लमजुङको बेँसीसहर नगरपालिका ११ चिती वरबोटफाँटमा रहेको चेपाङ बस्तीमा कलिलै उमेरमा विवाह गर्ने क्रम अझै हट्न सकेको छैन। प्रजनन स्वास्थ्यसँगै शिक्षा र चेतनाको कमीले यहाँका अधिकांश किशोर–किशोरीको कलिलो उमेरमा नै विवाह हुने गरेको छ।
कम उमेरमा विवाह गरेका उनीहरू कलिलो उमेरमा नै आमा बन्न बाध्य छन्। गाउँका बालिकाहरू १३–१४ वर्षदेखि नै आमा बन्ने गरेका छन्। यहाँका किशोर–किशोरी कसैले अभिभावकको सहमतिमा त कसैले भागेर विवाह गर्ने गरेका चेपाङ बस्तीकी अमृता चेपाङ बताउँछिन्। ‘अभिभावक र बालबालिकामा पढ्नुपर्छ भन्ने चेतना छैन। शिक्षाको पहुँच बढाउन धेरै कोसिस गर्दासमेत सकेका छैनौँ,’ उनले भनिन्, ‘बाउबाजेको पालादेखि नै पढ्न जाने चलन थिएन। घरबाट पढ्न पठायो, बालबालिका अन्तै जान्छन् ।’ बालबालिकाले स्कुल जान जाँगर नगर्दा अभिभावकले पनि धेरै जोड नगर्ने उनले बताइन्।
वरबोटमा चेपाङहरूको १३ घर छ। विशेष गरी १५ देखि १६ वर्षको उमेरमा गाउँका सबै किशोरीले बच्चा जन्माउने गरेका छन्। गाउँमा १६ वर्ष कटेका किशोरी भेट्नै मुस्किल पर्ने बताउँछिन् स्थानीय कल्पना चेपाङ। ‘पहिलेको जमाना त्यस्तै थियो। सानै उमेरमा विवाह हुन्थ्यो,’ उनले भनिन्, ‘आर्थिक अवस्था कमजोर भएकै कारण चेपाङका किशोरीहरू सानैमा विवाह गर्छन्।’
शिक्षासँगै स्वास्थ्य चेतनाको अभाव रहेको यो बस्तीमा स्थायी बन्ध्याकरण नगर्ने, अस्थायी साधनको प्रयोग नगर्नेजस्ता कारणले कलिलै उमेरमा आमा बनेकाहरूको सन्तानसमेत धेरै जन्माउने गरेका छन्। यहाँ प्रजनन स्वास्थ्यसम्बन्धी कुनै कार्यक्रमसमेत सञ्चालन गरिएको छैन। नगरपालिकाले चेपाङ बस्तीमा प्रजनन स्वास्थ्यबारे सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने सोच बनाएको नगरपालिकाकी उपप्रमुख लक्ष्मी अधिकारी बताउँछिन्। चेपाङ समुदायमा अधिकांश जोडीका आधा दर्जनसम्म सन्तान छन्। वरबोटका ४६ वर्षीय तिलकबहादुर चेपाङका अाठ सन्तान छन्। उनकी छोरीले १५ वर्षमा विवाह गरिन्। हाल तिलकका एक नाति र नातिनीसमेत छन्। ‘आफूले सानै उमेरमा विवाह गरियो। छोराछोरी पनि धेरै छन्। परिवार चलाउन पनि समस्या छ,’ तिलकले भने।
६७ वर्षीया दिलमाया चेपाङको पनि ६ सन्तान छन्। सानै उमेरमा सन्तान जन्माएकी उनी अहिले बच्चाको रेखदेख गर्न गाह्रो भएको गुनासो गर्छिन्। ‘छोराछोरीलाई पढाउनका लागि मास्टरले धेरै अनुरोध गर्नुहुन्थ्यो। तर, हाम्रो ध्यान पढाइतिर कहिल्यै गएन,’ उनले भनिन्, ‘तर, अहिले छोराछोरीलाई नपढाउँदा पछुतो लागेको छ।’