मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ भदौ १३ आइतबार ०७:३६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

माथिल्लो मनाङमा खाद्य संकटको चिन्ता

Read Time : < 1 मिनेट
२०७८ भदौ १३ आइतबार ०७:३६:००

थोराङ्ला पास गराएर माथिल्लो मनाङमा खच्चडमार्फत खाद्यान्न ढुवानी

 बाढीपहिरोले सडक क्षतविक्षत पारेपछि मनाङमा दुई महिनाभन्दा बढी समयदेखि यातायात अवरुद्ध भएर खाद्यान्नलगायत ढुवानी नहुँदा जनजीवन प्रभावित भएको छ । बेँसीसहर–चामे सडक तत्काल खुल्ने अवस्था नहुँदा खाद्य संकटको सम्भावना रहेको मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले बताए ।

उनका अनुसार माथिल्लो मनाङमा चामलबाहेकको दैनिक उपभोग्य वस्तु किन्न पाइँदैन । माथिल्लो क्षेत्र मनाङ ङिस्याङ गाउँपालिकाका विभिन्न गाउँमा कामका लागि पुगेका मजदुरले उपभोग्य वस्तु किन्न पाएका छैनन् ।

दैनिक उपभोग्य वस्तु अभाव भएको र चामे हुँदै ढुवानी सम्भव नभएपछि माथिल्लो क्षेत्रका बासिन्दाले मुस्ताङ हुँदै थोराङ्ला भञ्ज्याङ पास गराएर आवश्यक वस्तु ढुवानी गरेको गुरुङले बताए । ४० घरपरिवार मजदुर र विपन्न ७ घरपरिवारलाई दैनिक उपभोग्य वस्तु वितरण गरिएको छ ।

समुद्री सतहदेखि ५ हजार ४ सय १६ मिटर उचाइको थोराङ्ला भञ्ज्याङ पार गराएर खच्चडमार्फत उपभोग्य वस्तु ढुवानी गरिएको गुरुङको भनाइ छ । सोनाम गिर्मी फेमेली फाउन्डेसनको सहयोगमा खाद्यान्न सहयोग गरिएको हो । 

हेलिकोप्टरको ढुवानी महँगो हुने भएकाले पनि मुस्ताङको बाटो हुँदै खच्चडमार्फत खाद्यान्न ढुवानी गरिएको हो । मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार माथिल्लो मनाङमा हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गरिए पनि पर्याप्त मात्रमा नहुँदा स्थानीयले मुस्ताङबाट खच्चडमार्फत खाद्यान्न ल्याएको बताए ।