मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अविरल वर्षापछि डुबानमा परेको बनेपाको पुलबजार । तस्बिर : नयाँ पत्रिका
२०७८ भदौ २२ मंगलबार ०८:३०:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बनेपाको पुलबजार डुबानमा, अरनिको राजमार्ग अवरुद्ध

Read Time : > 1 मिनेट
२०७८ भदौ २२ मंगलबार ०८:३०:००

आइतबार रातिदेखिको अविरल वर्षाका कारण पुण्यमाता खोलामा आएको बाढीले बनेपाको पुल बजार क्षेत्र डुबानमा परेको छ । जसकारण अरनिको राजमार्गमा यातायात सञ्चालनसमेत अवरुद्ध भएको छ । पुलबजारका केही घरका पहिलो तला डुबानमा परेको छ । पार्किङ गरी राखेका यातायातका साधन पनि डुबानमा परेको प्रहरीले जनाएको छ ।

सोही खोलाको बाढीका कारण बनेपाकै धनेश्वर पुलआसपास पनि डुबानमा परेको छ । डुबानका कारण बनेपा–पनौती सडक अवरुद्ध भई यातायात ठप्प भएको छ । सवारीसाधन नाला हँुदै भक्तपुरबाट पठाएको प्रहरीले जनाएको छ । बनेपाको पुलबजार र गोदामचोकाको धनेश्वर पुलआसपास बर्सेनि डुबानमा पर्दै आएको छ । मानव बस्तीले खोला साँघुरो पार्दै आएपछि डुबान हुन थालेको हो । 

पुण्यमाता खोलाआसपासमा रहेको वडा कार्यालय र इलाका प्रहरी कार्यालय बनेपाको भवन डुबानमा परेको छ । बनेपा नगरपालिका–१० को कार्यालय भवनको भुइँतलामा बाढी पसेको छ । वडा कार्यालय परिसरमा बाढी छिरेको, तर कुनै नोक्सानी नभएको वडाध्यक्ष चन्द्रबहादुर खड्काले जानकारी दिए । इलाका प्रहरी कार्यालय बनेपाको भवन पनि डुबानमा परेको छ । इलाका प्रहरी कार्यालय नयाँ भवन बनाएर केही समयअगाडि मात्र सरेको थियो । कार्यालयको परिसरसम्म बाढी पसेको, तर भवनमा केही खराबी नभएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक राजन कोइरालाले बताए । 

बनेपा नगरपालिका–४ नालामा दुई÷तीनवटा घर भत्किएको प्रहरी निरीक्षक कोइरालाले बताए । ‘नालामा दुई/तीनवटा घर भत्किएको भन्ने सूचना आएको छ, तर जान सकिरहेका छैनौँ । पैदलै जाने प्रयास गरिरहेका छौँ,’ कोइरालाले भने । पुण्यमाता खोलाको बाढीका कारण बनेपाको धनेश्वर पुलआसपास, नालाको नन्दीमाता खोलाआसपास र रातमाटा क्षेत्र डुबानमा परेको छ । बाढीका कारण अरनिको राजमार्गमा यातायात सञ्चालन हुन सकेको छैन । अविरल वर्षापछि आएको बाढीका कारण काभ्रेमा ५३ लाख रुपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार मण्डनदेउपुर नगरपालिका–२ का रामशंकर ध्वजूको १५/१६ लाखबराबरको धनमालको क्षति भएको छ । ध्वजूले सञ्चालन गरेको मलना होटेलको स्टोरमा बाढी पसेर ड्रिल मेसिन, वासिङ मेसिन, काठको टेबल, कुर्सी क्षति भएको छ । घरमाथिबाट आएको पहिरोले गोठ पुरिँदा तीनतले घरलाई पनि क्षति पुर्‍याएको खतिवडाले जानकारी दिए । सोही स्थानका टंकबहादुर घिसिङको गोठमाथिबाट आएको पहिरोले गोठ पुरिँदा एउटा गाई मरेको र दुईवटा गाई घाइते भएको उनको भनाइ छ ।