१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ५ शनिबार
  • Saturday, 21 September, 2024
२o८१ असोज ५ शनिबार १७:४५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बौदीकालीमा १८ करोडको लागतमा अस्पताल भवन निर्माण, सञ्चालन गर्न जनशक्ति र उपकरण अभाव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ५ शनिबार १७:४५:oo

नवलपुरको पहाडी क्षेत्रमा रहेको बौदीकाली गाउँपालिकामा १८ करोड रुपैयाँको लागतमा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न गरेको छ। तर, दरबन्दी र उपकरण अभावले अस्पताल सञ्चालनमा आउन सकेको छैन। 

केन्द्र सरकार स्वास्थ्य मन्त्रालयको सहयोगमा भवन निर्माण गरिएको हो । तर, भवन निर्माण भए पनि अस्पताल सञ्चालनमा आउन सकेको छैन। गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मेघबहादुर ठाडा मगरले रकुवा प्राथमिक स्वास्थ्य केन्द्रलाई विस्तार गरेर बौदीकाली आधारभूत अस्पतालका रूपमा विस्तार गर्न लागिएको भए पनि अस्पतालका लागि चाहिने कुनै पनि उपकरण र जनशक्ति नभएको बताए।

नयाँ बनेको अस्पताल भवनको आडमै रकुवा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा रहेको छ, तर आडमै बनेको दरबार जत्रो अस्पताल भवन भने अहिले बन्द अवस्थामा छ। रकुवा प्राथमिक स्वास्थ्य केन्द्रमा नै अहिले दैनिक ३० देखि ४० जना बिरामी आउने गरेका छन्। 

प्राथामिक स्वास्थ्य केन्द्रकै दरबन्दी र उपकरणले अस्पताल सञ्चालन गर्न आर्थिक र जनशक्ति सबै हिसाबले अप्ठेरो हुने बौदीकाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मेघबहादुर ठाडा मगर बताए। 

अहिले अस्पतालमा चाहिने टेबल कुर्चीसमेत छैन। प्राथमिक स्वास्थ्य अस्पतालका लागि २८ जनाभन्दा बढीको दरबन्दी हुनुपर्नेमा अहिले एकजनाको पनि दरबन्दी नरहेको बौदीकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बताए। 

दरबन्दी अभाव र उपकरण अभावका बीच बौदीकाली गाउँपालिकाले भने नयाँ भवनमा अस्पताल सञ्चालन गर्ने तयारी गरेको छ। गाउँपालिका अध्यक्ष प्रकाश ओझाले अस्पताल भवन निर्माण सकिएलगत्तै दरबन्दी मिलानलगायतका विषयमा आफूले पहल गरिरहेको र एक महिनाभित्रै प्रधानमन्त्री केपी ओलीबाट अस्पतालको उद्घाटन गराउने तयारी गरेको बताए।

उनले तत्काल दरबन्दी मिलान नभए पनि रकुवा प्राथमिक स्वास्थ्य केन्द्रको जनशक्तिले भए पनि तत्काललाई अस्पताललाई सञ्चालनमा ल्याउने जानकारी दिए। 

यो अस्पताल सञ्चालनमा आउन सके बौदीकाली गाउँपालिकाको मात्र नभएर नवलपुरको बुलिङटारका साथै तनहुँको नवलपुरसँग सिमाना जोडिएका केही पालिकाका बासिन्दाहरूलाई पनि स्वास्थ्य सेवामा पहुँच बढ्ने गाउँपालिका अध्यक्ष ओझाले बताए।