञानलाई समेत बुझेर वैचारिक रूपमा नेतृत्व गर्ने पार्टीहरू बलिया बन्दैनन् ।
सामाजिक सञ्जालको भरमा निर्माण भएको राजनीतिक मनोविज्ञान एक राजनीतिक विषय हो । यसको जगमा आउने प्रियतावादी राजनीति राजनीतिक समस्या हो । यी दुवैको उपचार फ्रान्सिस फुकुयामाले भनेजस्तो राजनीतिक रूपमा खोज्नुपर्छ । यसरी भोटको नाममा भिडको आग्रहअनुसार राजनीति अगाडि बढ्ने हो भने विग्रहको भड्खालोमा जानुको विकल्प रहँदैन । त्यसैले भिडले डिल होइन, विचारले लिड गरेर भिडलाई ठीक दिशामा लैजानुपर्छ । वैचारिक राजनीतिको विकल्प विचारविहीनताको राजनीति होइन, बरू विचारविहीनताको विकल्प वैचारिक राजनीति हो ।
(आचार्य त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक हुन्)