१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २७ आइतबार
  • Saturday, 28 September, 2024
रिचर्ड हास
२o७८ भदौ २७ आइतबार o९:५७:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

आतंकवाद लामो समय हामीमाझ रहनेछ

फर्केर हेर्दा सेप्टेम्बर ११ को आक्रमणले भूमण्डलीकरणको युगमा दूरी र सिमानाको खासै अर्थ नहुने पाठ दियो

Read Time : > 4 मिनेट
रिचर्ड हास
नयाँ पत्रिका
२o७८ भदौ २७ आइतबार o९:५७:oo

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामाथि भएको आतंकवादी आक्रमणको २० वर्ष पूरा भएको छ । त्यस दिन १९ जना आतंकवादीले चारवटा नागरिक विमान अपहरण गरेर न्युयोर्कस्थित विश्व व्यापार केन्द्र, पेन्टागनलाई आक्रमणको निसाना बनाए । चौथो विमानका यात्रुले आतंकवादीको प्रतिकार गर्दा विमान पेन्सिलभानियाको एक मैदानमा दुर्घटना भयो । त्यस विमानलाई ह्वाइटहाउस वा वासिङ्टन डिसीस्थिति कुनै सरकारी भवनमा ठोक्काउने योजना रहेको अनुमान गरिन्छ । विमान अपहरणमा संलग्न सबैजना मध्यपूर्वी मुलुकका नागरिक थिए, जसमध्ये १५ जना साउदी अरबका मात्र थिए ।

सबैजनाले अफगानिस्तानमा तालिम पाएका थिए भने तीमध्ये चारजनाले अमेरिकाका उड्डयन अध्ययन केन्द्रमा अध्ययन गरेका थिए । आक्रमणको योजना, आक्रमणकारीलाई संगठित गर्ने काम र तथा तिनलाई निर्देशन गर्ने सबै काम अलकायदा नामक संगठनले गरेको थियो, जसका प्रमुख थिए, ओसामा बिन लादेन । सेप्टेम्बर ११ को दिन भएका आक्रमणमा परेर २,९७७ मारिए भने थप ६ हजार घाइते भए ।

धेरैले सेप्टेम्बर ११ को आक्रमणले आतंकवादको नयाँ विश्वव्यापी युग सुरु हुने चिन्ता व्यक्त गरेका थिए । तर, छिटपुट आक्रमणबाहेक अमेरिका र उसका मित्रशक्तिले सेप्टेम्बर ११ कै स्तरका ठूला आक्रमणको पुनः सामना गर्नुपरेन । आतंकवादीले ठूला आक्रमण गर्न नसक्नुका कारणबारेमा धेरै व्याख्या भएका छन् । अफगानिस्तानमा अमेरिकाले हस्तक्षेप गरेपछि अलकायदाले तिनको सुरक्षित आश्रयस्थल गुमाए । सुरक्षा व्यवस्था कडाइ गर्न विश्वभरका सरकारले विमानस्थलमा कठोर चेकजाँचको व्यवस्था लागू गरे । साथमा सबै मुलुकले जोखिम न्यूनीकरणका लागि गुप्तचर, प्रहरी र सैन्य क्षमता वृद्धि गरे । प्रतिआतंकवादी संघर्षमा विचार नमिल्ने मुलुकहरूबीच समेत सहकार्य हुँदा आक्रमणकारी निरुत्साहित भएका छन् ।

आतंकवादी आक्रमणमा अझै बर्सेनि दशौँ हजार मानिसको ज्यान नजाने होइन । तर, ती आक्रमण इराक, सिरिया, अफगानिस्तान, लिबिया, सोमालिया, यमन, नाइजेरिया र पाकिस्तानजस्ता द्वन्द्वग्रस्त मुलुकमा केन्द्रित छ । आतंकवाद पहिलेभन्दा स्थानीयकृत र विकेन्द्रित भइरहँदा यसको सबलता भने वृद्धि भइरहेको छ । आजकल आतंकवादी संगठनका प्रमुखको मृत्युले तिनको क्षमतामा असर पर्दैन । उदाहरणका लागि अलकायदाका नेता ओसामा बिन लादेनको मृत्युपछि संगठनको विस्तार रोकिएको छैन । यस्तोमा अर्को सेप्टेम्बर ११ को जस्तो आक्रमणको सम्भावनालाई नकार्न सकिँदैन ।

सबैभन्दा ठूलो खतरा आतंकवादी समूहको हातमा आणविक उत्पादन पर्ने वा जैविक तथा रासायनिक हतियार बनाउने ज्ञान तिनको हात पुग्ने भन्नेमा छ । अहिलेसम्म त्यो खतरा यथार्थमा बदलिएको छैन । सेप्टेम्बर ११ को आक्रमणयताका दुई दशकमा यस आक्रमणले अमेरिकी विदेश नीतिलाई ठूलो प्रभाव पार्‍यो । आक्रमणपछि पहिले सोचिए जस्तो विश्वव्यापी आतंकवादको युग सुरु भएन, बरु आतंकवादविरुद्धको विश्वव्यापी युद्ध सुरु गर्‍यो ।

जसको सुरुवात अफगानिस्तानबाट भयो । अमेरिकी गुप्तचर संगठनले सेप्टेम्बर ११ को आक्रमणमा अलकायदाको हात रहेको पाएपछि संगठनलाई शरण दिइरहेको तालिबानलाई अमेरिकाले दुई विकल्प दियो– अलकायदा नेताहरू अमेरिकालाई सुम्पने कि सत्ता जोखिममा पार्ने ? तालिबानले पहिलो विकल्प अस्वीकार गरेपछि अमेरिकी गुप्तचर तथा सैन्य पदाधिकारीले ‘नर्दन अलाएन्स’ नामक अफगान समुदायको खुकुलो गठबन्धनसँग मिलेर तालिबानविरुद्ध युद्ध सुरु ग¥यो । तालिबान अफगान शासनबाट सत्ताच्युत भएपछि अमेरिकाले त्यहाँ भावी सरकार निर्माणमा पनि सघायो । 

तालिबानप्रति आस्थावान् नेता तथा कार्यकर्ता छिमेकी पाकिस्तान भागे, जहाँ उनीहरूले बिस्तारै आफ्नो आधार तथा क्षमता विस्तार गर्न थाले । यसबीच, अमेरिकाले अफगान सेनालाई सबल बनाउने, भ्रष्टाचार न्यूनीकरण गर्ने र पाकिस्तानलाई तालिबानलाई शरण नदिन दबाब दिने काममा पर्याप्त ध्यान दिएन । अमेरिकाको दुई दशक लामो अफगान अभियानमा झन्डै २० खर्ब डलर खर्च भयो भने २३ सय अमेरिकी सैनिकको ज्यान गयो । लाखौँ अफगान नागरिक हताहत भए । अमेरिकाले अफगानिस्तानमा उल्लेख्य संख्यामा सेना तैनाथ गरेको थियो । एक समय अफगानिस्तानमा अमेरिकी सेनाको संख्या एक लाख पुगेको थियो ।

अफगानिस्तानमा अमेरिकी सैनिकको ठूलो उपस्थितिका कारण अफगान सरकारको वैधतामाथि प्रश्न उठिरह्यो, जुन पनि तालिबानको विजयको एउटा कारण रह्यो । आतंकवादविरुद्धको विश्वव्यापी युद्धकै अवधिमा अमेरिकाले इराकमाथि समेत युद्ध घोषणा गर्‍यो । तत्कालीन इराकी शासक सद्दाम हुसेनको सरकारसँग आमसंहारकारी हतियार रहेको आरोपमा अमेरिकाले आक्रमण गरेको भए पनि त्यहाँ त्यस्तो हतियार भेटिएन । तर, कैयौँ अमेरिकी नीतिनिर्मातामा इराकमा प्रजातन्त्र ल्याएर त्यहाँबाट सम्पूर्ण मध्यपूर्वका अन्य मुलुकमा पनि प्रजातन्त्रलाई विस्तार गर्न सकिने भूत सवार थियो । त्यसो गर्न सके त्यस क्षेत्रमा आतंकवादी निर्माण हुने क्रम घट्ने तिनको आकलन थियो । 

आतंकवाद पहिलेभन्दा स्थानीयकृत र विकेन्द्रित भइरहँदा यसको सबलता भने वृद्धि भइरहेको छ । आजकल आतंकवादी संगठनका प्रमुखको मृत्युले तिनको क्षमतामा असर पर्दैन ।

मार्च २००३ मा सुरु भएको इराक युद्ध बुस प्रशासन र धेरै कंग्रेस सदस्य (हालका राष्ट्रपति जो बाइडेनसमेत)ले सोचेजसरी अघि बढेन । सैन्य रूपमा अमेरिकाले चाँडै सफलता हासिल गर्‍यो । सद्दाम सरकार छिटै अपदस्थ भयो । तर, लगत्तै ठूलो हिंसात्मक प्रतिरोध उत्पन्न भयो, इराक गृहयुद्धमा फस्यो । अमेरिकी सैन्य विजयलगत्तै इराकी सेनालाई अपदस्थ गर्ने र तिनलाई भविष्यमा सरकारी पदका लागि अयोग्य घोषणा गर्ने निर्णय अत्यन्त प्रत्युत्पादक साबित भयो । निर्णयका कारण धेरै सैनिक प्रतिरोधी फौजमा संलग्न भए । अफगानिस्तान र इराक दुवै युद्धमा सैन्य फौजले हासिल गर्न सक्ने उपलब्धिको सीमा प्रस्टाइदियो । इराक युद्धका कारण अमेरिकाले अफगानिस्तानमा बराबर आर्थिक भार बेहो¥यो । हताहती भने यहाँ थप बढी थियो । युद्ध सुरु गर्नुअघि इराकसँग छ भनिएको आमनरसंहारकारी हतियार नभेटिनु, युद्धमा संयुक्त राष्ट्रसंघको समर्थन नदिने कार्यले अमेरिकाको छवि धमिलियो ।

इराकी कारागारमा अमेरिकी सेनाले कैदीसँग गरेको दुव्र्यवहारका तस्बिर बाहिरिएपछि अमेरिकाको सर्वत्र विरोध भयो । युद्धका कारण इराक कमजोर भएपछि मध्यपूर्वमा अमेरिकी प्रतिद्वन्द्वी इरान थप शक्तिशाली बन्यो । त्यस युद्धपछि इरानले इराक, सिरिया, यमन र लेबनानमा आफ्नो प्रभाव उल्लेख्य बढाएको छ । अमेरिकाको ध्यान इराक र अफगानिस्तानको युद्धमा केन्द्रित रहँदा भूराजनीतिक रूपमा महत्वपूर्ण पूर्वी एसिया र युरोपबाट उसको ध्यान भड्कियो । आतंकवादविरुद्धको विश्वव्यापी युद्धले अमेरिकी विदेश नीतिले कसरी रुस तथा चीनजस्ता ठूला शक्तिराष्ट्रको प्रतिद्वन्द्वितालाई सामना गर्ने भन्ने दिशा प्रदान गर्न सकेन । सेप्टेम्बर ११ पछि लडिएका युद्धले अमेरिकाको घरेलु मानसिकता तथा राजनीतिमा पनि उल्लेख्य प्रभाव पार्‍यो ।

दुई युद्ध र सन् २००७–००८ को आर्थिक संकटका कारण अमेरिकीहरूमा एलिटप्रतिको विश्वासमा क्षयीकरण भयो । त्यसैको जगमा उत्पन्न पपुलिस्ट माहोलको फाइदा डोनाल्ड ट्रम्पले उठाए । यिनै कारणले आज अमेरिका इतिहासकै सबैभन्दा धु्रवीकृत छ । त्यस्तै, दोस्रो विश्वयुद्धपछि अमेरिकाको पहिचान बनेको सक्रिय विदेश नीतिमा पछिल्लो समय अनिच्छा भाव उत्पन्न भएको छ । फर्केर हेर्दा सेप्टेम्बर ११ को आक्रमणले भूमण्डलीकरणको युगमा दूरी र सिमानाको खासै अर्थ नहुने पाठ दियो । मध्यपूर्वमा जन्मिएको र अफगानिस्तानमा तालिमप्राप्त आतंकवाद जसरी विश्वव्यापी भयो, त्यसरी नै आर्थिक संकटको प्रभाव पनि विश्वभर देखियो । आज हामी चीनमा उत्पन्न भएको भाइरसले उत्पन्न गरेको महामारीमाझ बाँचिरहेका छौँ । त्यस्तै उच्च तापक्रम वृद्धिका असरहरू डढेलो, खडेरी, बाढी, आँधीले विश्वलाई प्रभावित बनाउन थालेको छ । 

अफगानिस्तानमा तालिबानको पुनः सत्तारोहणसँगै सेप्टेम्बर ११ मा सुरु भएको युगको चक्र पूरा भएको छ । २० वर्षअघि तालिबान शीघ्रताका साथ सत्ताच्युत गरिएको थियो र पछिल्लो महिना त्यस्तै शीघ्रताका साथ उसले सत्ता कब्जामा लियो । तालिबानले पहिलेजस्तै आतंकवादीहरूलाई आश्रय दिन्छ कि दिँदैन भन्ने कुरा अहिले भन्न सकिँदैन । अथवा तिनको जितबाट अमेरिकाविरोधी समूह उत्साहित होला/नहोला पनि भन्न सकिँदैन । अहिलेका लागि एउटा कुरा भने स्पष्ट छ, आतंकवाद लामो समय हामीमाझ रहनेछ । यसले हाम्रो भविष्य परिभाषित नगर्ला, तर यो भूमण्डलीकृत विश्वको एक गोचर पक्ष रहिरहनेछ । 

काउन्सिल अन फरेन रिलेसन्सका अध्यक्ष रिचर्ड हास सन् २००१–००३ बीच अमेरिकी विदेश मन्त्रालयअन्तर्गतको नीति योजनाका निर्देशक थिए । 
© Project Syndicate 2021
नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य