१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २२ मंगलबार
  • Saturday, 21 September, 2024
२o७८ भदौ २२ मंगलबार १o:o७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

एसपी भट्टराईका ६ महिना : जे बोले त्यो गरे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ २२ मंगलबार १o:o७:oo

रेसुंगा नगरपालिका– ३ की २१ वर्षीया सम्झना बोहोराको हत्याकाण्डले देशभर चर्चा पायो । स्थानीयले प्रशासन घेरे । सोही घटनाले तत्कालीन प्रहरी प्रमुख केन्द्रसमेत तानिए । ०७७ माघ ३ गते रेसुंगा– १४ पराल्मीका ४५ वर्षीय तुलबहादुर विक बन्दुक लागेको अवस्थामा मृत फेला परेका थिए । अपराधमा संलग्न व्यक्तिहरू पत्ता लागेका थिएनन् । ०७७ पुस २८ गते मुख्य बजारमा झारफुकको नाममा डामिएर इस्मा– ३ का रामबहादुर मुखियाले ज्यान गुमाए । ०७७ पुस २६ गते महेन्द्र माविकाे गेटमा इस्मा– ३ का माधव पछाईमाथि निर्घात कुटपिट भयो ।

०७७ पुस २३ गते चन्द्रकोट गाउँपालिका– ३ हर्राचौरका शौभाग्य शाहको बाख्रा फर्ममा भएको आगलागीले देशभरको ध्यान खिच्यो । त्यस्तै, इस्मा– १ हस्तिचौरका मोतीबहादुर कुँवर ०७७ भदौ २१ गते मृत फेला परे । प्रहरीले लामो समय सत्यतथ्य बाहिर ल्याउन सकेको थिएन । ०७७ फागुन २१ गते गुल्मी प्रहरी प्रमुखको रूपमा गोपालचन्द्र भट्टराई आए । माथि उल्लिखित घटनाको अनुसन्धान गरेर अपराधमा संलग्न व्यक्तिहरूलाई कानुनको दायरामा ल्याएर नागरिकबीचमा प्रहरीले गुमाएको साख फर्काउनु भट्टराईलाई सजिलो थिएन । तर, जे बोले त्यो गरेर देखाए । 

उनी आएको भदौ २१ गते ६ महिना पुगेको छ । सोही अवसरमा भट्टराईले पत्रकारसँग ६ महिनाको अवधिमा सम्पादन गरेका कामको अर्धवार्षिक समीक्षा गरेका थिए । उनले गत फागुनमा आउनेबित्तिकै सबै घटनामा संलग्नहरूलाई कानुनको दायरामा ल्याउने उद्घोष गरेका थिए । सोहीअनुसार एकपछि अर्को गरेर सबै हत्याका घटनामा संलग्नलाई पक्राउ गरेर सार्वजनिक गरेका छन् । जसका कारण नागरिकहरूमा प्रहरी संगठनप्रति हेर्ने दृष्टिकोण परिवर्तन गरे । 

उनी आएपछि पनि जिल्लामा गाडी तथा पसल चोरीले केही समय आतंकै सिर्जना गर्‍यो । तर, चोरीमा संलग्न सबैलाई पक्राउ गरे । त्यस्तै, उनले रुरु र पुर्कोटदह इलाका प्रहरी कार्यालयमा दरबन्दीअनुसारको प्रहरी निरीक्षकको पदपूर्ति गर्ने बताएका थिए । अहिले दुवै कार्यालयमा प्रहरी निरीक्षक कार्यरत छन् । भट्टराईले सेवा प्रवाहलाई थप छिटो–छरितो बनाउन गाडी र मोटरसाइकल थप्ने बताएका थिए ।

सोहीअनुसार प्रदेशमार्फत दुई गाडी र मातहत चौकीहरूमा पाँचवटा मोटरसाइकल खरिद गरेका छन् । भट्टराईले राम्रो काम गर्ने ३७ जना प्रहरीलाई सम्मान तथा पुरस्कृत गरे भने दुईजनालाई निलम्बनसहित पाँचजनालाई कारबाही गरे । उनले सामुदायिक सचेना र ट्राफिक तन्दुरुस्तीलाई पनि प्राथमिकता दिएका थिए । ट्राफिक प्रहरीले गत वर्ष सवारी कारबाहीबाट ५० लाख राजस्व संकलन गरेको छ । स्कुल शिक्षा र सामुदायिक शिक्षाका अरू धेरै काम गर्न कोभिडले समस्या सिर्जना गरेको प्रहरी प्रमुख भट्टराईले बताए । गुल्मी प्रहरीले कोभिड– १९ को नियन्त्रण र निषेधाज्ञाको कार्यान्वयनमा पनि महत्वपूर्ण काम गरिरहेको छ ।