१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ६ आइतबार
  • Wednesday, 03 July, 2024
२o७८ भदौ ६ आइतबार o७:४९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

चक्लाबन्दी खेतीमा दैलेखका किसान आकर्षित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ ६ आइतबार o७:४९:oo

६० रोपनी जग्गामा सामूहिक आलुखेती

 दैलेखको भगवतीमाई गाउँपालिका–६, चिपिनका किसानहरू अहिले चक्लाबन्दी खेतीमा आकर्षित भएका छन् । चक्लाबन्दी खेतीअन्तर्गत किसानहरूले सामूहिक आलुखेती सुरु गरेका छन् । पौरखी कृषि सहकारी संस्थामा आबद्ध ३५ जना  किसानले सामूहिक आलुखेती सुरु गरेका हुन् । 

प्रदेश सरकारको आर्थिक वर्ष ०७७/७८ को स्वीकृत चक्लाबन्दी खेती प्रोत्साहन अनुदान कार्यक्रमअन्तर्गत कृषि विकास कार्यालय दैलेखको ६ लाख रुपैयाँ र पौरखी कृषि सहकारी संस्था लिमिटेडको ६ लाख रुपैयाँ गरी १२ लाख रुपैयाँ अनुदान रकम लगानीमा सामूहिक आलुखेती सुरु गरिएको सहकारीका उपाध्यक्ष गणेश रोकायले बताए । रोकायले भने, ‘६० रोपनी क्षेत्रफलमा प्रतिरोपनी एक क्विन्टलका दरले ६० क्विन्टल आलु रोपिएको छ ।’ 

कृषि प्राविधिकको सल्लाहबमोजिम प्राविधिक प्रक्रिया पूरा गरी खेती गरिएको सहकारीका अध्यक्ष नरबहादुर थापाको भनाइ छ । १ सय ८ जना किसान रहेको पौरखी कृषि सहकारी संस्था लिमिटेडअन्तर्गत यो अभियान थालिएको छ । उचित बजारीकरणको व्यवस्थापन हुन सके किसानहरूले सामूहिक खेतीबाट राम्रो आम्दानी लिन सक्ने गाउँपालिकाले जनाएको छ । 

कृषि विकास कार्यालय दैलेखले किसानहरूलाई प्राविधिक सल्लाह, औजार र उपकरणसमेत प्रदान गरेको छ । सबै अनुदानहरू ५० प्रतिशत सरकार र ५० प्रतिशत किसानको साझेदारीमा प्रदान गरिएको कृषि विकास कार्यालय दैलेखका प्रमुख तिलक पाण्डेले जानकारी दिएका छन् । 

किसानको उत्पादन खेर जान नदिने पालिकाको प्रतिबद्धता
भगवतीमाई गाउँपालिकाले किसानहरूले उत्पादन गरेका वस्तुको बजारीकरणको पूर्ण जिम्मा लिने र उत्पादित आलुको भण्डारणलगायत चिस्यान केन्द्र स्थापनाका कामहरू सुरु गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले बताए ।

उपाध्यक्ष चन्द्रा रेग्मीले किसानहरूको आवश्यकताका आधारमा पालिकाले बजेट विनियोजन गरेर काम सुरु गरेको र यसको प्रतिफल आउन सुरु गरेको बताइन् । कृषि र पशुपालन क्षेत्रमा पालिकालाई आत्मनिर्भर बनाउने अभियानअन्तर्गत, उन्नत भैँसी, उन्नत गाईपालनमा सहयोगी भूमिका निर्वाह गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत बखतबहादुर खड्काले जानकारी दिएका छन् । किसानहरू सामूहिक खेतीमा उत्साहित छन् ।

किसानको उत्पादनको बजारीकरण र अन्य विषयहरूमा पालिकाले चासो दिएको खण्डमा उत्पादनमा किसानहरूको हौसला बढ्ने किसान टेकबहादुर रोकायले बताए । सामूहिक खेतीमा लागेका किसानहरूले चक्लाबन्दीमार्फत राम्रो आम्दानी हुने आशा गरेका छन् । 

सहकारी संस्थाद्वारा सदस्यलाई औजार प्रदान 
कृषकलाई ५० प्रतिशत अनुदान सहयोगमा कृषि विकास कार्यालय दैलेखले विभिन्न औजार उपकरण वितरण गरेको छ । किसानहरूलाई घाँस काट्ने मेसिन, पावर टिलर बारी जोत्ने मेसिन, स्केच मेसिनलगायत सामग्री वितरण गरिएको छ । परम्परागत कृषि प्रणालीबाट जीविकोपार्जनमा खासै उपलब्धि नहुने भएकाले आधुनिक र प्रविधिमैत्री बनाउने योजनाअनुसार किसानहरूलाई उन्नत प्रविधि हस्तान्तरण गरिएको कृषि विकास कार्यालय दैलेखले जानकारी दिएको छ ।

ad
ad
ad
ad