१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o६:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

जुम्ला–रारा जोड्ने छोटो दूरीको उर्थु–पटमारा सडकखण्ड अवरुद्ध

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o६:१७:oo

नेपालकै एक महत्वपूर्ण पर्यटकीय स्थल मुगुको रारा ताल जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ । जुम्ला हुँदै मुगु राराताल जोड्ने छोटो दूरीको उर्थु–पटमारा सडकखण्ड अवरुद्ध भएको हो । लगातारको वर्षाले पहिरो आएपछि सडक अवरुद्ध भएको हो ।  जुम्ला–उर्थु–पटमारा–न्याउरीघाट बुलबुले हुँदै मुगु जिल्ला जोड्ने सडक पहिरोले अवरुद्ध हुँदा स्थानीयसहित पर्यटकले सास्ती खेप्ने गरेका छन् ।

नाग्म–गमगडी सडकभन्दा जुम्ला–उर्थु–पटमारा सडकबाट मुगु रारा ताल पुग्न करिब तीन घन्टा छोटो पर्छ । आन्तरिक तथा बाह्य पर्यटक पनि उर्थु–पटमारा सडक हुँदै राराताल जाने गर्दछन् । पातारासी गाउँपालिका– ७ नम्बर वडामा पर्ने विभिन्न गाउँका नागरिक आउजाउ गर्ने मुख्य बाटो पनि त्यही हो । पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएपछि स्थानीयसँगै पर्यटकलाई पनि आउजाउमा समस्या भएको स्थानीय लालबहादुर बुढाले बताए ।

उनले भने, ‘आइतबार दिउँसो १ बजे पहिरो गएको हो । पहिरोले सडकछेउमै रहेको विद्युत् नहर भत्किँदा बिजुली पनि अवरुद्ध भएको छ । दैनिक उपभोग्य वस्तु ल्याउन पनि स्थानीयलाई  मुस्किल भएको छ । सडक सुचारु हुने टुंगो छैन् ।’ गएको आर्थिक वर्षमा मात्रै निर्माण भएको पक्की पर्खाल भत्किएको बुढाको भनाइ छ । उनका अनुसार चाँडै पहिरो रोकथाम नगरे बाँकी सबै भत्किने र अन्नबाली लगाएका खेतीयाेग्य जमिन पनि बग्ने तथा पूर्ण सडक बन्द रहने देखिएको छ । ठेकेदारले कामचलाउ विकास गर्ने भएकै कारण सडक विभिन्न ठाउँमा भत्किने गरेको छ । जुम्ला विमालस्थल हुँदै पातारासी क्षेत्रमा बस चलाउँदै आएका चालक कृष्ण विष्टले जुम्ला हुँदै उर्थु–पटमारा सडक हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्ये हुने गरेको बताए । 

पातारासी गाउँपालिका उपाध्यक्ष पुन्नकली महताराले विकासमा गुणस्तरीयता नभएकै कारण वर्ष दिन नपुग्दै निर्माण भएका संरचना भत्किँदै जाने गरेको बताइन् । जुम्ला हुँदै राराताल जाने छोटो मार्गको स्तरवृद्धि तथा सडक सुधारमा प्रदेशले थप लगानी गर्नुपर्ने उनको भनाइ छ । पहिरो पन्छाउन आवश्यक पहल गरिनेसमेत उनले बताइन् । जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले अवरुद्ध जुम्ला–रारा जोड्ने सडकको उर्थु–पटमारा खण्डको अवलोकन गर्दै पहिरो पन्छाउन पहल थाल्ने बताए । विकासमा दिगोपना नहुने समस्या ठेकेदारले निम्त्याएको भन्दै गुणस्तरीय विकासमा जोड दिनुपर्नेमा उल्लेख गरे ।

साँघुरो हिलाम्य विमानस्थल हुँदै उर्थु–लासी–छुमसम्म दैनिक दुई ठूला बस र चारवटा जिप सञ्चालन हुँदै आएका छन् । सडक वेलावेला अवरुद्ध हुने, भएकै कारण भनेकै समयमा गन्तव्य पुग्न कठिनाइ भएको र सरोकारवाला सबै मौन रहेको स्थानीय कालीबहादुर महताराले गुनासो गरे । 

ad
ad