१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १० बिहीबार
  • Saturday, 06 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ १० बिहीबार o९:१७:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

मोटरसाइकलमा लागुऔषध राख्न लगाएर पत्रकार फसाउन खोज्ने एसपीलाई कारबाही भएन

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ १० बिहीबार o९:१७:oo

निलम्बन गरिएका तल्लो तहका दुई प्रहरीलाई भने मुद्दा चलाउने तयारी

मोटरसाइकलमा लागुऔषध राखिदिएर पत्रकारलाई सुनियोजित रूपमा फसाउन खोज्ने रौतहटका दुई प्रहरीविरुद्ध प्रहरी प्रधान कार्यालयले लागुऔषध कारोबार मुद्दा दर्ता गर्ने तयारी गरेको छ । तर, फसाउन निर्देशन दिने जिल्ला प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहलाई भने उन्मुक्ति दिन खोजिएको छ । 

एसपी शाहविरुद्ध अहिलेसम्म कुनै कारबाही अघि बढाइएको छैन । छानबिन समितिको प्रतिवेदनपछि मात्रै उनलाई कारबाही गर्ने–नगर्ने टुंगो लाग्ने नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले बताए । 

पत्रकार मोहम्मद मोजिबुल्लाहको मोटरसाइकलमा लागुऔषध राख्ने असइ उदय यादव र जवान मनोज साहलाई भने निलम्बन गरिएको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटबाटै उनीहरूविरुद्ध मुद्दा चलाइनेछ । गत ३२ साउनमा पत्रकार मोजिबुल्लाहको मोटरसाइकलमा लागुऔषध राखेर पक्राउ गरिएको थियो । प्रहरीले नै लागुऔषध राखेको सिसिटिभी फुटेजबाट पुष्टि भएपछि मंगलबार मात्रै उनी रिहा भएका छन् । जिल्लास्थित पत्रकारहरूले एसपी शाहकै योजनामा मोजिबुल्लाहलाई फसाउन खोजिएको भन्दै विरोध जनाएका छन् । नेपाल पत्रकार महासंघले पनि एसपी शाहलाई निलम्बन गरेर अनुसन्धान गरिनुपर्ने माग गरेको छ । 

प्रहरी प्रवक्ता कुँवरले भने घटनाको अनुसन्धान गर्न छानबिन समिति बनाइएकाले त्यसको प्रतिवेदनपछि मात्रै कारबाही गर्ने–नगर्ने निर्णय हुने बताए । ‘घटनामा मुछिएका दुई प्रहरी कर्मचारी निलम्बनमा छन् । उनीहरूविरुद्ध अब के गर्ने भन्ने विषयमा कानुनी सल्लाह हुँदै छ । एसपीको सन्दर्भमा भने तत्कालका लागि कारबाही अघि बढाइएको छैन । छानबिन समिति गठन भएको छ । समितिले दिएको प्रतिवेदनका आधारमा कसुरदार देखिए कसुरको मात्राअनुसार कारबाही हुनेछ,’ उनले भने । प्रधान कार्यालयले मंगलबार एसएसपी कृष्णकुमार महतोको नेतृत्वमा चार सदस्यीय छानबिन समिति बनाएको थियो । 

विवादित पत्रकार सञ्जय साहनीसँग पत्रकार मोजिबुल्लाह पक्राउ गरिएको विषयमा भएको टेलिफोन संवाद सार्वजनिक भएपछि जिप्रका रौतहट प्रमुख एसपी शाह विवादमा तानिएका थिए । तत्कालका लागि एपसपी शाहलाई जिप्रका रौतहटको प्रमुखको भूमिकाबाट भने हटाइएको छ । 

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले तल्लो तहका प्रहरीलाई कारबाही गर्ने, तर निर्देशन दिने एसपीलाई उन्मुक्ति दिन खोज्ने प्रहरीको गतिविधि खेदजनक रहेको बताए । ‘पत्रकारलाई सुनियोजित ढंगले फासाउन खोजिएको छ । यही शैली हो भने त प्रहरीले जसलाई मन लाग्यो त्यसलाई फसाउने देखियो । यति गम्भीर घटना एसपीको निर्देशनविना हुनै सक्दैन । घटनामा संलग्न तल्लो तहका प्रहरी कर्मचारीलाई मात्रै निलम्बन गरी छानबिन गरिएको छ । तर, निर्देशन दिने एसपीलाई उन्मुक्ति दिन खोजिएको छ । यसमा हाम्रो आपत्ति छ । एसपीलाई पनि निलम्बन गरी निष्पक्ष अनुसन्धान हुनुपर्ने हाम्रो माग छ,’ उनले भने । 

विवादित पत्रकार सहनी निलम्बनमा 
पत्रकार महासंघले मोजिबुल्लाहलाई फसाउन प्रहरीलाई सघाउने नेपाल पत्रकार महासंघ जिल्ला समिति रौतहटका सहसचिव सञ्जय सहनीलाई निलम्बन गरेको छ । मकवानपुरस्थित दामनमा भएको केन्द्रीय समिति बैठकले सहनीलाई निलम्बन गर्ने निर्णय गरेको हो । उनीविरुद्ध पनि अनुसन्धान गर्नुपर्ने भएकाले निलम्बन गरिएको महासंघका अध्यक्ष पोखरेलले बताए । 

समाचार लेखेको रिसमा मोजिबुल्लाहलाई फसाइयो 
रौतहटमा मण्डवी नामको गैरसरकारी संस्था छ । त्यसको अध्यक्ष हुन्, अञ्जु झा । एसपी सिद्धिविक्रम शाहसँग निकट सम्बन्ध थियो । सोही संस्थामा कार्यरत थिए, अर्का पत्रकार सञ्जय सहनी । मोजिबुल्लाहले मण्डवीले गरेको बदमासीविरुद्ध समाचार लेख्दै आएका थिए । त्यसैको इबी साँध्न पत्रकार सञ्जय र अञ्जुले मोजिबुल्लाहलाई ठेगान लगाउन एसपी शाहसँग आग्रह गरेको स्थानीय पत्रकारहरूको भनाइ छ । मोजिबुल्लाहले घुमुवा प्रहरीको कर्तुतविरुद्ध पनि समाचार लेख्दै आएका थिए । उनलाई साइजमा ल्याउन प्रहरी पनि चाहन्थ्यो । यही चाहनाबमोजिम प्रहरीले षड्यन्त्र रच्यो । र, लागुऔषध प्रयोग गरी उनलाई पक्राउ गरियो । मोजिबुल्लाह पक्राउ गरिएपछि एसपी शाह र पत्रकार सञ्जयबीच भएको फोन संवादले पनि त्यसको पुष्टि गर्छ । ‘थाहा पाउनुभयो, काम त भएछ नि !’ फोनमा एसपी शाहले भनेका छन् ।

नौ दिन हिरासतमा राखिएका पत्रकार मोजिबुल्लाहले भने–सिसिटिभी फुटेज नभएको भए त मेरो जीवन बर्बाद गरिसकेका रहेछन् 

मैले रौतहट सदरमुकाम गौरबाट रौतहट एक्प्रेस नामको पत्रिका निकाल्छु । ३२ साउनको बिहान म घरमै थिएँ । खाना खाएर कार्यालय गएँ । भाइलाई फोन गरेँ । त्यही क्रममा रौतहटकै ग्रिन सिग्नल होटेलबाट राकेश सिंहको फोन आयो । ‘होटेलको मिडिया कभरेज गर्नुपर्‍यो’ भनेर बोलाउनुभयो । म मोटरसाइकलमा गएको थिएँ, होटेलबाहिर पार्किङ गरेर भित्र पसेँ । 

क्यामेरा लगेको थिएँ । होटेलको भिडियो र फोटो खिच्न थालेँ । एकछिनमा काम सकियो । उहाँले खाजा खाऊँ भन्नुभयो । मैले नाइँ भन्न सकिनँ र खाजा खाएँ । अबेर भएकाले म त्यहाँबाट बिदा भएँ । मोटरसाइक स्टार्ट गरेर १० मिटर अघि मात्रै के बढेको थिएँ, सिभिल ड्रेसका पाँच प्रहरीले मलाई घेरा हाले । म त छक्क परेँ । केही शंकास्पद वस्तु रहेको भन्दै मलाई मोटरसाइकलबाट झर्न भनेँ । मैले ‘वर्कसपमा गएर मात्रै झर्छु’ भनेँ । त्यसवेलासम्म उनीहरूले मेरो कन्चटमा पेस्तोल तेस्र्याइसकेका थिए । 

म उनीहरूसँगै मोटरसाइकलमा वर्कसप गएँ । मोटरसाइकलको सिट खोलियो । केही भेटिएन । पछि उनीहरूले नै लेगार्डमा झुन्ड्याइएको झोला झिके । झोलाभित्र लागुऔषध रहेछ । म छाँगाबाट खसेझैँ भएँ । त्यसपछि मलाई पक्राउ गरेर जिप्रका पुर्‍याए । केही बेरपछि डिएसपी नारायण चिमौरिया आए । उनले ‘तँ पत्रकार भएर ठूलो कुरा गर्थिस् होइन, अब तँलाई कसरी ठीक पार्छु मैले जानेको छु’ भने । त्यसपछि मेरो म्याद थप भयो ।

नौ दिनसम्म मलाई हिरासतमै राखियो । बाहिर मलाई पक्राउ गरेको विरोध भएछ । नेपाल पत्रकार महासंघ रौतहट शाखाले होटेलमा त्यस दिन खिचेको सिसिटिभी फुटेज लिएछन् । मलाई फसाउन लागुऔषध मोटरसाइकलमा राखिएको दृश्य त्यहाँ कैद भएको रहेछ । फुटेज बाहिरिएपछि मात्रै प्रहरीले मलाई रिहा गर्‍यो । त्यो फुटेज नभएको भए त मेरो जीवन बर्बाद पारिसकेका थिए । यसमा पत्रकार सञ्जय सहनीको षड्यन्त्र भएको मैले ठानेको छु । निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही होस् ।

ad
ad
ad
ad