मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सुनिता दुलाल, गायिका
२०७८ भदौ २२ मंगलबार ०७:२०:००
Read Time : > 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

यस वर्ष पनि ‘भर्चुअल’ तिज

Read Time : > 1 मिनेट
२०७८ भदौ २२ मंगलबार ०७:२०:००

लोकदोहारी गायनमा गायिका सुनिता दुलालले फरक परिचय बनाएकी छिन् । उनका तिज गीत पनि उत्तिकै चर्चित छन् । करिब दुई दशकदेखि नेपाली गीतसंगीतमा सक्रिय गायिका दुलालले ‘अब त मैले नि झुम्का लगाउँछु’, ‘तिज भनेकै नाच्न गाउन हो’, ‘नाचौँ सरर’लगायत दर्जनभन्दा बढी तिज गीत गाएकी छिन् । दुलालसँग हरितालिका तिजको सन्दर्भमा गरिएको कुराकानी :

तिजको तयारी कसरी गरिरहनुभएको छ ?
मलाई अघिल्ला वर्षहरूमा साउनको दोस्रो सातादेखि नै तिज आएजस्तो लाग्थ्यो । जताततै तिजका गीतहरू बज्थे । तर, पछिल्लो दुई वर्षयता तिजमा रौनक छैन । कोरोना महामारीले गर्दा घरै बसेर तिज मनाउनुपरेको छ । हामी कलाकारलाई पनि कार्यक्रममा जान दौडधुप हुन्थ्यो । तर, दुई वर्षयता खासै दौडधुप छैन । तिजको दिन मेरो नेपाल टेलिभिजनमा कार्यक्रममा छ । सोही दिन भर्चुअलमार्फत कार्यक्रममा सहभागी हुँदै छु । दुई वर्षयता ‘भर्चुअल’ रूपमा तिज मनाइँदै छ । 

यस वर्ष कतिवटा तिज गीत गाउनुभयो ? 
यो वर्ष दुईवटा मात्रै तिज गीत रेकर्ड गराएँ । शिताश्मा भुसालको ‘स्वामीकी प्यारी...’ र ज्योति गुरुङको ‘परदेशी छोरी...’ बोलको गीत गाएकी छु । दुवै गीतमा समसामयिक कथा छन् । तिज महिला दिदीबहिनीबीच आत्मीयता साटासट गर्ने पर्व हो । त्यसैले गीत पनि यस्तै बन्नुपर्छ भन्ने लाग्छ । 

पहिले धेरै गीत गाउनुहुन्थ्यो अचेल किन कम, चुजी हुनुभएको हो ? 
तिज विषेश गरी नेपाली महिला दिदीबहिनीको पर्व हो । यस अवसरमा गाउने गीतमा महिलाको कथा–व्यथा उनिएकोे हुनुपर्छ जस्तो लाग्छ । अनि मात्रै मौलिक संस्कृतिको महत्व बच्छ । नत्र लोकसंगीतको मौलिकता नै हराउँछ । त्यसैले अचेल गीतको शब्दलाई ध्यानमा राखेर गीत गाउँछु । प्रायः मैले तिजमा आफ्नै मात्रै गीत गाउँछु । अरूको भन्दा पनि आफ्नै तिज गीत गाउन मन लाग्छ । अरूको गीतको शब्द बुझ्न कठिन हुन्छ । यसपटक पनि तिजका २५÷३० वटा गीतको अफर आएका थिए । संख्यात्मकभन्दा पनि गुणात्मक गीत गाउन मन जान्छ । 

पहिले र अहिलेका तिज गीतमा के–कस्ता परिवर्तन देख्नुहुन्छ ? 
समयसँगै गीतसंगीतमा पनि परिवर्तन भएको छ । तर, अचेल महिलाको पिर, व्यथा वा वेदना बोकेका गीत कमै सुन्न पाइन्छ । मौलिक सिर्जना कम आउन थालेको छ । गीतको संख्या बढे पनि गुणात्मक गीत कमै सुन्न पाइन्छ । गीतसंगीतको क्षेत्रलाई नियमन गर्ने संघसंस्था भए राम्रा गीतको सिर्जना हुन्थ्यो कि ।