१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७८ श्रावण ३० शनिबार ०७:००:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बाढीले बगाएको पुल नबन्दा तुइनको भर

Read Time : < 1 मिनेट
२०७८ श्रावण ३० शनिबार ०७:००:००

दुई महिनाअघि मर्स्याङ्दीमा आएको बाढीले बगाएको झोलुंगे पुल पुनर्निर्माण नहुँदा मनाङवासीले तुइनको भर पर्नुपरेको छ । सहज विकल्प नभएकाले उनीहरू जोखिमपूर्ण तरिकाले नदी तर्न बाध्य भएका छन् ।  गत १ असारमा आएको बाढीले नासाें गाउँपालिका–८, ताँचै जाने झोलुंगे पुल बगाएको थियो । दुई महिना बित्न लाग्दा पनि झोलुंगे पुल बनेको छैन । नासों–८ का वडाध्यक्ष हुपजङ गुरुङले खिया लागेको तुइन प्रयोग गरी मर्स्याङ्दी नदी वारपार गर्नुपरिरहेको बताए ।

‘बाढीले झोलुंगे पुल बगाएपछि एक गाउँबाट अर्को गाउँ जानसमेत पाइएको छैन,’ उनले भने, ‘तुइनबाट जाँदा खोलामा खसिने जोखिम छ ।’  बाढीले पुल बगाएपछि निरीक्षणमा गएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले बगाएको सडक र पुलको मर्मत तत्कालै गर्ने प्रतिबद्धता जनाएका थिए । प्रदेश सरकार र नासों गाउँपालिकाले रकम पनि छुट्याएका छन् । तर, पुनर्निर्माणको काम अघि बढ्न सकेको छैन । ‘बजेटको व्यवस्था भए पनि लगातारको वर्षाले काम अघि बढ्न सकेको छैन,’ वडाध्यक्ष गुरुङले भने ।

माथिल्लो मर्स्याङ्दी–२ जलविद्युत् आयोजनाले नासों गाउँपालिका–८ र ९ मा आफ्ना निर्माण सामग्री ओसारपसार गर्न तुइन बनाएको थियो । तर, बाढीले भत्काएका सडक बन्न नसक्दा आयोजनाको निर्माण कार्यसमेत प्रभावित बनेको छ ।  नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले पुल निर्माण गर्न विभिन्न निकायसँग समन्वय भइरहेको बताए । तीव्र गतिमा काम हुन नसक्दा पछिल्लो डेढ महिनादेखि मनाङमा विद्युत् आपूर्ति सहज हुन सकेको छैन । बिजुली नहुँदा मनाङ अन्धकारमा छ ।