भरतपुर महानगरपालिकाभित्र घर निर्माण गर्दा अनलाइनमार्फत नै भवन निर्माण अनुमति पाइने भएको छ । भूकम्प प्राविधि राष्ट्रिय समाज नेपालको परामर्शमा महानगरले घरनक्सा सफ्टवेयर (अनलाइन भवन निर्माण अनुमति प्रक्रिया पोर्टल) निर्माण गरेसँगै अनलाइनबाट घरको नक्सापास गर्ने व्यवस्था कार्यान्वयनमा आएको हो ।
शुक्रबार एक कार्यक्रमबीच महानगर प्रमुख रेनु दाहालले महानगरमा पहिलोपटक डिजिटल प्रणालीबाट नक्सा पास गरेकी छिन् । भरतपुर महानगरपालिका– ९ की सुष्मा केसी नक्सा पासको अनुमति दिएर सेवा सुरु भएको घोषणा गरिन् । योसँगै नक्सा पासका लागि फाइल बोकेर नगरपालिका धाउनुपर्ने बाध्यता हटेको दाहालको दाबी छ ।
अनलाइन भवन निर्माण अनुमति प्रक्रियाले महानगरको छिटो/छरितो र गुणस्तरीय सेवा प्रवाहमा टेवा पुर्याउने उनको विश्वास छ । दाहालले महानगरलाई प्रविधिमैत्री, कागजमुक्तसँगै स्मार्ट नगर बनाउन यो अभियान सहयोगी बन्ने बताइन् । ‘कन्सल्टेन्सीले अनलाइनमा विवरण इन्ट्री गरेपछि नगरपालिकाको इन्जिनियरले ठीक भए–नभएको जाँच गरेपछि घरको नक्सा अनलाइनबाट पास हुनेछ,’ भरतपुर महानगरपालिकाका नक्सा शाखा प्रमुख सूर्य प्रकाश लामाले बताए ।