मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ६ आइतबार
  • Thursday, 19 December, 2024
विजयराज खनाल काठमाडौं
२o७८ भदौ ६ आइतबार o७:५७:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

एक वर्षमा ७ प्रतिशतले बढ्यो निक्षेप खाता पहुँच तीन करोड व्यक्तिगत खातामा ९७ लाख खाता निष्क्रिय

पुरुषहरूको नाममा खोलिएका १ करोड ४५ लाख खातामा ५० लाख खाता र महिलाको नामबाट खोलिएका १ करोड ६ लाख खातामा २९ लाख खाता निष्क्रिय

Read Time : > 2 मिनेट
विजयराज खनाल, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ ६ आइतबार o७:५७:oo

- गत वर्ष बैंक तथा वित्तीय संस्था (लघुवित्तसहित)को शाखा १० प्रतिशतले बढेर ९ हजार ७ सय १६ पुगेको छ । हालसम्म तीन स्थानीय तहबाहेक सबैमा वाणिज्य बैंकको शाखा पुगिसकेको छ ।

- असार ०७७ सम्म कुल १५ लाख २५ हजार मानिसहरूको ऋण खाता खोलिएको छ ।

नेपालको ६७ दशमलव ३ प्रतिशत जनसंख्याको पहुँचमा बैंक खाता पुगेको छ । पछिल्लो एक वर्षको अवधिमा मात्रै करिब २२ लाख नेपालीले बचत खाता खोलेका छन् । हरेक नेपालीको बैंक खाता, सेयर बजारमा लगानीकर्ताको बढ्दो आकर्षणका कारण नेपालीहरूले निक्षेप खाता खोल्न थालेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । ‘हरेक नेपालीको बैंक खाता अभियान, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न अनिवार्य बैंक खाता, बैंक तथा वित्तीय संस्थाहरूको तीव्र विस्तार र सेयर बजारमा लगानीकर्ताको बढ्दो सहभागिताले निक्षेप खाता खोल्नेको संख्यामा वृद्धि भएको हो,’ राष्ट्र बैंकको अध्ययनको निष्कर्ष छ । 

डा. प्रकाशकुमार श्रेष्ठ कार्यकारी निर्देशक नेपाल राष्ट्र बैंक

वित्तीय पहुँचकै आधारमा खाताको प्रयोग सुनिश्चितता गर्न सकिँदैन । यही कारण यसलाई वित्तीय पहुँच नभनेर निक्षेप खातामा जनसंख्याको पहुँच भनेका छौँ, वित्तीय पहुँचको विविध डाइमेसन (बहुआयामिक) हुन्छ ।

बैंक तथा वित्तीय संस्था (लघुवित्तबाहेक) मा खोलिएका ३ करोड २० लाख १४ हजार निक्षेप खातामध्ये २ करोड ९९ लाखसँग व्यक्तिगत खाता छ । यसमध्ये बाबु, बराजुको नाम भिडाएर तीनपुस्ते विवरणका आधारमा निकालिएको तथ्यांकले करिब २ करोड २ लाख जनसंख्याको कम्तीमा एउटा निक्षेप खाता रहेको देखिएको हो । 

३ वर्षदेखि निष्क्रिय बचत खाता र ६ महिनादेखि निष्क्रिय कल र चालू खाताका आधारमा भने कुल ३ करोड २० लाख खातामध्ये १ करोड ७ लाख खाता निष्क्रिय रहेको पाइएको छ । यो प्रवृत्ति व्यक्तिगत निक्षेप खातामा पनि व्यापक छ । विशेष गरी पुरुषहरूको नाममा खोलिएको खाता बढी निष्क्रिय देखिन्छ । 

कुल २ करोड ९९ लाख व्यक्तिगत खातामा करिब ९७ लाख खाता यसरी निष्क्रिय भएका छन् । पुरुषहरूको नाममा खोलिएका १ करोड ४५ लाख खातामा ५० लाख खाता र महिलाहरूको नामबाट खोलिएका १ करोड ६ लाख खातामा २९ लाख खाता निष्क्रिय रहेको पाइन्छ । वित्तीय पहुँचकै आधारमा खाताको प्रयोग भने सुनिश्चितता गर्न नसकिने राष्ट्र बैंकले पनि उल्लेख गरेको छ । 

‘हामीले यही कारण यसलाई वित्तीय पहुँच नभनेर निक्षेप खातामा जनसंख्याको पहुँच भनेका छौँ,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले भने, ‘वित्तीय पहुँचको विविध डाइमेसन (बहुआयामिक) हुन्छ ।’  असार ०७७ सम्ममा भने कुल १५ लाख २५ हजार मानिसहरूको ऋण खाता खोलिएको छ । वित्तीय पहुँचमा ऋणमा सर्वसाधारणको प्रयोगलगायतका विषय पनि समेटिन्छन् । 

किन भए एक करोड खाता निष्क्रिय ? 
कुल ३ करोड २० लाख निक्षेप खातामध्ये १ करोड ७ लाख खाता निष्क्रिय रहेका छन् । खाता निष्क्रिय रहेका विषयमा राष्ट्र बैंकले अलग्गै अध्ययन आवश्यक पर्ने उल्लेख गरेको छ ।

बैंकरहरू भने हरेक नेपालीको बैंक खाताअन्तर्गत एकै व्यक्तिका विभिन्न बैंकमा खाता खोलिएका कारण पनि निष्क्रिय हुने संख्या बढेको बताउँछन् । त्यसबाहेक रोजगारीको सिलसिलामा संस्था फेरिएपिच्छे अलग–अलग बैंक खाता खोल्नुपर्ने बाध्यताले पनि निक्षेप खाताहरू निष्क्रिय हुने गरेका छन् । 

बागमती प्रदेशका हरेकसँग दुईवटा खाता 
व्यक्तिगत रूपमा खोलिएका खातामा ५० प्रतिशत बागमतीमै खोलिएको छ । बागमती प्रदेशमा करिब ६४ लाख ३७ हजार जनसंख्या रहेको केन्द्रीय तथ्यांकको विवरणलाई नै राष्ट्र बैंकले आधारका रूपमा लिएको छ । यही प्रदेशमा १ करोड १६ लाख बचत खाता खोलिएको छ । यस आधारमा हेर्दा बागमतीका हरेक व्यक्तिसँग करिब २ वटासम्म खाता रहेको मान्न सकिन्छ । 

बागमती र गण्डकी प्रदेशबाहेक अन्य कुनै पनि प्रदेशका जनसंख्याको शतप्रतिशतबराबर बचत खाता रहेको देखिँदैन । कर्णाली प्रदेशका सबैभन्दा कम मानिसहरूको निक्षेप खातामा पहुँच पुगेको छ । त्यहाँका करिब ४६ प्रतिशत जनसंख्याको निक्षेप खाता रहेको छ । गण्डकी प्रदेशको जनसंख्याको करिब डेढ गुणा बचत खाता रहेको छ । 

लगभग हरेक स्थानीय तहमा बैंकहरूको शाखा पुगेसँगै शाखा विस्तारको गति भने घट्न थालेको छ । गत एक वर्षमा बैंक तथा वित्तीय संस्था (लघुवित्तसहित) को शाखा १० प्रतिशतले बढेर ९ हजार ७ सय १६ पुगेको छ । जबकि असार ०७५ को तुलनामा ०७६ मा शाखा संख्या ३२ प्रतिशतले बढेर ८ हजार ८ सय ५ पुगेको थियो । हाल तीन स्थानीय तहमा बाहेक सबैमा वाणिज्य बैंकको शाखा पुगिसकेको छ । गत वर्ष १४ वटा स्थानीय तहमा शाखा संख्या पुग्न बाँकी थियो ।