१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ४ शुक्रबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ भदौ ४ शुक्रबार o८:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

ओली-नेपाललाई नौ नेताको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ भदौ ४ शुक्रबार o८:५२:oo

पार्टी विभाजनको विपक्षमा उभिएका माधवकुमार नेपालनिकट एमाले स्थायी कमिटीका नौ नेताले पार्टीलाई विभाजनबाट बचाउन १० बुँदे सहमति कार्यान्वयनका लागि अध्यक्ष केपी ओलीको ध्यानाकर्षण गराएका छन् । उपाध्यक्ष भीम रावलसहित नौ नेताले संयुक्त वक्तव्य प्रकाशित गर्दै त्यस्तो ध्यानाकर्षण गराएका हुन् । उनीहरूले नेपालसहित १४ सांसदमाथिको कारबाही फिर्ता लिन ओलीको र नयाँ पार्टी दर्ता गर्ने प्रक्रियाबाट ब्याक हुन नेपालको ध्यानाकर्षण गराएका छन् ।

‘अध्यादेशपछि विभाजित पार्टीको एकताका लागि हामी सम्भव सबै उपायको खोजी र अवलम्बनमा क्रियाशील छौँ । पार्टीलाई विभाजन र तहसनहस हुनबाट बचाउन पार्टी अध्यक्षको तर्फबाट १० बुँदे सहमतिको तत्काल कार्यान्वयन गर्न हामी हार्दिक आग्रह गर्दछौँ,’ संयुक्त अपिलमा भनिएको छ, ‘पार्टी अध्यक्षको हैसियतले पार्टीको हितमा अधिकतम् लचिलो हुँदै वरिष्ठ नेता कमरेड माधवकुमार नेपाललगायत १४ जनालाई गर्ने भनिएको कारबाहीलगायत सबै प्रकारका कारबाही रद्द गर्न हामी हार्दिक आग्रह गर्दछौँ ।’

त्यस्तै, उनीहरूले पार्टी विभाजनले कसैको पनि हित नगर्ने भन्दै पार्टी दर्ता प्रक्रियाबाट अलग हुन पनि आग्रह गरेका छन् । ‘अलग पार्टी दर्ताको प्रक्रियामा संलग्न नेता र कार्यकर्ताले त्यस्तो प्रक्रिया रोकी पार्टी एकताका लागि तत्पर हुन हामी हार्दिक आग्रह गर्दछौँ । पार्टीमा उत्पन्न संकटको वेलामा नेकपा (एमाले) का सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरूलाई सहमतिको कार्यान्वयन, पार्टीको एकता र विधिसम्मत सञ्चालनको पक्षमा उभिन, धैर्य, सुझबुझ र सक्रियताका साथ सकारात्मक भूमिका निर्वाह गर्न हामी हार्दिक आह्वान गर्दछौँ,’ संयुक्त अपिलमा छ ।

अपिलमा रावलसहित सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, अमृतकुमार बोहरा, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्ट र रघुजी पन्तले हस्ताक्षर गरेका छन् ।