पत्रकारको मोटरसाइकलमा लागुऔषध राखी फसाउन खोज्ने दुई प्रहरी निलम्बनमा परेका छन्। गैरव्यावसायिक कार्य गर्ने प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज साह कानुलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
मोटरसाइकलमा नाइट्राभेट राख्ने धीरज यादव र जितेशकुमार यादवलाई जिल्ला अदालत रौतहटले आपराधिक षड्यन्त्र लागुऔषध मुद्दामा सात दिनको म्याद दिएको छ।
गत साउन ३२ मा प्रहरीले स्थानीय अनलाइनका पत्रकार मोहम्मद मोजिबुल्लाहलाई लागुऔषध नाइट्राभेटसहित पक्राउ गरेको थियो । उनीसँगै राजपुर नगरपालिका– ७ का शेख गुलाब अतिउल्लाहलाई पनि सादा पोसाकमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो।