नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाइसिएल नेपालका नेताकार्यकर्ताले आगामी निर्वाचनमा पार्टीलाई सबैभन्दा ठूलो दल बनाउने प्रतिबद्धता जनाएका छन्। काठमाडौंमा जारी राष्ट्रिय भेलामा सहभागी भएका नेताकार्यकर्ताले युवाहरुलाई परिचालन गरेर आगामी निर्वाचनमा माओवादी केन्द्रलाई पहिलो राजनीतिक शक्तिको रुपमा स्थापित गराउने प्रतिक्रिया दिएका हुन्।
यसका लागि नेतृत्व दिनसक्ने व्यक्तिलाई संगठनको नेतृत्वमा ल्याउन उनीहरुले पार्टी नेतृत्वसँग माग गरेका छन्। आगामी निर्वाचनमा पार्टीलाई पहिलो शक्तिको रुपमा स्थापित गराउने गरी युवाहरुलाई परिचालन गरेर अघि बढने योजनासहित आफूहरु परिचालित हुने वाइसिएल नेपाल भक्तपुरका संयोजक नरेश वाईबाले बताए। त्यसका लागि देशभरका युवाहरुलाई परिचालन गरी जनतामाझ जान सक्ने नेतृत्वको आवश्यकता रहेको उल्लेख गरे।
वाइसिएल नेपालको जारी राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रीय कार्य समिति र अध्यक्षसहित ३५ जना पदाधिकारी चयन गर्नेछ। मूल नेतृत्व सहमतिमै चयन गर्न पार्टी नेतृत्वले प्रयास गरिरहेको वाइसियएल नेपालले जनाएको छ।