मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७८ भदौ ५ शनिबार १०:११:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बिजुली बाल्न पाएपछि मेलम्ची–हेलम्बुका बाढीपीडित खुसी

Read Time : > 2 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७८ भदौ ५ शनिबार १०:११:००

सडक सम्बन्धबाट अलग्गिएका हेलम्बु, मेलम्ची, पाँचपोखरी थाम्पाल र इन्द्रावतीका सबै स्थानीयको घरघरमा बिजुलीबत्ती बल्न थालेको छ । नेपाल विद्युत प्राधिकरण मेलम्ची वितरण केन्द्रको अथक प्रयासले यो सम्भव भएको हो । मेलम्ची खोलाको विनाशकारी बाढीले हेलम्बुको शिरदेखि मेलम्चीको तल्लो तटीय क्षेत्रसम्म अकल्पनीय क्षति गर्‍यो ।

घरखेत बगाएर विस्थापित सयौँ बाढीपीडित कोही भाडाको कोठामा कोही त्रिपालमुनि बसेका छन् । असार १ को बाढीपछि लामो समय अँध्यारोमा बस्न बाध्य बाढीपीडित त्रिपालमा बिजुलीको उज्यालो आएपछि खुसी भएका छन् । विद्युत सुचारु भएसँगै मेलम्ची क्षेत्रका हजारौँ विद्यार्थी टेलिभिजन र मोबाइलबाट अनलाइन कक्षामा जोडिन पाएका छन् ।

मेलम्ची खोलामा लगातार बाढी आइरहेको छ । भेमाथाङदेखि बगाएर ल्याएको लेदोले खोला थुनिएर धार परिवर्तन गरेकाले तटीय क्षेत्रको दुवै किनारमा रहेको मानवबस्ती र खेतीयोग्य जमिन बगाउने क्रम रोकिएको छैन । बाढीको वितन्डा व्यहोर्दै आएका मेलम्ची र हेलम्बुका स्थानीयले सडक, विद्युत, सञ्चार र खानेपानीको समस्या भोगेका थिए । सडकबाहेक तत्काललाई अरू समस्या अस्थायी रूपमा हल भएको छ । ‘घरखेत गुमाउनुको पीडा त छँदै छ बिजुली नहुँदा धेरै रात अँध्यारोमै बित्यो,’ बत्ती बलेपछि राहत महसुस गर्दै मेलम्चीका श्याम खड्काले भने, ‘बिजुलीका सबै संरचना बगाउँदा पनि चाँडै बत्ती बाल्न पाएकोमा खुसी लागेको छ ।’

यसरी बल्यो बिजुलीबत्ती
मेलम्ची खोलामा असार १ गते आएको बाढीले इन्द्रावती हाइड्रोपावरबाट पाँचखाल जोडेको ६६ केभी ट्रान्समिसन लाइनको तीनवटा टावर, ११ केभी र एलटी लाइनको चार सय १४ वटा पोल, पाँचवटा ट्रान्सफर्मर, ६५ किलोमिटर नांगो तार र इन्सुलेटर तार नौ किमि बगायो । इन्द्रावती नदीमा सोही दिन आएको बाढीले ७.५ मेगावाट विद्युत उत्पादन गरिरहेको इन्द्रावती हाइड्रोपावरमा क्षति पुर्‍यायो । पुनर्निर्माण नहुँदा यहाँबाट विद्युत उत्पादन सुचारु हुन सकेको छैन । इन्द्रावती हाइड्रोपावरबाट उत्पादित विद्युत मेलम्ची नगरपालिका, हेलम्बु, पाँचपोखरी थाम्पाल र इन्द्रावती गाउँपालिकाभित्र रहेका २२ हजार पाँच सय उपभोक्ताले उपभोग गर्छन् । बाँकी रहेको विद्युत केन्द्रीय प्रसारण लाइनमा जोडिन्छ ।

मेलम्ची वितरण केन्द्रका प्रमुख माधव न्यौपाने विद्युतको विकराल क्षतिबाट आत्तिएनन् । बरु तुरुन्तै बिजुली बाल्ने अभियान बनाएर उपल्लो निकायसँग बारम्बार छलफलमा जुटे । नेपाल विद्युत प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपाने र बागमती प्रादेशिक कार्यालयका डाइरेक्टर श्रीराम पाण्डेले बाढीग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गरे । 

मेलम्ची वितरण केन्द्रमा रहेका ३५ कर्मचारी बिहान सबेरैदेखि रातको १० बजेसम्म काममा खटिए । नेपाली सेना, सशस्त्र र जनपथ प्रहरीले अभियानलाई साथ दिए । भत्किएका पोल गाड्न थालियो । मेलम्चीमा केही दिनभित्रै बिजुली बल्न सुरु भएको थियो । तर, १६ साउनमा आएको बाढीले पुनर्निर्माण गरिएका विद्युतका केही संरचना बगायो । न्यौपानेका अनुसार बाढीबाट तीन करोडको क्षति भएको छ । 

सबै संरचना पुनर्निर्माण गर्न चार करोड ४५ लाख लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । प्राधिकरणका सबै प्राविधिक कर्मचारी निरन्तर काममा जुटिरहे । बाढीले नदीको क्रसिङ लाइन बगाएकाले अहिले ११ केभीको एउटै लाइनबाट बिजुलीबत्ती बालिएको छ । ११ केभीले बढीमा ३० किलोमिटर धान्छ  । तर, अहिले ७० किलोमिटरसम्म बत्ती बालिएकाले भोल्टेजको समस्याबाट विद्युतीय जोखिम बढेको न्यौपानेले बताए । विद्युतीय संरचना सबै ध्वस्त भएकाले हाललाई नयाँ रुट बनाएर ११ केभी लाइनबाट बाढीग्रस्त क्षेत्रमा बिजुलीबत्ती बालिएको छ ।

भोल्टेज कम हुने भएकाले यस क्षेत्रका उद्योगधन्दा बन्द छन् । काठमाडौंको साँखुबाट मेलम्ची नगरको भोटेचौर–सिन्धुकोट क्षेत्र, पाँचखालबाट मेलम्ची नगरपालिकाको बाँकी वडा र पाँचपोखरी थाम्पाल गाउँपालिका, नुवाकोटबाट गोल्फुभञ्ज्याङ कुटुङसाङ हुँदै हेलम्बु गाउँपालिका र सदरमुकाम चौताराबाट इन्द्रावती गाउँपालिकालाई विद्युत व्यवस्थापन गरिएको हो । नयाँ रुटबाट लाइन विस्तार गरेर बिजुली बालिएको छ । पुरानो रुटको पुनर्निर्माण तत्काल सम्भव नभएकाले नयाँ रुट तयार गरेर बत्ती बालिएको न्यौपानेले प्रस्ट्याए । ट्रान्समिसन लाइन पुनर्निर्माण गरी इन्द्रावती हाइड्रोपावर र सबस्टेसन सञ्चालनमा नआएसम्म विद्युत अनियन्त्रित भइरहने र क्वालिटी कम हुने उनले बताए ।