नयाँ पत्रिका राष्ट्रिय दैनिकी लमजुङ संवाददाता शान्ता कमली सन्तोष लामिछाने स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी छिन् । ०६७ सालदेखि पत्रकारितामा सक्रिय कमलीलाई नेपाल पत्रकार महासंघको ६७औँ स्थापना दिवसको अवसरमा पुरस्कृत गरिएको हो ।
बुधबार नेपाल पत्रकार महासंघ लमजुङ शाखाले आयोजना गरेको शुभकामना आदानप्रदान तथा पुरस्कार वितरण कार्यक्रममा लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्य, नेपाल पत्रकार महासंघका अध्यक्ष परमेश्वर अधिकारी, संस्थापक अध्यक्ष नवराज पहाडी र सन्तोष लामिछाने स्मृति पत्रकारिता पुरस्कार स्थापना गर्ने संस्थापक श्रीकृष्ण लामिछानेले संयुक्त रूपमा पुरस्कार प्रदान गरेका थिए ।
कमलीलाई नगद ३ हजार ५ रुपैयाँ र सम्मानपत्रले सम्मान गरिएको हो । जिल्लामा रही पत्रकारितामार्फत नागरिकलाई सुसूचित गराई महत्वपूर्ण योगदान पुर्याएकाले सन्तोष लामिछाने स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको पत्रकार महासंघ लमजुङका अध्यक्ष परमेश्वर अधिकारीले बताए ।
कमली नेपाल पत्रकार महासंघ लमजुङ शाखा उपाध्यक्ष र सञ्चारिका समूह नेपाल लमजुङकी निवर्तमान अध्यक्ष हुन् ।