१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १ मंगलबार
  • Saturday, 21 September, 2024
लुइजी जिंगेल्स
२o७८ भदौ १ मंगलबार o८:५७:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कोभिड–१९ को राजनीतिक पाठ

Read Time : > 2 मिनेट
लुइजी जिंगेल्स
नयाँ पत्रिका
२o७८ भदौ १ मंगलबार o८:५७:oo

विश्वव्यापी अर्थतन्त्रलाई निरन्तरता दिने हो भने विश्वव्यापी शासन प्रणाली विकासमा ध्यान दिनुपर्छ भन्ने पाठ कोभिड–१९ ले सिकाएको छविभिन्न समयमा जनावरलाई मात्र बिरामी बनाउने भाइरसले वेलावेलामा मानिसलाई पनि संक्रमित बनाउँदै आएका छन् । विगत सय वर्षमा यसरी सरेका अनेकौँ अनेक भाइरसमध्ये सार्स–कोभ– २ (कोराना भाइरस) सबैभन्दा प्राणघातक सिद्ध भएको छ ।

हाल विश्वव्यापी रूपमा महामारी फैलाइरहेको सार्स–कोभ– २ भाइरसको संक्रमण र मृत्यु दर अन्य भाइरसको भन्दा तुलनात्मक रूपमा उच्च छ । साथमा यसले हाम्रो सामूहिक निर्णय क्षमतामा रहेको कमजोरीमाथि समेत प्रहार गरिरहेको जस्तो पनि देखिएको छ ।उच्च संक्रमण र मृत्युदर भए पनि कोभिड– १९ बाट इबोलाबाट भन्दा विश्वव्यापी रूपमा न्यून दरमा मानिसको मृत्यु भइरहेको छ । कोभिड— १९ सामान्य रुघाखोकी लगाउने भाइरसजति नै संक्रामक देखिएको छ ।

कोभिड– १९ भन्दा प्राणघातक मानिएको सन् २०१२ मा पहिलोपटक देखिएको ‘मिडल–इस्ट रेस्पिरेटोरी सिन्ड्रोम (मर्स)’ केही महिनामै पूर्णतः नियन्त्रणमा आएको थियो । तर, कोभिड–१९ चाहिँ किन सजिलै नियन्त्रणमा आएन ? माथि भनिएझैँ यो भाइरस हाम्रा संस्थानहरूका कमजोरीलाई निसाना बनाउन सफल भएको छ । कोरोना महामारीले हामीलाई भविष्यमा मानव अस्तित्वमा आउन सक्ने जोखिमसँग जुध्न के केमा सुधार गर्नुपर्छ भनेर महत्वपूर्ण पाठ पढाएको छ । यसबाट सिक्ने या नसिक्ने निर्णय हामीले नै गर्ने हो ।

सुरु गरौँ, कोरोना भाइरसले प्रजातान्त्रिक संस्थानमाथि पारेको प्रभावबाट । कोराना भाइरसले उत्पन्न गरेको महामारीले प्रजातान्त्रिक संस्थानको प्रतिक्रियात्मक प्रकृति उजागर गरिदियो । विश्वमा मानिसको चाल तथा अन्तरक्रियालाई पछ्याउन सक्ने प्रविधि उपलब्ध भइसकेको छ । तर, उदार प्रजातान्त्रिक मुलुकहरू सकभर यी प्रविधि प्रयोग गर्न चाहँदैनन् । गुगल र फेसबुक आफ्ना ग्राहकको रुचिअनुसार विज्ञापन दिन सक्ने प्रविधि प्रयोग गर्छन् । तर, प्रजातन्त्रिक मुलुक भने ज्यान बचाउने कुरामा समेत उपलब्ध प्रविधि प्रयोग गर्न तयार भएनन् । 

अर्कातर्फ, कोभिड– १९ ले फरक उमेर समूहका जनसंख्यालाई फरक फरक रूपमा प्रभाव पारेका कारण त्यसविरुद्धको राजनीतिक प्रतिक्रिया पनि कमजोर बन्यो । सबै उमेर समूहलाई महामारीले समान रूपमा असर गरेको भए सायद सामूहिक प्रतिक्रिया बलियो हुन्थ्यो होला । जस्तो, डेल्टा भेरियन्ट देखिनुअघि २० वर्षमाथिको उमेर समूहका युवा कोभिड–१९ बाटभन्दा चट्याङबाट मर्ने सम्भावना बढी थियो । ८० वर्षमाथिको उमेर समूहमा भने कोभिड– १९ को मृत्युदर झन्डै बिफरकै हाराहारीमा देखियो । 

विश्वव्यापी अर्थतन्त्रलाई निरन्तरता दिने हो भने विश्वव्यापी शासन प्रणाली विकासमा ध्यान दिनुपर्छ भन्ने पाठ कोभिड–१९ ले सिकाएको छ
 

महामारीविरुद्ध प्रभावकारी कदमका लागि सामूहिकताको भावनाले महत्वपूर्ण भूमिका खेल्छ । तर, आज धेरै युवा अर्थतन्त्रमा आफूलाई किनारामा पारिएको महसुस गर्छन् र यसका लागि बुढा पुस्तालाई जिम्मेवार ठहर्‍याउँछन् । त्यस्तो भावना भएपछि युवाहरू तिनको जीवनको सबैभन्दा अमूल्य समय वृद्धहरूको रक्षाका लागि खर्च गर्न हच्किनु स्वाभाविक हो । महामारीको पहिलो चरणमा सामूहिक भावना बढी भएका एसियाली समाजले महामारीविरुद्ध कैयौँ विकसित पश्चिमेली मुलुकले भन्दा प्रभावकारी काम गरेका थिए । तर, अहिले तिनै एसियाली मुलुक पनि खोपमा पहुँच नहुँदा आफूहरूलाई असहाय महसुस गरिरहेका छन् । 

खोपको विकासमा राजनीतिक संस्थानभन्दा वैज्ञानिक क्षमता उपयोगी साबित हुन्छन् । त्यसैले वैज्ञानिक रूपमा अग्रस्थानमा रहेका मुलुक अमेरिका, बेलायत, जर्मनी र चीन नै खोप अनुसन्धान तथा तिनको विकासमा अगाडि देखिए । अर्को समस्या पश्चिमको धुव्रीकृत मिडियाले निम्त्यायो । सुरुको समय महामारीविरुद्ध तयारीका लागि सबैभन्दा उपयुक्त समय हुन्छ, तर अमेरिकी मिडियाले त्यस समय अन्योलपूर्ण सन्देश दिइरह्यो ।

पछिसम्म पनि कोरोना सामान्य रुघाखोकी मात्र हो भन्ने सन्देश प्रसारित भइरहेको थियो । वुहानमा लकडाउन गरिएको एक महिनापछि पनि ‘जर्नल अफ अमेरिकन मेडिकल एसोसिएसन’ले कोभिड– १९ लाई सामान्य रुघाखोकीसँग तुलना गरिरहेको थियो । एक अन्तर्वार्तामा बेलायती प्रधानमन्त्री बोरिस जोनसनका पूर्वसल्लाहकार डोमिनिक कमिङले यस्तो गलत सूचनाले कोभिड— १९ रोकथाम र नियन्त्रणका लागि चालिनुपर्ने सुरुका कदमलाई प्रभावित बनाएको प्रतिक्रिया दिएका छन् । 

आज विश्वको यथार्थ कस्तो छ भने व्यापार तथा सञ्चार विश्वव्यापी प्रकृतिको छ तर शासनको प्रकृति त्यस्तो छैन । यदि हामीले विश्वव्यापी अर्थतन्त्रलाई निरन्तरता दिने हो भने विश्वव्यापी शासन प्रणाली विकासमा ध्यान दिनुपर्छ । कोभिड–१९ ले दिएको सबैभन्दा ठूलो पाठ हो यो । भूमण्डलीकृत अर्थतन्त्रले स्थानीय समस्यालाई विश्वव्यापी बनाइदिएको छ । यदि हामी अहिलेको महामारीबाट बाहिरियौँ भने पनि जलवायु संकट वा अन्य कुनै भावी विपदबाट बाहिरिन्छौँ भन्न सकिँदैन । यदि हामीले यो पाठ सिक्न सकेनौँ भने हाम्रो प्रजाति लोप हुन नै योग्य छ ।
प्रोजेक्ट सिन्डिकेटबाट