महोत्तरीमा रातु नदीको लम्बाइ ७० किलोमिटर भन्दा बढी छ। वर्षा लागेसँगै नदीमा पानीको बहाव बढ्छ र तटबन्ध फुटाउँदै नदीले सडक, खेत र बस्तीमा समेत ठूलो क्षति पु र्याउँछ। यसकै एउटा उदाहरण गत शुक्रवार देखियो। बल्वा नगरपालिका ४ तिलगढमा रहेको रातु नदीको तटबन्ध फुटेर सयौँ बिघा धानबाली बगाउँदै बाढी बस्तीमा पस्यो । करिब हजार परिवारको बसोवास रहेको बस्तीमा करिव ८० प्रतिशत घरमा बाढीले क्षति गर्याे।
सुरुमा तीन स्थानमा तटबन्ध भत्काए पनि बिस्तारै बाढीले एक किलोमिटरभन्दा बढी तटबन्ध भत्कायो । बाढीका कारण बेघर बनेका दर्जनौँ स्थानीयले छिमेकी, आफन्त र विद्यालय परिसरमा शरण लिएका छन् । बाढीले बल्वा नगरपालिका ११ को भगवतीपुर र रौजामा समेत आफ्नो प्रभाव देखायो । घरभित्रै बाढी पस्दा अन्नबाली तथा अन्य सामग्रीसमेत बर्बाद भएका स्थानीय बताउँछन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टका अनुसार शुक्रबारको बाढीमा १४ भन्दाबढी परिवार विस्थापित भएका छन् । बाढीले हुलाकी राजमार्गको दुई स्थानमा पुल बगाउँदा बाटोसमेत अवरुद्ध रहेको उनले बताए ।
नदी अग्लाे र बस्ती होचो स्थानमा रहेकाले नदीमा पानी बढेपछि पानीको सम्पूर्ण भार तटबन्धमै पर्ने भएकाले नदीछेउका बस्तीहरू जोखिममा पर्ने गरेको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताए । बाढीकै समयमा पनि सुरक्षा निकायहरूले रेस्क्यु गरेको र आगामी दिनमा सम्भावित बाढीका लागि समेत तयारी अवस्थामा रहेको उनले उल्लेख गरे। तत्काललाई बाढीको त्रास घटे पनि मनसुन अझै सक्रिय रहेकाले सुरक्षामा त्रुटि गर्न नसकिने उनी बताउँछन् ।
महोत्तरीमा रातु मात्र नभई जंघा, विग्ही, अंकुशी, कान्तवा, मरहालगायतका नदीहरूले समेत बर्सेनि बाढीको प्रकोप ल्याइरहेको छ। पक्की तटबन्ध निर्माण र नदीमा माटो जमेर बढेको उचाइ व्यवस्थापन नगरिँदासम्म समस्या समाधान हुने देखिँदैन । तटबन्धको पूर्ण मर्मत गर्न झन्डै चार अर्बभन्दा बढी खर्च लाग्ने भए पनि सरकारले भने बर्सेनि दुई–चार करोड मात्र विनियोजन गर्दै आएको छ ।